• नागरिकताको समस्या अन्त्य हुन्छ : प्रचण्ड

    सिरहाको अर्नमा गाउँपालिका १ स्थित महनौरमा सोमवार स्वास्थ्य चौकी भवनको उदघाटन कार्यक्रममा मञ्चासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अन्य अतिथिहरु । तस्वीर : राजु विश्वकर्मा, लहान, रासस
  • लहान, माघ २८ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेशमा देखिएको नागरिकताको समस्या अब सदाका लागि अन्त्य हुने बताएका छन् ।

    सिरहाको अर्नमा गाउँपालिका १ स्थित महनौरमा सोमवार स्वास्थ्य चौकी भवनको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

    सिरहाको अर्नमा गाउँपालिका–१ स्थित महनौरमा आज स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री दाहालले भने, “नागरिकताको समस्या विगतमा जसरी थियो, अब सदाका लागि समाधान गर्ने गरी नागरिकता विधेयक संसद्मा प्रस्तुत भइसकेको छ र समितिमा गम्भीर छलफल हुँदैछ, तपाईंहरु ढुक्क हुनुस् अब नागरिकताको समस्या मधेशको समस्याका रूपमा रहँदैन ।”

    आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने सहमतिअनुरुप सङ्घीय समाजवादी फोरम सरकारको आएको उल्लेख गर्दै उनले संविधानलाई आवश्यक संशोधन गरेर मधेशी र जनजाति उपेक्षित समुदायको अधिकार सुनिश्चित गर्ने बाटो खुल्ला रहेकोले संविधानमा आवश्यक संशोधन हुने बताए ।

    तराई मधेशको पूर्वाधार विकासका लागि सरकारले सडक, खानेपानी, स्वास्थ्य, शिक्षालगायत सबै विषय समेटेर करीब दुई अर्ब रूपैयाँको विशेष प्याकेज ल्याउन लागेकोले त्यसबाट मधेशले ठूलो फड्को मार्ने उनले दाबी गरे ।

    “मधेशको विकास नभई मधेशी जनताको आवश्यकतालाई सम्बोधन गर्न सकिन्न भन्ने विषयमा प्रधानमन्त्री र मेरो गम्भीर छलफल भएको छ”, अध्यक्ष दाहालले भने, “यसमा हामी स्पष्ट छौं, त्यो कुरा यो सरकार र नेकपाले मात्र पूरा गर्न सक्छ भन्नेमा विश्वस्त छौँ ।”

    सिरहाको अर्नमा गाउँपालिका १ स्थित महनौरमा सोमवार स्वास्थ्य चौकी भवनको उद्घाटन कार्यक्रममा मञ्चासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अन्य अतिथिहरु । तस्वीर : राजु विश्वकर्मा, लहान, रासस

    मुलुकबाट बेरोजगारी समस्या अन्त्यका लागि सरकार र आफ्नो पार्टीले ध्यान केन्द्रित गरेको बताउँदै बेरोजगार युवालाई स्वदेशमै रोजगार दिने र रोजगार दिन नसक्नेलाई बेरोजगार भत्ता दिने सरकारले तयारी गरेको उनले बताए ।

    तराई मधेशमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पूर्व–पश्चिम रेल्वे, फास्ट ट्र्याक निर्माण, औद्योगिक ग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्वविद्यालयको स्थापना, सिँचाइका पूर्वाधारहरूको विकास, कलकारखानाको स्थापनालगायत विकास निर्माणका योजना विस्तारको गृहकार्य अगाडि बढाइएको उनले जानकारी दिए ।

    सिरहा जिल्ला आँपको दृष्टिकोणले अग्रणी रहेकाले सिरहालाई आँप क्षेत्रका रुपमा विकास गर्न पहल र प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै सिरहालाई धानको ‘सुपर जोन’ घोषणा गरी लगानी बढाउनुपर्नेमा उनले जोड दिए ।

    उद्घाटन कार्यक्रममा नेकपाका २ नं प्रदेश सह-इञ्चार्ज तथा पूर्वमन्त्री विश्वनाथ साह, प्रतिनिधिसभा सांसद लीलानाथ श्रेष्ठ, प्रदेशसभा सदस्यहरू रामकुमार यादव, प्रमोद यादव, जगत यादव लगायतले तराई मधेशको विकासका लागि सरकारले छिटो विशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।

    सिरहाको अर्नमा गाउँपालिका १ स्थित महनौरमा सोमवार स्वास्थ्य चौकी भवनको उद्घाटन कार्यक्रममा जग्गादाताहरुलाई दोसल्ला ओढाएर सम्मान गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्वीर : राजु विश्वकर्मा, लहान, रासस

    सो अवसरमा शहरी विकास तथा भवन निर्माण आयोजना राजविराजका प्रमुख रमेश थिङले कूल एक करोड २१ लाख ७६ हजार रूपैयाँको लागतमा सो भवन निर्माण गरिएको जानकारी दिए । अर्नमा गाउँपालिकाका अध्यक्ष ठक्कु महतोको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा स्वास्थ्य चौकी निर्माणका लागि जग्गा दिने जग्गादाताहरूलाई अध्यक्ष दाहालले दोसल्ला ओढाएर सम्मान गरे ।

  • कमेन्ट गर्नुहोस्