• विमानस्थलले उठायो ५५ करोड बढी बक्यौता : अझै डेढ अर्ब बाँकी

  • काठमाडौं,  माघ १९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ११ महिनाको अवधिमा ५५ करोड रूपैयाँभन्दा बढी बक्यौता उठाएको छ । मङ्सिर मसान्तसम्म विभिन्न वायुसेवा प्रदायक कम्पनीबाट करिब ५० करोड रूपैयाँ र पुस महिनामा पनि झण्डै सात करोड रूपैयाँ बक्यौता उठेको विमानस्थल कार्यालयले जनाएको छ ।

    एक महिनाको अवधिमा ५५ करोड रूपैयाँभन्दा धेरै पुरानो बक्यौता उठाइएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । बक्यौता बाँकी रहेका निकायलाई पनि निरन्तर ताकेता गरिएको छ ।

    विमानस्थल कार्यालयले अझै करिब डेढ अर्ब रूपैयाँ बक्यौता उठाउन बाँकी रहेको बताएको छ । बढी बक्यौता हुनेमा सरकारी निकाय भन्सार विभाग, नेपाल वायुसेवा निगमसहित निजी क्षेत्रका हवाई कम्पनी छन् । भन्सार विभागको करिब ५५ करोड रूपैयाँ बक्यौता छ भने नेपाल वायुसेवा निगमको करिब ४० करोड रूपैयाँ छ । निगमले किस्ताबन्दीमा रकम तिरेपनि भन्सार विभागले भने लामो समयदेखि रकम नतिरेको बताइन्छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को विमानस्थल सेवा शुल्क नियमावली अनुसार ६० दिनभित्र रकम नबुझाउने एयरलाइन्सको उडान रोक्न र जहाज ‘ग्राउन्डेड’ गर्न सकिने प्रावधान छ । साँवा रकम नबुझाएपछि ३० प्रतिशतका दरले विलम्ब शुल्क लाग्छ । समयमा बुझाउँदा छूटको व्यवस्था छ । विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार बिल जारी गरेको सात दिनभित्र बक्यौता रकम तिरेमा तीन प्रतिशत शुल्क छुट दिने व्यवस्था छ ।

    त्यस्तै ३० दिनभित्र बक्यौता रकम तिरेमा जरिवाना शुल्क तिर्नुपर्दैन । ३० देखि ४५ दिनसम्म पाँच प्रतिशत जरिवाना लाग्ने गरेको छ । ४५ देखि ५९ दिनसम्म बक्यौता रकम बुझाएमा १५ प्रतिशत जरिवाना तिर्नुपर्ने नियमावलीमा व्यवस्था छ । त्यसैगरी ६० दिनदेखि माथि रकम भुक्तानी नगरेमा ३० प्रतिशतको दरले जरिवाना लाग्नेछ ।

    विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाई परिवहन, सुरक्षा शुल्क, कार्यालय सञ्चालन कोठा, काउन्टर, होडिङ बोर्ड विमानस्थलभित्र सञ्चालन भएका पसल, भण्डारण, यात्रुलाई सेवा प्रवाहलगायतमा विमानस्थलले शुल्क लिने गर्छ ।

    एयर एशियाले २१ करोड तिरेन

    मलेशियाको बजेट एयरलाइन्स एयर एशियाले विलम्ब शुल्कसहित विमानस्थल सेवा शुल्क वापत २१ करोड रूपैयाँ बक्यौता तिरेको छैन । यसमा सात करोड ५० लाख रूपैयाँ साँवा र विलम्ब शुल्क १३ करोड रूपैयाँ बाँकी छ । क्वालालम्पुर–काठमाडौं सिधा उडान गर्दै आएको कम्पनीले बक्यौता नतिरेपछि केही महिनाअघि सेवा बन्द गरेको छ ।

    महाप्रबन्धक क्षेत्रीका अनुसार बढी बक्यौता रहेको एयर एशियाबाट विमानस्थलले हालसम्म ३१ करोड रूपैयाँ उठाएको छ । सो कम्पनीले साढे सात करोड रूपैयाँको चेक मात्रै बुझाएको छ तर ती चेक बाउन्स भएपछि कम्पनीका नेपाल एजेन्ट हरिमान लामा झण्डै ६ महिनादेखि सम्पर्कविहीन रहेको बताइन्छ । चेक बाउन्स प्रकरणमा विमानस्थलका तत्कालीन कर्मचारीको समेत संलग्नता रहेको भन्दै प्राधिकरणले छानबिन अघि बढाएको बताइएको छ । सञ्चालनमा नरहेका सङ्घसंस्थाको बक्यौता करीब तीन करोड रूपैयाँ छ ।

    कुन कम्पनीबाट कति उठ्यो ?

    विमानस्थलले एयर एशियाबाट ३१ करोड रूपैयाँ, हिमालयन एयरलाइन्सबाट पाँच करोड रूपैयाँ, सिम्रिक एयरबाट करीब तीन करोड रूपैयाँ, सौर्य एयरलाइन्सबाट एक करोड ८० लाख रूपैयाँ, रसुवा केडीको एक करोड रूपैयाँभन्दा धेरै, थाई एयरलाइन्सबाट एक करोड २५ लाख रूपैयाँ र पार्किङ शुल्क डेढ करोड रूपैयाँ तथा अन्य साना कम्पनीबाट थोरै–थोरै गरी करीब सात करोड रूपैयाँ उठाएको छ ।

    हिमालय एयरलाइन्सलाई एक महिने अल्टिमेटम

    अन्तर्राष्ट्रिय उडानमा रहेको हिमालय एयरलाइन्सले विमानस्थललाई सेवा शुल्क वापतको रकम समयमा नबुझाएपछि एक महिनाको चेतावनी (अल्टिमेटम) दिइएको छ ।

    एक महिनाभित्र रकम नबुझाए उडान बन्द गर्ने चेतावनीसहित विमानस्थलले पत्राचार गरेपछि एयरलाइन्सले विमानस्थललाई रकम भुक्तान गर्ने आश्वासन दिएको छ । एक महिनाभित्र उडान नगरे सेवा बन्द गर्नेसम्मको कारवाही हुने विमानस्थलले जनाएको छ । कम्पनीले गत पुसको अन्तिम साता विमानस्थललाई ५० लाख रूपैइँ भुक्तानी गर्दै बाँकी रकम तिर्न एक महिनाको समय मागेको थियो ।

    हिमालय एयरलाइन्सले करिब १४ करोड रूपैयाँ बक्यौता तिर्न बाँकी छ । नेपाल र चीनको संयुक्त लगानीमा सन् २०१४ देखि सञ्चालनमा आएको हिमालय एयरलाइन्सले मलेशियाको क्वालालम्पुर, साउदी अरेबियाको दमाम, युएईको दुबई र कतारको दोहामा नियमित उडान भर्दै आएको छ ।

    हिमालयका तीनवटै जहाज सञ्चालनमा रहेकाले बक्यौता तिर्न नियमित सम्पर्कमै रहेकाले यो रकम चाँडै उठ्ने महाप्रबन्धक क्षेत्रीको विश्वास छ ।

    सौर्य एयरलाइन्स दुई महिनादेखि उडान बन्द

    विमानस्थललाई तिर्नुपर्ने बक्यौता नतिरेपछि निजी क्षेत्रको अर्को हवाई कम्पनी सौर्य एयरलाइन्स दुई महिनाभन्दा बढी समयदेखि उडान बन्द रहेको छ । करीब तीन करोड रूपैयाँ बक्यौता भुक्तान गर्न नसकेपछि सौर्यका जहाज ‘ग्राउण्डेड’ भएका हुन् ।

    पटकपटक ताकेता गर्दा पनि बक्यौता नतिरेपछि उडान बन्द गरिएको विमानस्थलका महाप्रबन्धक क्षेत्रीको भनाइ छ । एयरलाइन्सले चाँडै बक्यौता भुक्तानी गर्ने मौखिक प्रतिबद्धता जनाएको भए पनि अहिलेसम्म विमानस्थलको सम्पर्कमा आएको छैन ।

    सौर्यसँग सिआरजे २०० सिरिजका दुईवटा विमान छन् । अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३१ वटा वायुसेवा प्रदायक कम्पनीले विभिन्न २३ गन्तव्यमा हवाई सेवा सञ्चालन गर्दै आएका छन् । औसत ५० देखि ५५ वटा अन्तर्राष्ट्रिय उडान हुन्छ । आन्तरिकतर्फ करीब तीन सय उडान हुन्छ । आन्तरिकमा १० हेलिकप्टरसहित २० वटा वायुसेवा प्रदायक कम्पनीले हवाई सेवा सञ्चालन गर्दै आएका छन् ।

  • कमेन्ट गर्नुहोस्