• पृथ्वीनारायण शाहलाई सेरेङ चोङबाङको चुनौती

  •  

    अनेक जाति र जातिभित्र उपजाति छन् नेपालमा । जातभित्र थर र थरभित्र उपथर छन् । विविधतायुक्त यो देशमा ती जाति, उपजाति र त्यसभित्रका थर र उपथरमध्ये कतिपयको गौरवपूर्ण ऐतिहासिक विरासत रहि आएको छ । उनीहरुको इतिहास सूक्ष्म शैलीमा हेर्न जरुरी छ । यस्तो हेराईबाट प्राप्त हुने इतिहास सम्बन्धी उपलब्धी सम्बन्धित जात वा थरको मात्र होइन, त्यो समाजको मात्र पनि होइन, सिङ्गो देशको उपलब्धी हुनेछ ।

    पूर्वी नेपालमा आवाद लिम्बू जातिभित्र अनेकौं थर र उपथर छन् । नेपालका प्रामाणिक इतिहास भएकाहरुमध्ये लिम्बू पनि एक हुन् । उनीहरु इतिहाससिद्धतामा समृद्ध पनि छन् । सुक्ष्म रुपमा अध्ययन गर्ने हो भने लिम्बूभित्रका विभिन्न थरमा रहेका उनीहरुका विभिन्न थरकाहरुले विभिन्न इतिहास निर्माण गरेका छन् । तीमध्ये यस लेखाईमा हाल ताप्लेजुङ र साविकको सान्थाक्रामा रही त्यहाँको भूमिको जिम्मा जमानीमा बसी सेन राजाहरुसँग सम्बन्ध गाँसेर अधिकार पनि प्राप्त गरेका र राज्यविस्तार अभियानमा रहेका गोरखाली राजा पृथ्वीनारायण शाह र उनका सन्तान राजाहरुको समेत टाउको दुखाईको विषय भएको स्थानीय जातीय लिम्बू शासक सेरेङ चोङबाङको इतिहासको चर्चा यहाँ गरिन्छ ।

    सेरेङ चोङबाङको प्राचीनता

    सान्थाक्रामा आवाद रही त्यहाँको किपट सम्हाल्ने सेरेङ चोङबाङहरुको विरासत निक्कै पुरानो देखिन्छ । त्यसैले उनीहरुको इतिहासको जरा पनि निक्कै गहिरो रहिआएको छ ।

    सेरेङ चोङबाङको इतिहासको जरा पहिल्याउन यस लेखमा मावोहाङ यक्सोहरुमा प्रचलित एउटा लोक कथालाई उल्लेख गर्न जरुरी ठानिएको छ । लोक कथा यस्तो छः

    यक्सोहरु शक्तिशाली थिए । पहिले उनीहरुमध्ये कतिपय त उड्न सक्ने सुरवीर पनि थिए ।

    उता सेरेङहाङलाई उनका शत्रुले बेलाबेलामा आक्रमण गर्थे । आक्रमणको सामना गर्न आफू एक्लै असमर्थ भएपछि सेरेङहाङले छिमेकी राजा पोमुहाङसँग सहयोग याचना गरे । पोमुहाङले सेरेङहाङलाई सुुझाए, ‘मभन्दा अझ शक्तिशाली राजा यक्सो छ, ऊसँग सहयोग लिनू ।’

    यस्तो सल्लाहपछि सेरेङहाङ यक्सो राजासँग सहयोग माग्न गए । यक्सो राजाले आफ्ना छोरामध्ये दुई सुरवीर छोरालाई सेरेङहाङकहाँ सहयोग गर्न पठाए ।

    सेरेङहाङलाई सहयोग गर्न जाने यी दुई लडाकुले शत्रु कति शक्तिशाली छ ? आफूभन्दा शक्तिशाली छ भने आफू मरिन्छ, के गर्ने ? भनेर सल्लाह गरे ।

    जेठोले भनेछ, ‘एउटा जोखाना हेरौं । यो ओढारमाथि एक एक लात्ती हानौं, हाम्रो पाइला ओढार माथिको ढुंगामा गाडियो भने जित्छौं, गाडिएन भने हार्छाैं ।’

    सोही अनुसार लडाकु दाजुभाइले ओडारको ढुङ्गामा लात्ती हाने, उनीहरुको पाइला गाडियो । उनीहरुले बुझे, शत्रु सेनालाई जितिनेछ । त्यहीँ अनुसार सेरेङहाङलाई उनको शत्रु चिनाई मागे । यी दुई शत्रुलाई खोज्दै गए । खोज्दै जादा शत्रुपक्षको राजा दिउँसो भात खाएर सुतिरहेको रहेछ । त्यहीँ मौका पारेर उनीहरुले धनुकाँड हानी ती राजालाई मारिदिए ।

    मारिएका राजाका बफादार सेनाले यो कुरा थाहा पाएपछि उनीहरु प्रत्याक्रमणमा निस्के । दुई यक्सो दाजुभाइ भाग्दै जाँदा बीचमा एउटा ठूलो चीरा परेको पहरा आयो । त्यसलाई पनि नाघेर उनीहरु पारी जान समर्थ भए । तर उनीहरुका शत्रुसेना त्यो चिरा नाघ्न नसक्दा पहरामा लडी मरे ।

    यसरी यक्सो राजाका दुई छोराले सेरेङहाङका शत्रु नाश गराए ।

    ताप्लेजुङ हाङपाङ मूल किपट भूमी हो यक्सोहरुको । सान्थाक्रामा पनि अल्पसंख्यामा यक्सो रहेका छन् । उनीहरु सेरेङहाङलाई सहयोग गर्न जाने लडाकुका सन्तानमध्येका वंशज हुन् । सान्थाक्राका यक्सोहरु साइनो सम्बन्धमा हाङपाङका यक्सोहरुभन्दा ठूला छन् । सम्भवतः उनीहरु ती लडाकु यक्सोहरुका कान्छीपट्टिका सन्तान हुन् । सेरेङहाङले यक्सो लडाकुबाट प्रभावित भएर आफ्ना छोरीचेलीसँग विवाह गराइदिएको पनि विश्वास गरिन्छ । उनीहरुतिरबाट सान्थाक्राका यक्सोहरुको वंश फैलियो ।

    यक्सोहरुको पुर्खामध्ये मावोहाङलाई प्रतापी र धार्मिक राजा मानिन्छ । उनी आराध्यदेवी युमाका ठूला उपासक थिए । उनैका सन्तानले आफूहरुलाई मावोहाङ भन्छन् । जस्तो कि मावोहाङ यक्सो, मावोहाङ चेम्जोङ आदि ।

    मावोहाङ यक्सोको माङ्गेनामा गाइने मुन्धुममा थाक्मिया र मुरेगनको गाथा गाइन्छ । जो यस्तो छः
    थाकमिया नु मुरेगानले मुथाक्का थाक्का
    थाक्काइनले थाक्का इनले कुगप्मा
    सा कुवाप्मा कुवाप्मा सा सी

    अर्थात्
    थाकमिया र मुरेगानको भावी सन्तान
    उनीहरुको रक्षा गर्ने
    गहनाले सुसज्जित सन्तानहरु ।

    यहाँ रक्षाको सन्दर्भ आयो । यो अर्थमा ‘उनीहरुको रक्षा गर्ने गहनाले सुसज्जित सन्तानहरु’ भनिए पछि उनीहरु जस्तै अर्थात् उनीहरुको वीरताको विरासत थाम्ने हतियारधारी सन्तानहरु । यस अर्थमा थाक्मिया र मुरेगन त्यो समयका शूरवीरमध्येका थिए । माथि उल्लेख गरिएको लोक कथामा यक्सो राजाका दुई छोरा, जो सेरेङहाङलाई सघाउन गए, उनै थाक्मिया र मुरेगन हुनुपर्छ ।

    यसरी यो ऐतिहासिक प्रसङ्ग अगाडि बढाउँदा थाक्मिया र मुरेगनको बुबा चाहिँ मुदाहाङ हुन् । यक्सोहरुको वंशावली ‘यक्सो इत्लाम’ (२०७०ः६३) अनुसार मुदाहाङ मावोहाङका छोरा हुन् । मुदाहाङका तीन छोरामध्ये थाक्मिया जेठा र मुरेगन माहिला हुन् । कान्छा चाहिँ काप्पेन्हाङ हुन् ।

    यो वंशावलीलाई आधार मानेर हेर्दा मावोहाङका शूरवीरका रुपमा गाथा गाइने नातिहरु थाक्मिया र मुरेगनले सेरेङहाङलाई सामरिक सहयोग गरेका थिए ।

    थाक्मिया र मुरेगनका बुबा मुदाहाङले सेरेङहाङलाई सहयोग गर्न आफ्ना दुई शूूूूूूूूूूरवीर छोरा पठाएका थिए ।

    इतिहासकार इमानसिंह चेम्जोङको ‘किरात इतिहास र सँस्कृति’ (२०६३ः८९) अनुसार मावोहाङको शासनकाल सन् ८६५ देखि ८८० सम्म रहेको अर्थात् उनी सन् ८८० सम्म सक्रिय रहेको भन्ने पुष्टि हुन्छ ।

    मावोहाङका छोरा मुदाहाङ हुन् । बाबुपछि छोरा सक्रिय हुने नै भए । वंशावली अनुसार मुदाहाङका छोराहरु हुन्, थाक्मिया र मुरेगन । मावोहाङपछि राजाको रुपमा मुदाहाङको सक्रियता सन् ८८० बाटै सुरु भयो । यही आसपास वा १० देखि १५ वर्षपछि सेरेङहाङलाई समस्या पर्दा सहयोग गर्न थाक्मिया र मुरेगन गएका हुन सक्छ ।

    यसरी हेर्ने हो भने सरेङहरुको यस क्षेत्रको ऐतिहासिक विरासत एक हजार वर्षभन्दा पुरानो देखिन्छ ।

    थाक्मियाको नाम उल्लेख भएको वंशावलीको पुरानो कागज यो लेखकसँग पनि सुरक्षित रहेको छ ।

    यसबाट सेरेङ चोङबाङहरुको प्राचीनताको झल्को यताबाट पनि एक ढङ्गले नियाल्न सकिन्छ ।

    सेनकालमा सेरेङहरु

    सेरेङहरुको इतिहासको जरो गहिरो भएजस्तै लहरा पनि लामो देखिन्छ । विजयनारायण राय विजयपुरका अन्तिम राजा हुन् । उनीपछि उनका सन्तानलाई त्यहाँका मन्त्री मुरेहाङका सन्तानले राजा बन्न दिएनन् । बरु उनीहरुले सेनहरुलाई गुहारे र लोहाङ सेनलाई विजयपुरमा राजा बनाए, अनि आफूहरु त्यहाँका दिवान अर्थान् मन्त्री बनेर रहे । विजयपुरमा सेन राजा भए पनि शासनको हर्ताकर्ता चाहिँ मन्त्रीका रुपमा लिम्बूहरु नै रहने गर्थे ।

    सेनहरुले लिम्बूहरुलाई निक्कै विश्वासमा लिएको देखिन्छ । इमानसिंह चेम्जोङको ‘किरातकालिन विजयपुरको संक्षिप्त इतिहास’ (२०३२ः३९–४०)लाई उद्धृत गर्दै इतिहासकार डा. राजाराम सुवेदीले पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’को पूर्णाङ्क १४७ मा (असार २०५८ः४३)मा प्रकाशित लेख ‘मकवानपुर राज्य’मा उल्लेख गरे अनुसार किरातहरुमा मोरङमा विद्याचन्द्र राय, सप्तरीमा चोङबाङ राय, महोत्तरीमा लिवाङ राय र मकवानपुरमा सेरिङ रायलाई इज्जतसाथ राखियो ।

    यसबाट सेरेङहरु प्रशासन चलाउदै मकवानपुरसम्म पुगेको पुष्टि हुन्छ ।

    सेरेङहरु मकवानी सेन राजाहरुसँगै भएको प्रमाण शाहकालिन एक पत्रबाट पनि पुष्टि हुन्छ । इतिहास प्रधान पत्रिका ‘पूर्णिमा’को पूर्णाङ्क ५८ (चैत २०४०ः३९–४०) मा त्यो बेला रणबहादुर शाहले विजयपुरमा रहेर गोरखाली प्रशासन चलाइरहेका सुब्बा जोगनारायण मल्ललाई लेखेको पत्रमा उल्लेख गरिएको भाकाले पनि सेरेङहरु मकवानी सेनहरुसँग नजिक थिए भन्ने प्रमाणि हुन्छ । उक्त पत्रिकामा प्रकाशित पत्रमा यस्तो लेखिएको छः

    …उप्रान्त लिंवु श्रृंग्याहरु मिल्न आउँदैछन् भन्ने कुरो तिमीले लेखेछौ । हिजो मकवानीका पालामा पनि ती किरातले बहुतै ग¥यो । हाम्रा पालामा पनि तन्ले २÷४ बेर मिल्न आउँदै फट्टाउँदै गर्या जस्तो गरी बीरभद्र राई जस्तो आयथ्यो । त्यस्तै गरी निख्रिकन आया पिछा लेऊ ।

    यस पत्रमा उल्लेख भएको वाक्याङ्श ‘हिजो मकवानीका पालामा पनि ती किरातले बहुतै गर्यो । हाम्रा पालामा पनि तन्ले २÷४ बेर मिल्न आउँदै फट्टाउँदै ग¥या जस्तो गरी… ’ उल्लेख भएबाट सेरेङहरु पहिल्यैदेखि मकवानी सेनहरुसँग नजिक थिए र गोरखाली शाहहरुले उनीहरुलाई हात लिन पटक पटक प्रयास गर्दा पनि सफल नभएको भन्ने प्रमाणित हुन्छ ।

    गोरखालीलाई सकस
    गोरखालीहरु राज्य विस्तार अभियानका क्रममा लिम्बुवान पुग्दा त्यहाँका लिम्बू (सुब्बा)हरुको फौजसँग भिषण युद्ध भयो । यो युद्धमा गोरखालीहरुले छल, बल र कुटनीति सबै प्रयोग गरेको इतिहास पढ्न पाइन्छ । यसो हुँदा लिम्बूहरुमा फुट आयो र केहीले गोरखालीसँग सन्धि गरे, केही सिक्किम पसी गोरखालीहरुसँग पुन युद्धका लागि तयारी गर्न थाले । यस्तो अवस्थामा सेरेङहरु चाहिँ न तत्कालै सन्धिमा सहभागी भए, न त सिक्किम पलायन भए । बरु उनीहरुलाई गोरखालीहरुले आफूतिर मिलाउन बारम्बार प्रयास गरिरहे । गोरखालीहरुको अधिनमा आइसकेको लिम्बुवान क्षेत्रमा सेरेङहरु गोरखालीहरुलाई भयभित बनाउँदै आफ्नो राजनीतिक अस्तित्व कायम गर्दै रहेका देखिन्छ ।

    योगी नरहरिनाथद्वारा सम्पादित ‘इतिहास प्रकाशमा’ भाग १ (२०२२ः१३)लाई उद्धृत गर्दै इतिहासकार शिवकुमार श्रेष्ठले ‘लिम्बुवानको ऐतिहासिक अध्ययन’ (२०६८ः११५–११६) मा पृथ्वीनारायण शाहले लिम्बुवान आक्रमण गर्न खटिएका अभिमानसिंह बस्नेत लगायतका सैन्य अधिकारीहरुलाई लेखेको एक लालमोहरमा सुरुमै सेरेङहरुको प्रसङ्ग परेको छ । त्यहाँ सेरेङहरुलाई ‘लिम्बु श्रृंग्या’ भनिएको छ ।

    लिम्बुवानतिरबाट ती सैन्य अधिकारीहरुले सेरेङका सुब्बा गोरखालीहरुसँग मिल्न आएको भाका यस लालमोहरमा परेको छ ।

    विक्रम सम्वत १८३१ आश्विन बदी १० मा लेखिएको लालमोहरको पूर्ण भाका यस्तो छः
    स्वस्ति श्री गिरिराजचक्रचुडामणि नरनारायणेत्यादि विविध विरुदावलि विराजमान मानोन्नत श्री मन्महाराजाधिराज श्री श्री श्री महाराज पृथ्वीनारायण साहबादुर शम्शेर जङ्ग देवानाम् सदा समर विजयिनाम्

    स्वस्ति श्री राजभारा सामर्थ श्री अभिमानसिंह, पारथ भण्डारी कीर्तसिंह खवास बली बानियाके आशिषपूर्वक पत्रमिदम यहा कुशल तहा कुशल चाहिये आगे यहाको समाचार भलो छ ।

    उप्रान्त पत्र आयो अर्थ मालुम भयो …लिम्बु श्रृंग्याका सुब्बाले मान्न आयाको सबै विस्तार बिन्ती गरी पठाया छौ विधि विस्ता सुन्यौ… इस लिम्बा च्यांगथापु लिंदा सुषिम चम्की गयो… घा तोडी हाल्यौ त आषिर तेतिमा पनि तटकी गया त मध्येस छोडन्या होइन हिन्दूपतिको साथ तिष्टासम्म चाडै गरी हालन्या हो यो काज बुझ्नु चाहिं पर्याको छ…..उप्रान्त बुधीकर्नको हाती राम्रो छ अरे हाती माहुतलाई लाएर वहाँको माहुत कमाइ कन सय ४।५ रुपया कबोलिकन सो हाती चोरी ल्याउन पठाउन्या हो माहुतले चोरी ल्याउ भन्या त केही बेर छैन यी माहुतका कुल कविला त हाम्रै देशका हुनन् केही कबोली षातीरजामा दिकन पनि त्यो काम गर । उप्रान्त त्यस देशका बुधीकर्न राईलाई पायापछि कल मरी जान्या थियो पायियन केही जुक्तिले केही सिपाही कमायेर हजार बारह सय कबोली सर्सिरोपाउ कबोली हुन्या भया तेस्लाई मराउन्या हो तेसो भयापछि कल सबै मरी जान्छ त्यो काम खामखा गराउ …..सुषीमका पुराना देशमा गया माथि लासासँग विग्रन जाला तसर्थ उपल्ला मुखतिर लासाका देशमा चार अंगुल पनि साघु चाप्नु छैन…..विषेशु सम्वत १८३१ साल आश्विन बदी १० मोकाम कान्तिपुर शुभम्

    यो लालमोहरमा गोरखाली सैन्य अधिकारीहरुले राजा पृथ्वीनारायण शाहलाई सेरेङहरु आफूहरुसँग मिल्न आएको भनी जानकारी गराएका भए पनि उनीहरु पछिसम्म गोरखालीहरुसँग नमिलेको र गोरखालीहरुका लागि खतरनाक समूह भइबसेको झल्को आउने अरु पत्रहरु पनि उपलब्ध छन् ।

    इतिहासकार दिनेशराज पन्तले ‘पूर्णिमा’को पूर्णाङ्क ५८ (चैत २०४०ः३०–४४) मा ‘श्री ५ रणबहादुर शाहका नौ वटा अप्रकाशित लालमोहर’ शीर्षकमा प्रकाशित ऐतिहासिक पत्रहरुमध्ये तीन वटामा सेरेङहरुको प्रसङ्ग परेको छ । एउटा प्रसङ्ग माथि उल्लेख गरिसकिएको छ ।

    रणबहादुर शाहले विजयपुरमा रहेर गोरखालीहरुको प्रशासन चलाइरहेका सुब्बा योगनारायण (कतै जोगनारायण) मल्ललाई लेखेको पत्रमध्ये पृष्ठ ४१मा छापिएको एउटा पत्रमा लिम्बू साँवा र सेरेङहरुले गोरखाली गुहारेको कुरा गोरखाली प्रशासककातर्फबाट राजासमक्ष पुगेको बुझिन्छ । पत्रमा “सांभा र सिरिंले फेदावबाट पनि गुहार मागी पठायो । सुब्बा २/३ हामीतिर भयाका छन् । प्रजा भोट्यातिर छन् भनी लेखेछौ । योग्यै हो…” उल्लेख छ । त्यो बेला भोटबाट पनि बेलाबेलामा लिम्बुवानतिर दुःख दिइन्थ्यो । त्यस्तो बेला सेरेङ र साँवाहरुले गोरखालीहरुसँग सहयोग मागेका थिए भन्ने बुझिन्छ ।

    तर गोरखालीहरुले सेरेङहरुलाई तत्कालै विश्वासमा लिन नसकेका र बरु उनीहरु आफूहरुका लागि खतरनाक समूहका छन् भन्ने भय गोरखालीहरुले पालिराखेका बुझिन्छ, अर्को पत्र पढ्दा । त्यो समय सेन राज्य फर्काउने उद्योगमा विस्थापित मकवानी राजघराना भारतमा रहेर अँग्रेजहरुसँग सरसल्लाह गरिरहेका थिए । विस्थापित सेन राजघरानालाई पूर्वतिरबाट गोरखालीका लागि खतरनाक थिए । भारततिर पलायन भएका भूतपूर्व गोरखाली काजी स्वरुपसिंह कार्की पनि सेनराज्य फिर्ता गराउने उद्योगमा थिए । कार्की पहिले चौदण्डीका काजी थिए । उनलाई दक्षिणतिरबाट खतरनाक मानिएको छ । यस्तै सेरेङहरु चाहिँ उत्तरतिरबाट आफूहरुका लागि खतरनाक भएको महसुस गोरखालीहरुलाई भएको झल्को एउटा अर्को पत्रबाट मिल्छ । सेरेङहरुले गोरखालीसँग गुहार मागेको पत्रपछिको क्रममा राखिएको यो पत्र सम्भवत अघिल्लो पत्रभन्दा पछि नै लेखिएको हुन सक्छ । पत्र अपूर्ण भएकोले मिति खुलेको छैन । पृष्ठ ४३–४४मा प्रकाशित पत्रमा सेरेङको प्रसङ्ग यस्तो छः
    “…मकवानी साहेव पनि यहाँबाट भागेर मुगलानमा हांगामा गर्न लागि रहेछ पूर्वतिर पनि उत्तर भन्या लिंवु श्रृंग्या दषिन नी सरुप छदैछन्…।”

    यसबाट सेरेङहरु कहिले आफूहरुसँग मिल्ने र कहिले फुट्ने गरेकाले गोरखालीहरुको टाउको दुखाईको समूहका रुपमा लामो समय टिकिरहेको देखिन्छ ।

    अघिल्ला पत्रहरुको मिति खुले पनि सेरेङहरुको प्रसङ्ग परेका ती पत्रमा मिति खुल्दैनन् । अघिल्ला पत्रहरु १८३४ देखि १८३७ सम्ममा लेखिएको देखिन्छ । त्यसैले सेरेङहरुको प्रसङ्ग परेको पत्र १८३७÷३८ सालको हुन सक्छ ।

    १८३९ तिर मात्र सेरेङहरु गोरखालीहरुसँग मिले । यसको अगुवाई सेरेङका सुब्बा रैनसिंह रायले गरे । रणबहादुर शाहले उनलाई सम्बोधन गरेको लालमोहर शिवकुमार श्रेष्ठको लिम्बुवानको ऐतिहासिक अध्ययन (२०६८ः११७)मा पढ्न पाइन्छ । यो पत्रमा रैनसिंहलाई हतियार लिन आउन राजधानी बोलाइएको छ । श्रेष्ठ (२०६८ः११८) अनुसार रैनसिंह सेरेङले राजधानी पुगेर १८४० जेष्ठ सुदी १२ रोज १ मा ती सय खुँडा, ३२ नाल बन्दुक र दुई सय २८ थान धनुकाँड रणबहादुर शाहबाट बुझे ।

    ब्राइन हज्सन्को कागजपत्र संग्रहको खण्ड ६०को पत्र १२९–१४९ अनुसार लिम्बुहरुमध्ये ‘संपृति’ समूह अर्थात् गोरखालीको नीति मान्ने समूहमा राखिएक छन्, सेरेङहरुलाई । सम्भवतः लिम्बुहरुमा ‘संपृति’ अर्थात् गोरखालीको नीति मान्ने र अर्को ‘नीति’ अर्थात् आफ्नै नीतिमा चल्ने लिम्बूहरुको समूह १८४०का दशकबाट खडा भयो ।

  • कमेन्ट गर्नुहोस्