• रूकुमकोटमा प्रवेश निषेधाज्ञा

    हिमाली जिल्ला रुकुम पू्र्वको भूमे गा.पा. वडा नं. ६ रिसालचौरको श्री बाल जनजागरण आ.वि. र सिस्ने हिमाल । तस्बिर सौजन्य : फेसबुक/जिल्ला प्रशासन कार्यालय रूकुमकोट, रूकुम पूर्व
  • रूकुम (पूर्व), माघ २१ माघ : सदरमुकाम रूकुमकोटमा प्रवेश निषेधाज्ञा आदेश जारी गरिएको छ । सदरमुकामको विवाद चुलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय रूकुम (पूर्व) ले आइतबार साँझ ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि प्रवेश निषेधाज्ञा जारी गरेको हो ।

    रूकुमकोट र गोलखाडावासीले लगातार आन्दोलन गरेपछि प्रवेश निषेधाज्ञा आदेश जारी गरिएको हो । सभा, जुलुस, भेला तथा प्रदर्शन गर्न-गराउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । प्रशासनले पूर्वमा सिस्ने गाउँपालिका–५ धौलापहिरा, पश्चिममा सोही गाउँपालिकाको रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका–६ रूकुमगाड हुँदै धाउनेसम्म र दक्षिणमा सिस्ने गाउँपालिका–५ को शहीपार्क हुँदै रूमालबारासम्म प्रवेश निषेधाज्ञा आदेश जारी गरेको छ । सदरमुकामको विवादका कारण रूकुमकोट तनावग्रस्त छ । सदरमुकामको विषयलाई लिएर रूकुमकोट र रूकुमकोटका बासिन्दा एक वर्षदेखि आन्दोलित छन् ।

    तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते पुथा उत्तरगङ्गा गाउँपालिका–१२ गोलखाडामा सदरमुकाम राख्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयविरूद्ध २०७४ माघ १७ मा सर्वोच्चमा रिट दर्ता भएको थियो । उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले तत्काल सदरमुकाम नसार्न अन्तरिम आदेश जारी गरेको थियो । अहिलेसम्म कुनै फैसला भएको छैन । साविक जिल्ला रूकुमको सदरमुकामसमेत यहाँबाट खोसिएको हुँदा आफूहरूलाई पटकपटक अन्याय भएको रूकुमकोटवासी बताउँछन् ।

  • कमेन्ट गर्नुहोस्