रहरले घरबारविहीन साइमन
साइमन ली सायद हङकङकै खुशी व्यक्ति होलान् । बिना पैसा र कामको जीवन बिताउन ५२ वर्षिय साइमनले खुशी-खुशी मध्यम वर्गीय जीवनको आराम त्यागेका हुन् ।
उनी सात वर्षदेखि भिक्टोरिया पार्क नजिकै स्न्याक्स पसल छेउको सडकमा सुत्दै आएका छन् । तर यस्तो जीवनशैलीले उनलाई समाजबाट सम्पर्कविहीन भने बनाएको छैन ।
उनी प्रत्येक दिन कजवे बेस्थित सेन्ट्रल लाइब्रेरी जान्छन् । त्यहाँको नि:शुल्क सेवा प्रयोग गरेर उनी आफ्नै दैनिकीबारे ब्लग लेख्ने गर्छन् । अधिकांश ब्लगरजस्तो चाखलाग्दो वा ग्ल्यामरस जीवन नभए पनि उनले हजारौं पाठक पाएका छन् ।
विश्वविद्यालयका ग्राजुएट साइमन अविवाहित छन् । परिवारसँग नाता तोडेका छन् । चौबिसै घण्टा खुल्ने स्थानीय म्याक्डोनाल्डबाट बचेखुचेका खाना खाएर पेट भर्छन् । सिख मन्दिरले बाँड्ने खानेकुरा पनि उनको नियमित आहार बन्दै आएको छ ।
“म खासमा समाजको श्रोत बचाउँदैछु जस्तो लाग्छ । मलाई खासै केही चाँहिदैन, म पैसा प्रयोग गर्दिनँ, त्यसैले मैले पैसा कमाउनु पर्दैन । मलाई नाम वा भौतिक सामग्री केही चाहिदैन ।”
“घरबार नभएका मानिस फोहोरी, दरिद्र र अभद्र हुन्छन् भन्ने मान्यता छ । तर उनीहरूको आफ्नै जीवनशैली पनि छ । हामी राम्रो जीवन बिताउन सक्छौं ।”
सरकारी तथ्याङ्क अनुसार सन् २०१७ र २०१८ मा १ हजार १ सय २७ हङकङेली सडकमा सुत्ने गरेका छन् । तर सामाजिक कार्यकर्ताहरू उनीहरूको संख्या कम्तिमा पनि २ हजार भएको अनुमान गर्दछन् ।
करिब ३५ प्रतिशत घरबारविहीनहरू बेरोजगार भएकोले घरभाडा बुझाउन नसक्ने बताउँछन् । आधाभन्दा धेरै पार्क, खेलमैदान वा कार पार्कमा सुत्ने गर्छन् ।
“यसरी घरबारविहीन बसेको यतिका वर्षमा, मैले कहिले पनि स्वेच्छाले घरबारविहीन भएको व्यक्ति भेटैको छैन । म अरूभन्दा फरक छु,” प्रष्ट र मृदुभाषी साइमनले भन्छन् ।
रसायनशास्त्रमा डिग्री गरेका साइमनको एउटा कार्यालयमा स्थिर जागिर थियो । कामको तनावका कारण जागिर छोडेर उनी सन् १९९७ मा मकाउ गए । त्यहाँ उनले सात वर्षसम्म बालबालिकालाई पढाए । सन् २००४ मा पढाउने व्यवसाय बन्द गरेर चुहाई नजिकै बसाइँ सरे । त्यहाँ उनी दुई वर्ष बसे । बचत गरेको आम्दानीले खर्च धान्थे । त्यसपछि फेरी मकाउ फर्किए ।
“शुरूमा पढाउने व्यवसाय फेरी शुरू गरौं कि भन्ने लाग्यो, तर त्यतिबेला क्यासिनोहरू भर्खर शुरू हुँदैथिए र सबैले नि:शुल्क खाना दिन्थे,” उनले भने ।
ठ्याक्कै त्यही बेलादेखि उनी सडकमा सुत्ने र क्यासिनोको नि:शुल्क खाना खान थाले । तर यो सबै सन् २०१० देखि बन्द भयो । त्यही वर्ष मकाउका अधिकारीले साइमनलाई स्वदेश फिर्ता पठाए ।
“फर्किएपछि हङकङ एकदमै बिरानो लाग्यो,” उनी भन्छन् ।
हङकङ आएपछि उनी कम्प्रिहेन्सिभ सोसल सेक्युरिटी एसिस्टेन्स लगायतका सामाजिक सहयोगमा बाँच्न थाले । पाँच महिनासम्म एउटा सार्वजनिक शेल्टरमा पनि बसे । शेल्टरमा शरण लिने अन्य व्यक्ति प्राय: झगडा गर्ने भएकाले उनलाई त्यहाँको वातावरण मनपरेन । मकाउ छदाँको जीवनशैली पछ्याउँदै उनी भिक्टोरिया पार्कमा सुत्न थाले ।
“मेरा लागि यो मुक्ति हो । म घरभाडा बुझाउँदिन, मैले घर किन्नु पर्दैन, म जहीं पनि सुत्न सक्छु । सडकमै सुत्ने गर्नाले मेरा धेरै समस्याहरू हल भए,” उनले बताए ।
उनले कुनै सरकारी सहुलियत वा भत्ता लिएका छैनन् तर पनि जीवन राम्रै बितेको बताउँछन् । एउटा चिसो बिहानको भेटमा उनले हल्का रंगको बाक्लो ज्याकेट लगाएका थिए । अघिल्लो रातको कठ्यांग्रिने जाडो उनले काटिसकेका थिए । उनले लगाउने अधिकांश लुगा कि सामाजिक कार्यकर्ताले दिएका हुन् नभए सडकबाटै उठाईएका हुन् ।
“हङकङमा धेरै धनी र फजुल खर्च गर्ने मानिसहरू छन् । कसैले फ्याँकेको सामान मेरा लागि उपयोगी हुन्छ,” उनले भने ।
साइमन हङकङ आइल्यान्डमा बस्छन् किनभने यो शहरका धनाढ्यहरूको बस्ती हो । त्यही भएर पनि यहाँ धेरै कुरा फ्याँकिने गरिएको उनी बताउँछन् ।
सबै सम्बन्धहरू पीडा र चिन्ताको श्रोत भएको उनको बुझाई छ । बाल्यकालदेखि नै आमाबाबु र दुई भाइसँग यस्तै समबन्ध रहेको उनी बताउँछन् । उनीहरू साइमनभन्दा भिन्न सोंच राख्छन् ।
“म यो पीडाबाट टाढा रहनसक्छु भने, किन खोज्दै जानु ? प्रेमीप्रेमिका वा परिवार भएका मानिसहरूसँग मलाई कुनै ईर्ष्या छैन, म सधैं नै स्वतन्त्र बसेको छु,” लीले भने,“मैले वर्षौं अगाडि परिवारसँग बोलचाल बन्द गरें । यसमा मलाई कुनै पछुतो छैन । अरूले पो मेरो ईर्ष्या गर्नुपर्छ ।”
मकाउ जानुअघि साइमनले तीन वर्षसम्म एक युवतीसँग प्रेम गरेका थिए । त्यसपछि उनले डेटिङ गरेकै छैनन् ।
अब जीवनको लक्ष्य नै ब्लग लेख्नु र मानिसहरूलाई खुशी रहन प्रोत्साहन गर्नु हो भन्ने साइमनको विश्वास छ । उनी अरूलाई नाम र दामको पछि नलाग्न र सम्बन्धहरूबाट धेरै आशा नगर्न सल्लाह दिन्छन् ।
“तपाईं खुशी हुन चाहनुहुन्छ भने, मानिसजस्तो बन्ने र गर्व र सम्मानको भार बोक्नुको साटो, पशुजस्तो हुनुहोस् ।”
उनको दर्शनले धेरै हङकङेलीलाई प्रेरणा दिएको छ । फेसबुकमा ६ हजार फलोवर छन् । उनी आफुले भेटेका मानिसहरूका बारेमा ब्लग लेख्छन् । कहिलेकाही उनीहरूले खाना पनि ख्वाउँछन् ।
हालै मात्र खाजा किनिदिने जना साथीका बारेमा उनले लेखे । त्यसै गरी न्यु लाईफ साइकायाट्रिक रिह्याबिलिटेसन एसोसिएसन नामक एउटा मानसिक स्वास्थ्य केन्द्रमा हङकङ डलर १ अनुदान दिएकोबारे पनि उनले लेखेका छन् ।
भोलिको चिन्ता गर्नुपर्ने कुनै कारण नभएको र वर्तमानको आनन्द लिनु नै सबैभन्दा महत्वपूर्ण कुरा भएको साइमन बताउँछन् ।
मुस्कुराउँदै साइमन भन्छन्,“मलाई के हुन्छ भन्ने भाग्यको हाथमा छोडेको छु ।”