• चाम्लिङ राईको वंशावली सार्वजनिक

  • खोटाङ, फागुन ७ : देशविदेशमा छरिएर रहेका चाम्लिङ राई (राखमीहँछा) ले आफ्नो वंशावली तयार गरेका छन् । लामो समयदेखि वंशावली खोज तथा निर्माण कार्यमा जुटेको किरात राई चाम्लिङ (राखमीहँछा) वंशावली प्रकाशन समितिले खोटाङको नुनथलामा आफ्नो वंशावली लोकार्पण गर्दै खुशियाली मनाएका छन् ।

    दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित खाम्लालाई ऐतिहासिक तथा उद्गम थलो मान्ने राखमीहँछा पाछाका चाम्लिङ राईले २०४० सालदेखि लिखित दस्तावेज सङ्कलन गर्दै २०६९ साल भदौ ८ देखि औपचारिक रुपमा वंशावली खोज तथा निर्माण सुरू गरेको थियो । लामो समयको मिहिनेतपछि निर्माण तथा प्रकाशन गरेको वंशावलीलाई नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणदेवी राई लगायतले लोकार्पण गरे ।

    कार्यक्रममा हङकङ, बेलायत, भारत तथा देशका विभिन्न जिल्लामा रहेका राखमीहँछा पाछा सामेल भएको गीतकार तथा साहित्यकार टीका चाम्लिङले बताए । कार्यक्रममा भारतको नक्सलबारी, दाराबु, सिक्किम तथा कैलालीको धनगढी, मोरङ, सुनसरी, सङ्खुवासभा, झापा, उदयपुर लगायतबाट राखमीहँछा पाछाका चाम्लिङ राई सहभागी थिए ।

    करिब चार सय वर्षअघि नै आफ्ना पुर्खाले छाडेको भूमिमा रहेको वंशलाई भेट्न पाउँदा खुशी लागेको जिल्लाबाहिरका सहभागीले प्रतिक्रिया दिए । सुरूमा स्थानीयवासी रोजबहादुर राईको सक्रियतामा चासो दिन थालिएको वंशावली निर्माण कार्यलाई औपचारिक रूपमा भने बेलायतलाई कर्मथलो बनाएका नुनथला, खाम्लाकै चन्द्रबहादुर राईको नेतृत्वमा अगाडि बढाइएको थियो । प्रकाशित राखमीहँछा पाछाको वंशावलीमा करीब पाँच सय वर्षको इतिहास भेटिएको छ । वंशावली खोज तथा प्रकाशनले करिब साढे चार सय वर्षअघि छुटेका वंशको पुनर्मिलन भएको वडाध्यक्षसमेत रहेका सोही वंशका भीम राईले बताए । कार्यक्रममा वंशावली निर्माण अभियानकर्मी देशविदेशमा रहेका वंशका व्यक्ति, नुनथलावासी स्थानीय, छोरीचेलीलगायतको जमघट थियो । हतलुङ नामको पुर्खा नै आफ्नो वंशको पहिलो सन्तान मान्ने उक्त पाछाको वंशावलीमा करिब साढे तीन हजार सन्तानको नाम उल्लेख छ । चाम्लिङभाषी किरात राईको मौलिक परम्परानुसार आयोजना गरिएको कार्यक्रममा साकेला सिली प्रदर्शन गरिएको थियो । वंशावली निर्माण समितिले लोकार्पणकै दिन पाँच जना व्यक्तिलाई सम्मान गरेको छ ।

  • कमेन्ट गर्नुहोस्