• नेकपा बैठक : कार्यदलको सुझावमाथि छलफल

  • काठमाडौं, फागुन ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकिकरणका लागि गठित कार्यदलले सुझाव पेश गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय र कार्यदलको संयुक्त बैठकमा साङ्गठनिक एकताका लागि गठित कार्यदलका संयोजक रामबहादुर थापाले अहिलेसम्म गरिएका कामको प्रतिवेदनसहित सुझाव पेश गरिएको जानकारी दिए ।

    उनका अनुसार बैठकमा सबै सदस्यले अहिलेसम्म गरेका काम, समस्या, आजको आवश्यकता तथा सदस्यले आफ्नो प्रतिवेदनका सम्बन्धमा आ–आफ्ना विचार राखेका थिए । गत पुस १२ गते सम्पन्न स्थायी कमिटीको बैठकले सचिवालय सदस्य थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको थियो । प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदलले दिएको सुझावमाथि छलफल सुरू गरिएको बताए ।

    यसैगरी बैठकमा कार्यदलले पूर्ण प्रतिवेदन बुझाउनका लागि थप एक हप्ता समयमा माग गरेको छ । कार्यदलका सदस्य योगेश भट्टराईले पार्टी एकता ढिलाइ भइरहेकाले छिटो सम्पन्न गर्नका लागि एक हप्ताको समय माग गरेको बताए ।

    “हामीले विभिन्न कारणले प्रतिवेदन दिन सकेनौँ”, उनले भने, “अब एक हप्ताको समय हामी सबैले माग गरेका छौँ । एक हप्ताको समयभित्र हामीलाई दिइएका सबै काम जिम्मेवारीपूर्वक सम्पन्न गरेर सचिवालयलाई प्रतिवेदन बुझाउँछौं ।” सचिवालयको अर्को बैठक शुक्रबार बस्ने भएको छ ।

    गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेकपा गठन भएपछि सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र प्रदेश समिति गठन भए पनि जिल्ला तथा जनवर्गीय सङ्गठनको एकता हुनसकेको छैन ।  स्थायी समितिले कार्यदल नै गठन गरेर साङ्गठनिक एकता टुङ्गो लगाउने बताए पनि कार्यदलमा सबै विषयमा सहमति हुन नसक्दा एकता प्रक्रिया लम्बिँदै गइरहेको छ ।

  • कमेन्ट गर्नुहोस्