• गैंडा गणना गर्न दाताको खोजी

    https://www.flickr.com/photos/amanderson/3231495257
  • चितवन, माघ २८ माघ : एकसिङ्गे गैंडा गणना गर्न सरकारी बजेट नभएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दाताको खोजी गरिरहेको छ । विभागले मार्च-अप्रिलमा गैंडा गणनाको तयारी गरेको छ । तर बजेट नभएपछि दाताको खोजी गर्नुपरेको हो ।

    विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार गैंडा गणनाका लागि करिब एक करोड रूपैयाँ खर्च हुनेछ । त्यसका लागि यसअघि पनि सहयोग गरिरहेका दातृ निकायसँग सहयोगका लागि प्रस्ताव गरिएको उनले बताए । मार्च-अप्रिलमा गैंडा गणनाको तयारी गरिएको भए पनि बजेटको निर्क्यौल भइनसकेकाले मिति तय गर्न नसकिएको खड्काले बताए ।

    उनले भने, “हामीसँग पैसा छैन, दाता खोजिरहेका छौं । दाताको टुङ्गो लागेपछि गणनाको मिति तय हुन्छ ।”

    यसअघि सन् २०१५ मा गैंडा गणना गरिएको थियो । गत वर्ष बाढीले धेरै गैंडा बगाएको र कालगतिले पनि धेरै गैंडा मरेकाले यो वर्षको गणनालाई महत्वका साथ हेरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले गैंडा गणना गर्न २५ दिन लाग्ने बताए । उनले चितवनको गणनाका लागि मात्रै एक करोड रूपैयाँ बजेट आवश्यक पर्ने भन्दै विभागमा माग गरिएको बताए ।

    निकुञ्जमा गैंडा गणनाका क्रममा जनशक्ति एक सय ७० जना र ३५ हात्ती परिचालन गरिनेछ । ढकालका अनुसार झण्डै ५१ लाख रूपैयाँ खानामा मात्रै खर्च हुने गर्दछ । यसका अतिरिक्त विभिन्न उपकरण, सवारीसाधन, हात्तीको खुराक, भत्तालगायतमा खर्च हुने गर्दछ ।

    प्रत्यक्ष गणना गर्नुपर्ने भएकाले गैंडा गणनाका क्रममा निकुञ्जको पूरै भागको अवस्थासमेत थाहा हुनुपर्दछ । पछिल्लो गणनाअनुसार नेपालमा ६ सय ४५ ओटा गैंडा रहेका छन् । तीमध्ये ६ सय ५ ओटा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै रहेका छन् ।

  • कमेन्ट गर्नुहोस्