प्रा. माइकल हट नेपालमा
काठमाडौं, फागुन ९ : एसओएएस युनिभर्सिटी अफ लण्डनका प्राध्यापक माइकल हट नेपाल आउन थालेको ४० वर्ष भयो । नेपाली तथा हिमाली अध्ययन विषयका प्रा. हट राम्रो नेपाली बोल्छन् ।
प्रा. हटले स्कूल अफ ओरियण्टल एण्ड अफ्रिकन स्टडीज (एसओएएस) बाट ‘नेपाली भाषा र यसको साहित्य’मा विद्यावारिधि गरेका छन् । उनी आधुनिक र समसामयिक नेपाली साहित्य, नेपाली डायस्पोरा, मिडिया, कला र साहित्य, भुटानी शरणार्थी आदि विषयमा रूचि राख्ने र कलम चलाउने गर्छन् । उनले ‘लाइफ अफ भूपी शेरचन, पोएट्री एण्ड पोलिटिक्स इन पोष्ट–राणा नेपाल’, ‘नेपाल इन नाइनटीज’ जस्ता कृति लेखेका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य ‘मुनामदन’, लीलबहादुर क्षत्रीको ‘बसाइँ’ उपन्यास आदि अंग्रेजीमा अनुवाद गरेका छन् ।
उनी अहिले ‘पृथ्वीको हिंसात्मक शासनपछि : प्राकृतिक प्रकोपको मूर्त अमूर्त विरासत’ शीर्षक परियोजनामा काम गरिरहेका छन् । परियोजनामा उनीसँगै योगेशराज मिश्र, जीवन बानियाँ (नेपाल), मार्क लिच्टी (अमेरिका), जोन ह्वेलप्टन (बेलायत) र स्टेफ्यानी लोटोर (जर्मनी) संलग्न छन् । तीन वर्षको यो परियोजना अर्को वर्ष सकिँदैछ । “यसमा भूकम्पले नेपाली संस्कृति, सम्पदा, पुनःनिर्माण, संरक्षण, समाज र राजनीतिक प्रक्रियामा पारेको असरबारे अध्ययन हुनेछ ”, उनले भने ।
उनी भूकम्पको केन्द्रविन्दु गोरखाको ‘बारपाक’ पनि जानेछन् । उनले भूकम्प सम्बन्धी सिङ्गो काव्य कृति र छ–सात वटा साहित्यिक पत्रिकाका भूकम्प विशेषाङ्क पनि सङ्कलन गरिरहेका छन् । भूकम्प सम्बन्धी करिब तीन सय ओटा कविता पढिसकेका प्रा. हटले ती कवितामा खासगरी मानिसका दुःख, ग्लानि, क्रोध, समानता, सङ्कल्प, आशाजस्ता विषयवस्तु पाइएको बताए ।
दश पन्ध्र वर्षका बीचमा नेपाली साहित्यका पाठक निकै बढ्नु र पत्रकारहरूले पनि साहित्य सिर्जना गर्न थाल्नु परिवर्तनका मुख्य विषय हुनसक्ने उनको बुझाइ छ । नेपाली पाठकहरू संसारभर रहेको उनको मान्यता छ । अहिले महिला, जनजाति र दलित समुदायबाट आएकाहरूले पहिलेको तुलनामा धेरै लेख्न थालेको उनी बताउँछन् । “लेखक र पाठक दुवैमा समावेशीकरण भएको छ”, उनी भन्छन् ।
हाल नेपाली साहित्यको अनुसन्धानमा व्यस्त प्रा. हटले बुद्धिसागरको चर्चित उपन्यास कर्णाली ब्ल्युज अनुवाद गरिरहेका छन् । भूकम्पसम्बन्धी उनका केही कविता प्रकाशनोन्मुख छ । पाठकको मुटु छुने क्षमता नेपाली लेखकमा भए पनि धेरैजसो नेपाली लेखकले नेपाल बाहिर चर्चा पाउन नसकेको उनी स्वीकार्छन् ।
सन् १९९० मा मायालु, दयालु र कलात्मक जीवन बिताएको मध्यम वर्गले सामाजिक–राजनीतिक जटिलता भोगेको कथा बोकेको श्रद्धा घलेको ‘द वेवार्ड डटरः अ स्टोरी अफ काठमाडौं’ (प्रकाशक स्पिकिङ टाइगर, सन् २०१८) निकै राम्रो भएको उनले टिप्पणी गरे ।
“अनुवाद भएमा निकै कृति चर्चित हुने सम्भावना छ”, उनले भने ।