फरक क्षमताका सिर्जनशील टुर गाइड
पहिलो नजरमा भिन्सेन्ट ली औसत हङकङेलीजस्तै देखिन्छन् । ली ३३ वर्षका भए । उनले सफा नीलो सर्ट र खाकी लगाएका छन् । तर जब उनी टच जर्नी सामुदायिक यात्राका सहभागीहरूलाई नर्थ पोइन्टस्थित सनबिम थिएटरको इतिहास सुनाउँछन्‚ अरूभन्दा ढिलो बोल्छन् र ढिलै हिड्छन् ।
लीलाई जन्मजात सेरेब्रल पाल्सी भएको थियो । यो एक प्रकारको निउरोलोजिकल अवस्था हो जसले मांशपेसीको चाल प्रभावित हुन्छ । हुर्किदै जाँदा‚ अपांगताका कारण काम नपाइएला भन्ने उनको चिन्ता थियो । तर सामाजिक संस्थामा काम गरेपछि‚ लीले आफ्नो अवस्थालाई स्वीकारेका छन् र शक्तिमा रूपान्तरण गरेका छन् ।
“म बिस्तारै टाइप गर्छु‚ त्यसैले प्रशासनिक जागिर सकेसम्म खोज्दिनँ । मेरा रोजगारदातालाई मेरो दक्षताबारे बताउँछु‚ जस्तै परियोजना सञ्चालन‚” उनी भन्छन् ।
अरूले पनि आफूजस्तै काम गर्न सिक्नेछन् भन्ने आशाले गत सेप्टेम्बरमा उनले टच जर्नी स्थापना गरे ।
सहभागीहरूलाई हङकङका डिस्ट्रिक्टको विशेषता‚ इतिहास र पछिल्ला विकासको परिचय दिनेबाहेक‚ टच जर्नीले टुर गाइडलाई पनि लोकप्रिय बनाएको छ ।
“अपांगता भएका मानिसहरूलाई आफ्नो सबल पक्ष पहिचान गर्न सहयोग गर्ने एउटा मञ्चको रूपमा सेवा गर्ने हाम्रो आशा हो‚” लीले भने । “हामी सहभागीहरूलाई अपांगता भएका मानिसहरूले के गर्न सक्छन् भन्ने देखाउन चाहन्छौं ।”
समूहका सदस्यहरू रेञ्जर हो काम–शिङ र ड्यानियल चोङ क्वाई–नामको सहयोगमा‚ दुवैको उमेर २७ वर्ष‚ लीले नर्थ पोइन्ट र शाम शुई पो लगायतका डिस्ट्रिक्टमा झण्डै एक सय ३० जनालाई दुई घण्टे यात्रामा लगेका छन् ।
“म टच जर्नीसँग आबद्ध भएँ किनभने मेरो शक्ति र कमजोरी दुवैलाई स्वीकार्न सक्ने म एउटा अर्थपूर्ण रोजगार चाहन्थें : म उभिएर सोंच्नसक्छु‚ तर कागजी कामकारवाही पूरा गर्न मलाई धेरै समय लाग्छ‚” होले भने । विश्वविद्यालयबाट अध्ययन पूरा गरेपछि उनले केही समय एउटा ट्युटरिङ सेन्टरमा अध्यापन गरेका थिए ।
अहिले उनी परियोजनाको योजना बनाउने‚ सेवाग्राहीलाई योजना सुनाउने र टुर गाइड गर्न सघाउँछन् । कहिलेकाँही यस्ता कामहरू उनका लागि चुनौतीपूर्ण पनि हुने गर्छ । होलाई पनि सेरेब्रल पाल्सी छ । हिँडडुल गर्नलाई उनी छडी प्रयोग गर्दछन् ।
चोङ एउटा मार्केटिङ एजेन्सीमा कन्टेन्ट स्ट्रयाटजिस्टको रूपमा काम गर्छन् । पार्ट–टाइम गाइडको रूपमा उनी हालै मात्र टच जर्नीमा आबद्ध भएका हुन् । उनी उत्पादन विकास र बजार प्रवर्द्धनको काम पनि हेर्ने गर्छन् । तुलनात्मक रूपमा टुर गाइडजस्तो परम्परागत क्षेत्रभन्दा फरक काममार्फत् सही वृत्तिविकास गर्ने उनी आशा गर्दछन् ।
“अपांगता भएका व्यक्तिलाई काम खोज्नु एकदमै कठिन छ‚ तर म ग्राहक सेवा वा प्रशासनको काममा सीमित हुन चाहन्नँ जहाँ मजस्तै मेरा धेरै साथीहरू काम गर्छन्‚” उनले भने ।
मेरूदण्डमा चोट लागेपछि ६ वर्षअघि चोङले हिँडडुल गर्ने क्षमता गुमाए । यताउता गर्न उनी व्हिलचेयर प्रयोग गर्दछन् । टच जर्नीको भूमिकालाई उनी सिर्जनशील बन्ने अवसर मान्दछन् । “सहभागी र गाइड दुवैको आवश्यकता पूरा गर्ने मार्ग डिजाइन गर्ने चुनौती मलाई रमाइलो लाग्छ ।”
पछिल्ला वर्षहरूमा अपांगता भएका व्यक्तिप्रतिको दृष्टिकोणमा सुधार भएको हो बताउँछन् । तर अपांगता नभएको शरीरले दैनिक रूपमा गर्नसक्ने काम र त्यसको महत्वबारे प्रकाश पार्नु आवश्यक भएको उनले बताए । उनलाई भिरालो र भर्याङमा हिड्न अप्ठ्यारो हुन्छ । टुरको योजना बनाउँदा उनले यसबारे सावधान रहनुपर्छ ।
“उदाहरणका लागि‚ सम्म नपरेका सडकहरूले मजस्ता मानिसहरूलाई ठूलो फरक पर्छ । यसले हाम्रो दैनिक जीवनमा कसरी प्रभाव पार्दछ भनेर म सहभागीहरूलाई बताउँछु ।”
उनीहरूलाई सिट छोडिदिने व्यक्ति‚ सधैं पाका हङकङेली हुने गरेकोमा उनी छक्क पर्छन् । युवाले त्यसो गर्दैनन् । शिक्षा मार्फत्‚ आफूजस्ता मानिसबारे सर्वसाधारणलाई बुझाउन सहयोग गर्ने र उनीहरूको आवश्यकताबारे सचेतना फैलाउने उनले आशा गरेका छन् । उनी नेदरल्यान्ड्सको उदाहरण पनि दिन्छन् ।
“नेदरल्यान्ड्सको एउटा विमानस्थलमा पुग्ने बित्तिकै‚ मेरा खुट्टाहरूले कहिले जमिन छोएनन् किनभन् त्यहाँका कर्मचारीहरूले अप्ठ्यारो नमानि एउटा विद्युतीय सवारी साधनमा मलाई जता पनि लगिदिन्थे‚” उनले भने ।
फोर्ट्रेस हिल र क्वार्री बेका असमान सडक र खाल्डाहरू ठीक पारेर हङकङमा फरक क्षमता भएका व्यक्तिहरूको पहुँच सहज बनाउन सकिनेमा चोङ सहमत छन् । अधिकांश हङकङेलीले उनीजस्ता अपांगता भएका व्यक्तिहरूलाई सहयोग गर्न हात बढाउने उनको विश्वास छ ।
अझै एउटा काम गर्न सकिन्छ । उनी भन्छन्‚“टच जर्नीजस्ता कार्यक्रमहरूले हामीजस्ता मानिसहरूलाई बाँकी समाजसँग अन्तरक्रिया गर्न प्रोत्साहन गर्दछ‚जसले हाम्रो मानसिक र मनोवैज्ञानिक अवस्थामा सुधार ल्याउन सहयोग गर्नेछ ।”
“हामी समाजको बोझ होइनौं–यसको एउटा अंश हौं ।”