• व्यापार वार्तामा महत्वपूर्ण प्रगति, थप परामर्शका लागि मार्ग प्रशस्त

    US President Donald Trump (L), China’s Vice Premier Liu He, US Vice President Mike Pence (2R) and US Secretary of State Mike Pompeo wait for a meeting between US and Chinese officials in the Oval Office of the White House January 31, 2019 in Washington, DC. (Photo by Brendan Smialowski / AFP)
  • वासिङ्टन, संयुक्त राज्य अमेरिका, माघ १९ माघ : वासिङ्टनमा भएको चीन र अमेरिका व्यापार वार्तामा महत्वपूर्ण प्रगति भएको वार्तामा सहभागी दुवै समूहले शनिबार जनाएका छन् ।

    वार्ताका लागि वासिङ्टनमा रहेको चिनियाँ र अमेरिकी उच्च प्रतिनिधिमण्डलका सदस्यबीच चीन–अमेरिकाबीच देखिँदै आएको आर्थिक एवम् व्यापार विवाद समाधानका लागि बुधबार र बिहीबार छलफल भएको छ ।

    चिनियाँ उप–प्रधानमन्त्री लिउ हेको नेतृत्वमा अमेरिका पुगेको वार्ता टोलीले समानान्तर अमेरिकी समूहसँग छलफल गरेपछि वातावरण सकारात्मक एवम् महत्वपूर्ण बनेको भन्दै अर्को चरणको लागि तालिका, कार्यदिशा र परामर्शका लागि दुवै समूहले सहमति जनाएका छन् ।

    वार्ता सकारात्मक देखिएपछि बिहीबार नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ टोली नेता तथा उप–प्रधानमन्त्री लिउसँग ह्वाइट हाउसमा भेटवार्ता गरेका छन् ।

    गत डिसेम्बरमा दुवै पक्षका राष्ट्रप्रमुखले अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा व्यापार विवाद समाधान गर्न सहमति गरेका थिए । कठिन प्रयासपछि त्यसलाई कार्यान्वयनमा लाने सहमति सम्भव भएको हो । अर्जेन्टिनामा दुई देशका नेताले दुवै पक्षले आगामी ९० दिनभित्र आपसी हितका लागि सम्झौता गरी व्यापार विवादलाई टुङ्ग्याउने सहमति गरे अनुरूप नै वार्ता अघि बढेको हो ।

    महत्वपूर्ण प्रगति

    दुई दिने वार्तामा अमेरिका र चीनका प्रतिनिधिले व्यापार सन्तुलन, प्रविधि हस्तान्तरण, बौद्धिक सम्पत्तिको अधिकारको सुरक्षा, गैर–करमुलक अवरोध, सेवा क्षेत्र, कृषि र कार्य सम्पादन व्यवस्थाका साथै चिनियाँ पक्षका विशेष चासोका केही विषयमा पनि छलफल गरिएको छ । अहिलेसम्मको अवस्थामा वार्ताले महत्वपूर्ण प्रगति हासिल गरेको,चिनियाँ प्रतिनिधिमण्डलले जनाएको छ ।

    दुवै समूह दुईपक्षीय व्यापार थप सन्तुलित बनाउने उपाय अघि बढाउन सहमत भएका छन् ।

    चिनियाँ पक्षले अमेरिकाबाट चीन आयात गर्ने कृषि, उर्जा, निर्माण तथा अन्य सेवामुलक सामानमा विस्तार गर्ने र यसले चिनियाँ जनताको उच्च तथा गुणस्तरीय आर्थिक विकासको मागलाई सम्बोधन गर्ने चीनको विश्वास छ ।

    दुई पक्षबीच चिनियाँ तथा अमेरिकी विशेष चासोबारे छलफल भएको र यसले तिनलाई गम्भीररूपमा सम्बोधन गर्ने बताइएको छ ।

    वार्ताका क्रममा दुवै पक्षले प्रभावकारी दुईपक्षीय संयन्त्र निर्माण गरेर परामर्शबाट भएका सहमति र निस्केका उपायलाई अनुगमन गर्न आवश्यक रहेकोमा जोड दिएका छन् । दुई शक्तिशाली अर्थतन्त्रका वार्ता टोलीबीच आगामी दिनमा निर्माण गरिने अनुगमन संयन्त्रको संरचना र आधारभूत कुराहरूमा सैद्धान्तिक सहमति बनेको छ । टोलीले समस्यालाई कम गर्न थप प्रयासलाई जारी राख्ने र अघि बढ्ने विषयमा सहमति जनाएको छ ।

    अमेरिकी राष्ट्रपति ट्रम्पसँगको भेटमा राष्ट्रपति सी चिनफिङको सन्देश सुनाउँदै चीन–अमेरिकाबीचको सम्बन्ध जटिल मोडमा रहेको बताएको पनि चिनियाँ टोली नेताले सञ्चारकर्मीलाई जानकारी गराएका छन् ।

    सन्देशमा सीले सहकार्य, समन्वय र स्थायित्वका लागि अर्जेन्टिना सहमतिमा चीन अडिग रहने जनाएको बताइएको थियो ।

    “हामीले गरेका सहमति अनुसार दुवै पक्षका आर्थिक समूहले गहन छलफललाई अघि बढाएका छन् र यसबाट सकारात्मक प्रगति भइरहेको छ,” सीको सन्देशमा भनिएको छ ।

    त्यसैगरी भेटमा ट्रम्पले पनि व्यापार विवादबारे महत्वपूर्ण प्रगति देखेको बताएका उप–प्रधानमन्त्री तथा वार्ता टोलीका नेता लिउले उल्लेख गरेका छन् । उनले अमेरिका–चीन सम्बन्ध सधै मजबुत रहने र दुई राष्ट्रप्रमुखको अगुवाईमा अघि बढ्ने बताए ।

    “परामर्शलाई थप गति दिन तत्कालै अर्थात् मध्य फेब्रुवरीसम्म अमेरिकी व्यापार प्रतिनिधि रोवर्ट लाइथिजर र ट्रेजरी सेक्रेटरी स्टेभेन मनुचिनको नेतृत्वमा एउटा टोली चीन पठाइनेछ,” ट्रम्पले लिउलाई भने ।

    चीनबारे प्रसिद्ध अमेरिकी विज्ञ रोबर्ट कुहनले सी र ट्रम्पले व्यापार विवाद मिलाउन सक्रिय नेतृत्व गरिरहेको बताए । “वार्ता साँच्चै दुवै पक्षको विजयको सहमतिका लागि अग्रसर बनेको र चीन, अमेरिका र समग्र विश्वका लागि महत्वपूर्ण उपलब्धीउन्मुख रहेको छ,” उनले सिन्ह्वा न्यूज एजेन्सीसँगको अन्तर्वार्तामा भने ।

  • कमेन्ट गर्नुहोस्