रत्नकुमार बान्तवाको भाइलाई ज्याकेट दिन जाँदा
एउटा पाटे ज्याकेट थियो, मेरा दाजु डम्बरले लगाउने गरेको । पाटे ज्याकेट अर्थात्, कम्ब्याट ज्याकेट । त्यही ज्याकेट लगाएर उनले माध्यमिक तहको विद्यार्थी जीवनमा एउटा नाटक पनि खेलेका थिए । ‘तुँवालोले ढाकिएको बस्ती’ नामको त्यो नाटकको निर्देशक अशेष मल्ल हुनुहुन्थ्यो भन्ने पनि मैले दाजुबाटै सुनेको हुँ । उनले खेलेको नाटकको फोटो मात्र देखेको हुँ, नाटक हेरेको चाहिँ होइन ।
दाजुको नाटकप्रतिको अभिष्ट अलि पछिसम्म पनि कायम थियो । उनले उनका साथी सी.एम.श्रेष्ठ (चिरञ्जिवीमान श्रेष्ठ)को सहयोगमा ‘अक्षलोक’ पत्रिकामा एउटा नाटक पनि छपाए । सी.एम. चाहिँ डा. महेश्वरमान श्रेष्ठका भतिजा हुन् । उनी हाम्रो घरमा आइरहन्थे । पछि नाटककार डम्बरको केही नाटकहरु मञ्चित भएको पनि सुनेँ ।
डम्बरले ०३५÷३६ देखि बामपन्थी आन्दोलनको डोरो समाते । हाम्रो दुई वटा घरमध्ये एउटालाई उनैले तत्कालिन भूमिगत मालेको अखडा बनाए । त्यो घरमा आउँथे, कोही खुला कोही भूमिगत रुपमा । त्यो बेलाको मूल बाटोको घर भएकोले बास बस्न आउने पाहुनाहरु हाम्रो घरमा गनेर साध्यै नहुने । घरको पाहुनाको यस्तो जमघट भएपछि बुवाले अर्को घर बनाउनु भएको रे ! त्यो घरलाई हामी ‘नयाँ घर’ भन्थ्यौँ । हुँदाहुँदै त्यहाँ नयाँ सपना देख्नेहरु आउन थाले । उनीहरु गाउँथे,
रोक्ने को हो दूरदर्शी विचारका धारा
को हो नयाँ नेपालको बोक्ने अभिभारा…
त्यो घरमा एउटा सानो पुस्तकालय पनि थियो, धेरै जसो त राता गाता भएका किताबहरु थिए ।
त्यो बेला गिटार समातेर रेख ब्लोन लगायतका दाजुहरु गाउनुहुन्थ्यो । सारङ्गीमा डम्बरकै रुची देखिन्थ्यो अनि प्रायः उदघोषण चाहिँ जीवप्रसाद पोखरेलले गर्नुहुन्थ्यो ।
त्यो बेला हाम्रा दाजुहरुमा माओ त्से तुङको प्रभाव निक्कै ठूलो थियो । सम्भवतः मनमा पनि लालसेना हुने इच्छाको विजारोपण भएको हुँदो हो । उनीहरुले पनि कक्षा २ मा पढिरहेको मलाई चिनियाँ क्रान्तिमा बलिदान हुने बालसेना ल्यूहु लानको कथा सुनाए । एउटा लाहुरेको छोरो मलाई पनि कता कता बालसेना पनि हुने रहरले छुन्थ्यो । त्यसैले मेरो दाजु डम्बरले लगाउने गरेको कम्ब्याट ज्याकेटले मेरो आँखा आकर्षित गथ्र्यो ।
पछि त्यो ज्याकेट उनकै साथी लोकमान शाक्यले लगाएको देख्न थाल्यौँ । हामीलाई लाग्थ्यो, उनले हाम्रो दाजुको ज्याकेट लगाउन थाले । हामीले यस्तो पनि सोच्यौँ, उनले हाम्रा दाजुको ज्याकेट फर्काएनन् र आफै लगाउन थाले । तर डम्बरमा त्यो ज्याकेट साथीलाई दिएकोमा कहिल्यै पनि दम्भ देखिएन, न देखियो लोकमान दाइ आँखामा कुनै हीनतावोध ।
आहा, कस्तो न्यानो वर्गीय प्रेम !
त्यो क्याप
सजिलो गरी बुझ्नको लागि सन क्याप भन्दा हुन्छ । मलाई पनि यस्तो क्याप लगाउन खुब रहर लाग्ने । कहाँबाट फेला पारे थाहा छैन, तर लोकमान दाइको एक जना भाइ राजुले लगाउने गरेको क्यापले चाहिँ मलाई साह्रै ठूलो घतले आकर्षित गयो । त्यो क्याप थियो, माओले लगाउने बान्कीको हरियो रङको । ओहो, त्यस्तै क्याप लगाउन पाए कस्तो हुन्थ्यो होला ? अनेकौं कल्पना गर्दागर्दै म ल्यूहु लानको बलिदानको सम्झना गर्न पुग्थेँ ।
तर मैले मलाई त्यस्तै क्याप चाहियो वा किनिदिनु पर्यो भनेर न्यून आयस्रोत भएको आफ्ना अभिभावक समक्ष कहिल्यै पनि घुर्कीयुक्त माग तेस्र्याइनँ । केवल राजुले सगौरव लगाउने गरेको त्यो माओ क्याप हेर्थेँ र चित्त बुझाउँथे ।
तर एक दिन मैले पनि एउटा गौरवपूर्ण क्याप मेरो शीरमा पहिरिने अवसर प्राप्त गरेँ ।
‘यो लगा आजबाट ।’ दाजु डम्बरको हातबाट उपहारको रुपमा आयो ।
क्याप रहेछ । फिका आकासे रङको सुति कपडाको त्यो क्यापको अगाडी रातो रङले छापिएको अक्षर र एउटा चिन्ह पनि थियो । मलाई स्पष्ट थाहा छ, त्यो क्याप अनेरास्ववियूको पाँचौँ राष्ट्रिय सम्मेलनमा वितरण गरिएको थियो । त्यहाँ अनेरास्ववियूको झन्डा पनि छापिएको थियो । मैले चाहिँ माओकै जस्तो हरियो क्याप लगाउने धोको त्यहीँ क्यापले पूरा गरिरहेको थिएँ ।
मैले यो क्याप कक्षा ३ देखि कक्षा ५ पढ्दासम्म लगाएँ । मेरोजस्तै क्याप लगाएर रमेश लुइटेल बजारतिरको स्कूल पढ्न झरिरहेको देख्थेँ ।
यहीँ क्याप लगाएर बिहिबारे हाट डुलिरहेको बेला एक दिन छिमेकी दाइ प्रकाश श्रेष्ठले मलाई सम्झाए, ‘ओई, यस्तो क्याप लगाएर नहिड् पुलिसले समातेर लैजाला नि !’
म बालकले सोचेँ, ‘पुलिसले त चोरडाकालाई पो लैजान्छ त, म न चोर हुँ, न डाका ! क्याप लगाउँदा पनि चोरडाका होइन्छ ।’
त्यो क्याप दुई वर्षसम्म लगाएँ, नफाटुन्जेल । त्यो क्याप फाटेर माटोमा मिलिसक्यो, तर त्यसको सुमधुर सम्झना मनभरि मग्मगाइरहेछ, अहिले पनि ।
ज्याकेट अनि नाङ्गो खुकुरी
रत्नकुमार बान्तवाले शहादत प्राप्त गरेपछि उनका एक जना भाइ भूमिगत रुपमा धनकुटा र त्यसमा पनि खोकु–छिन्ताङ आए । त्यतैको एक जना कमरेडसँग उनको विवाह भयो । खोकु–छिन्ताङतिरबाट खबर आएछ, ‘जाडोको समय छ, एक जना कमरेडको लागि तुरुन्तै एउटा ज्याकेटको व्यवस्था हुनुपर्यो ।’
कता कताबाट एउटा सकेन्ड हेन्ड ज्याकेटको व्यवस्था भयो । पु¥याउन जाने जिम्मा दिने कसलाई ? उनै लोकमान दाइ तयार हुनुभयो, ज्याकेट पु¥याउन जानेमा । भर्खरै छिन्ताङ काण्ड घटेको छ । इलामबाट कडा वारेन्ट काटिएपछि भूमिगत भइ आएका कमरेडलाई सामाग्री हस्तान्तरण गर्नुछ ।
त्यसका लागि रातको समय रोजियो । फेरि जासुसहरुको चलखेल सानो छैन । बडो होशियारी अपाउँदै खोकु–छिन्ताङ क्षेत्रका नवआगन्तुक कमरेडका लागि ज्याकेट लिएर जान रातको समय रोज्नुभयो, लोकमान दाइले ।
अहिले पनि त्यो बेला त्यो स्वप्निल क्षितिजको सपना देख्नु हुने लोकमान दाइ भन्नुहुन्छ, ‘त्यो ज्याकेट पु¥याउँन जाँदा एउटा हातमा ज्याकेट थियो, अर्को हातमा नाङ्गो खुकुरी । शत्रुले आक्रमण गरिहाल्यो भने हान्न तयार ।’
ज्याकेटको माग गर्ने चाहिँ कृष्ण राई हुनुहुन्थ्यो । अहिले हाम्रै छिमेकी हुनुहुन्छ । साविकको धनकुटा नगरपालिका वडा नम्बर २ को उहाँ एकपटक वडाध्यक्षमा निर्वाचित पनि हुनुभयो ।