• चिनियाँ खरिदकर्ताबाट हैरान हङकङवासी

  • हङकङको पश्चिम सीमा नजिकै एउटा शहरमा स्थानीय अभियन्ताहरूको एउटा समूहले मूलभूमि चिनियाँ खरिदकर्ता विरूद्ध आईतबार विरोध प्रदर्शन गरे ।

    चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्याको एक दिन अघि यस्तो प्रदर्शन भएको हो । यति बेला धेरै चिनियाँ परिवार शपिङमा व्यस्त छन् ।

    आईतबारका दिन शेन्जेन बे सीमा नाकाबाट करिब २० मिनेटको दुरीमा रहेको तुयन मुनमा मूलभूमिबाट सयौंको संख्यामा यात्रु बोकेको बस आईरह्यो ।

    अन्तरसीमा बस टर्मिनसमा भेला भएका दश जना अभियन्ताको समूहले गृहनगरमै नयाँ वर्षको किनमेल गर्न पर्यटकहरूलाई आग्रह गरे ।

    “कृपया अबदेखि हङकङ नआउनुहोस् । तपाईंहरू फर्किनुहोस् । प्रभावकारी खाद्य सुरक्षा र न्युन आयात शुल्कमा जोड दिनुहोस्,” पप्युलेसन पोलिसी कनसर्न ग्रुप र समुदायमा आधारित तुयन मुन सिउ चुई कन्सर्न ग्रुप, र तुयन मुन कम्युनिटी नेटवर्कका अभियन्ताहरूले आग्रह गरे ।

    सिउ चुईका प्रतिनिधि लान्स यान पुई–लामले तुयन मुनमा बस्न थालेको २० वर्ष भएको बताए । मूलभूमिका खरिदकर्ताहरूले शहरमा बढाएको भीड र त्यसले आकाशिएको घरभाडा र बन्द हुन बाध्य पारिएका साना व्यायार पनि उनले देखेका छन् ।

    “उनीहरूले सम्पूर्ण समुदायमा गम्भिर समस्या ल्याएका छन्,” उनले भने । “पर्यटकको बढ्दो संख्याबाट घरधनी र व्यवसायले मात्रै फाइदा लिएका छन् । सर्वसाधारणलाई फाइदा हुँदैन तर त्यसको नकारात्मक परिणाम भोग्नुपर्छ ।”

    मुद्दाको गाम्भीर्य देखाउन पोलिसी कन्सर्न ग्रुपका संयोजक रोय ताम होई–पोङले पर्यटक सम्बन्धि पछिल्लो औपचारिक तथ्याङ्कलाई उद्धृत गरे । अघिल्लो वर्ष, हङकङमा ६ करोड ५१ लाख पर्यटक आए । तीमध्ये ७८ प्रतिशत मूलभूमिबाट आएका थिए ।

    तथ्याङ्कको आधारमा दैनिक करिब एक लाख ४० हजार चिनियाँ पर्यटक आएको ताम बताउँछन् । उनीहरूलाई समान रूपले शहरका १८ डिस्ट्रिक्टमा पठाउँदा पनि प्रति दिन प्रति डिस्ट्रिक्ट झण्डै आठ हजार पर्यटक हुन्छ ।

    “थपिएका यी सबै मानिसहरू अटाउने स्थान कसरी व्यवस्थापन गर्ने ?” तामले सोधे ।

    मूलभूमिका प्रत्येक आगन्तुकले हरेक ६ महिनामा एक पटक मात्रै प्रवेश पाउने गरी पर्यटक संख्या सीमित गर्न समूहहरूले सरकारलाई आग्रह गरेका छन् ।

    दुई घण्टा लामो विरोध प्रदर्शन शान्तिपूर्ण रह्यो । तर मूलभूमिका पर्यटकले अन्तरसीमा बस चढ्न लाग्दा समूहमा थपिएका दुई जनाले अवरोध खडा गरे । प्रदर्शनरत अभियन्ताहरूले उनीहरू कुनै समूहसँग सम्बद्ध नरहेको बताएका छन् । दुई जनाले “चिनियाँहरूलाई हङकङमा स्वागत छैन” लेखिएको प्लेकार्ड बोकेका थिए । उनीहरूले पर्यटकहरूलाई अपशब्द पनि बोले ।

    तुङ चुङ, श्योङ शुई र काउलुन सिटीजस्ता पर्यटकको भीडभाड हुने हङकङका थुप्रै डिस्ट्रिक्टहरूमा मूलभूमि पर्यटक विरोधी भावना हाल बढ्दै गएको छ । यही कारणले पर्यटकहरूलाई अन्य डिस्ट्रिक्टतर्फ लैजाने सम्भावनाबारे सरकारले विचार गरिरहेको छ ।

    तुयन मुन बस्ने २१ वर्षिया नेन्सी च्यान नोक–यानले शहरका शपिङ मल र गल्लीहरू मूलभूमिका पर्यटक लक्षित धेरैभन्दा धेरै व्यवसायले भरिएका र स्थानीयहरूलाई आवश्यक किनमेल गर्न कठिनाइ भएको बताएकी छिन् । यस अघि एउटा खुद्रा पसलमा पार्ट–टाईम काम गरेकी च्यानले पनि मूलभूमिका पर्यटकको संख्या नियन्त्रण गर्नुपर्नेमा सहमति जनाईन् । तर एक जनालाई ६ महिनामा एक पटक मात्रै शहर प्रवेश गर्न दिने प्रस्ताव धेरै कठोर भएको र यसले स्थानीय खुद्रा उद्योगलाई प्रभावित गर्ने उनले बताईन् ।

    केही हङकङवासीले जीवन प्रभावित भएको अनुभव गरेकोबारे आफूले बुझेको तर मूलभूमिवासीलाई आक्रोश पोख्नुको साटो उनीहरूले सरकारबाट समाधान खोज्नुपर्ने बेईजिङबाट पत्नि र छोरासँग हङकङ आएका यु जियानवेईले बताए ।

    “हङकङले मूलभूमिका लागि आफ्नो सीमा बन्द गरे, भोकमरीले एकै दिनमा मर्नेछ,” युले भने,“हङकङले पानी र तरकारी कहाँबाट ल्याउने ?”

    यसैबीच, हङकङ ट्रान्सपोर्ट डिपार्टमेन्टले एउटा राष्ट्रव्यापी नीतिको अंशका रूपमा हङकङ–चुहाई–मकाउ पुल, साना यात्रुवाहक सवारी साधनका लागि, सात सिट क्षमता वा अझ साना कार, फेब्रुअरी ४ देखि १० सम्म टोल–फ्रि हुने आईतबार घोषणा गरेको छ ।

    यद्यपि, पुल प्रयोग गर्ने लाइसेन्स र अनुमति भएका साना यात्रुवाहक सवारी साधनलाई मात्रै उक्त नीति लागु हुनेछ । हङकङबाट चुहाई वा मकाउ जानेहरूले एक सय ५० युआन शुल्क लाग्ने “टोल” तिर्नुपर्ने छैन ।

  • कमेन्ट गर्नुहोस्