• जमीन बाँझो राखे, कानूनको कठघरामा

  • काठमाडौं, माघ २६ : खेतीयोग्य जमीन बाँझो राख्ने व्यक्तिलाई तीन लाख रूपैयाँसम्म जरिवाना लगाउने कानून तयार हुँदैछ ।

    खेतीयोग्य भूमिको दुई तिहाई जमीन बाँझो राखेको प्रमाण पुगेमा त्यस्तो व्यक्ति जरिवानाको भागीदार हुनेछ । जमीन बाँझो राख्ने व्यक्तिको उजूरी सम्बन्धित जिल्ला अदालतमा गर्नसक्ने प्रावधान “भू-उपयोग ऐन, २०७५” को मस्यौदामा उल्लेख छ ।

    सरकारले “भू-उपयोग ऐन, २०७५” संसद्मा दर्ता गरेको छ । खेतीयोग्य जमीन बाँझो राख्ने व्यक्तिलाई जरिवाना लगाउने प्रावधानसहित नेपालमा पहिलोपटक यस्तो ऐन संसद्मा दर्ता भएको हो । सो ऐन पारित भएपछि खेतीयोग्य भूमि बाँझो राख्ने जो कोही व्यक्ति कानूनको कठघरामा पुग्नेछन् । सरकार गठन भएको झण्डै एक वर्षपछि संसद्ले “भू-उपयोग ऐन, २०७५” पारित गर्दै छ । आगामी फागुन ३ गते सरकार गठन भएको एक वर्ष पुग्दैछ ।

    कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जीशीले वर्षेपिच्छे खेतीयोग्य जमीन बाँझो हुनेक्रम बढ्दै गएकाले सरकारले उक्त ऐन बनाउन लागेको जानकारी दिए । संसद्मा भने उक्त ऐन भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले पेश गरेको हो  ।

    नेपाललाई कृषिप्रधान देश भनिन्छ । राष्ट्रिय कृषि गणना २०६८ अनुसार ६५ प्रतिशत जनता कृषिमा निर्भर छन् । सरकारी तथ्याङ्क अनुसार गतवर्ष दुई करोड ६० लाख रोपनी जमीन बाँझो थियो । हाल झण्डै तीन करोड रोपनी जमीन बाँझो रहेको अनुमान विज्ञहरूको छ । हाल ३० लाख ९१ हजार हेक्टर जमीनमा खेती गरिँदै आएको छ । एक हेक्टर भनेको २० रोपनी जमीन हो ।

    अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको नीति तथा कार्यक्रम (बजेट) मार्फत आगामी पाँच वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने योजना पेश गरेका थिए ।

    सरकारको बजेट पेश भएको वर्ष राज्यले दुई खर्ब रूपैयाँ बराबरको चामल आयात गरेको थियो । भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा नेपालले जिउँदो तथा खानयोग्य माछा ४२ लाख ८९ हजार ७३८ केजी र पक्षीको मासु (कुखुरा, हाँस, टर्की र अष्ट्रिच) भेँडा तथा अन्य जनावरको मासु ८५ करोड ५६ लाख दुई हजार रूपैयाँ मूल्य बराबर आयात गरेको छ ।

    व्यापार घाटा कम गर्ने प्रमुख अस्त्र कृषि हो । त्यसैले कृषिमा विभिन्न प्रकारका अनुदान दिने व्यवस्था छ । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार मुलुकको व्यापार घाटा १२ खर्ब रूपैयाँ पुगेको छ ।

    कृषिमा आयात प्रतिस्थापन गरी निर्यात बढाउन सके धेरै हदसम्म व्यापार घाटा कम गर्न सकिन्छ । “भू-उपयोग ऐन, २०७५” को मस्यौदामा भूमिको वर्गिकरण, समूचित उपयोग र प्रभावकारी व्यवस्थापनबाट कृषिमा देखिएको परनिर्भरता घटाउन सकिने उल्लेख छ ।

    ऐनको मस्यौदामा भूमिको वर्गिकरण १० प्रकारले गरिएको छ । जसमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक छन् । सरकारले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरणमार्फत कृषिमा देखिएको परनिर्भरता कम गर्ने बताउँदै आएको छ । सरकारले अघि सारेको करार, सहकारी र सामूहिक खेती प्रणाली प्रभावकारी हुनसकेको छैन ।

    कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले करार खेती गर्न चहानेलाई भने जति जमीन उपलब्ध गराउन नसकिएको बताए । उनले भू–माफियाले जमीनलाई खण्डीकरण गरी जथाभावी रूपमा खेतीयोग्य भूमि घडेरीमा परिणत गरिसकेकाले व्यावसायिक खेतीमा लगानी गर्न चाहनेलाई पछिल्लो पटक जमीन उपलब्ध गराउन नसकेको हुँदा कृषिमा ठूला लगानी भित्र्याउन नसकेको बताए ।

    सरकारले गत वर्षदेखि नै सामूहिक, करार र सहकारी खेतीको अवधारण अघि सारेको थियो । तर, ऐन नभएका कारण कार्यान्यनमा आउन सकेन । यद्यपि भारत, चीन, भियतनाम, बङ्गलादेश, लगातयका मुलुकमा भने करारखेती सफल मानिएको छ । सरकारले कृषि अनुदानमा बढोत्तरी गर्दै लगेको छ । सस्तो ब्याज दरमा कर्जा लगानी गर्ने नीति कार्यान्यनमा ल्याएको छ । थोरै भए पनि रासायनिक मलमा अनुदानको व्यवस्था छ । तर युवा जमात कृषिमा आर्कषित हुनसकेको छैन । 

    राज्यले कृषि मजदुर, भूमिहीन र सिमान्तकृत, मझौला र कृषि क्षेत्रमा संलग्न किसानलाई जमिन उपलब्ध गराउन सकेको छैन । छैठौं कृषि गणना २०६८ मा एक लाख १६ हजार व्यक्तिले आफ्नै जमीन नभएका कारण कृषि पेशा गर्न नपाएको उल्लेख छ । सो गणनामा ७१ प्रतिशत जनता पूर्णकालिन कृषक रहेकोमा ८३ प्रतिशत जनता कृषि पेशामा आत्मनिर्भर र ४२ प्रतिशत कृषकले  कृषि ऋण पाउन नसकेको उल्लेख छ ।

  • कमेन्ट गर्नुहोस्