• मणिपुरबाट एक सय ७९ नेपालीको उद्धार

  • भद्रपुर, फागुन ७ : मानव बेचबिखनको जोखिममा परेका एक सय ७९ नेपालीलाई माइती नेपालको पहलमा भारतको मणिपुरबाट उद्धार गरेर नेपाल फर्काइँदै छ ।

    नेपालको विभिन्न जिल्लाबाट अवैध रुपमा इराक र संयुक्त राज्य इमिरेट्स (युएई) लैजाने क्रममा मानव बेचबिखनमा संलग्न दलालले उनीहरूलाई एक महिनाअघि भारतको उत्तरपूर्वी राज्य मणिपुरको राजधानी इम्फाल पुर्‍याएका थिए । मणिपुरबाट म्यान्मार हुँदै खाडी मुलुक लैजाने तयारी गरिरहेकै अवस्थामा माइती नेपालको टोलीले भारतीय प्रहरीसँग सहयोग लिएर ती नेपालीलाई उद्धार गरेको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले जानकारी दिए ।

    उद्धार गरिएकामा एक सय ४७ जना महिला र ३२ जना पुरूष छन् । उद्धार गरिएका व्यक्तिलाई पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल ल्याइने झापाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहालले बताए । उनीहरूलाई सोमबार मणिपुरबाट आसामको गुवाहाटी ल्याइएको र आजसम्म पूर्वीनाका काँकडभिट्टा ल्याइपुर्‍याउने उनले जानकारी दिए । प्रजिअ दाहालका अनुसार काँकडभिट्टा ल्याइपुर्‍याएलगत्तै ६ ओटा बसमा राखेर उनीहरूलाई आजै काठमाडौँस्थित माइती नेपालको पुनर्स्थापना गृहमा पठाउने तयारी गरिएको छ । माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले उद्धार गरिएकामध्ये कतिपय बिरामी भएका कारण बाटैमा उपचार गर्नु परेकाले नेपाल ल्याउन केही ढिलाइ भएको बताए । उद्धारमा भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावास, भारतीय महिला आयोग, मणिपुर प्रहरी र स्थानीय गैरसरकारी संस्थाले सहयोग गरेको माइती नेपालले जनाएको छ ।

  • कमेन्ट गर्नुहोस्