• दक्षिण कोरिया : महिला कामदारलाई सबैभन्दा कम ज्याला दिने मुलुक

  • सोल, दक्षिण कोरिया, फागुन १३ : महिला कामदारलाई कम ज्याला दिने मुलकमध्ये दक्षिण कोरिया अग्रस्थानमा रहेको छ । अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओइसिडी) ले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो जनाइएको छ ।

    सन् २०१७ को तथ्याङ्क अनुसार दक्षिण कोरियाका ३५.५ प्रतिशत महिला कामदारले मापदण्डभन्दा कम ज्याला भूक्तानी पाउने गरेका पाइएको छ ।

    ओइसिडी राष्ट्रका कामदारको औसत आम्दानीभन्दा दुई तिहाइ कमी ज्याला भूक्तानी पाउने श्रमिकको आम्दानीलाई न्युनतम आम्दानी भएको मानिन्छ ।

    ओइसिडीमा ३६ सदस्य राष्ट्रहरू छन् । आर्थिक हिसाबले समृद्ध मानिने आठ मुलुकमध्ये दक्षिण कोरिया सबैभन्दा अग्रस्थानमा रहेको छ । दुई नम्बरमा रहेको अमेरिकामा २९.०७ प्रतिशत महिलाको आम्दानी मापदण्डभन्दा कम रहेको पाइएको छ ।

    सर्वेक्षणले सन् २०१६ मा २३ देशको तथ्याङ्क तुलना गरेको थियो । उक्त वर्ष ३७.२ प्रतिशत महिलाको आम्दानी मापदण्डभन्दा कम रहेको पाइयो । सन् २०१६ मा इजरायल ३०.४२ प्रतिशतसहित दोस्रो कम ज्याला भूक्तानी गर्ने स्थानमा रहेको थियो ।

    सन् २०१७ मा ओइसिडी राष्ट्रका लागि औषत ज्याला भूक्तानी प्रतिशत दर २०.०१ प्रतिशत रहेको थियो ।

    महिलालाई निम्न ज्याला दिने मुलुकको अग्रस्थानमा नाम आए पनि दक्षिण कोरियाले आफ्नै पूराना रेकर्डलाई भने सुधार गरेको छ । सन् २००० मा यो दर ४५.७७ थियो भने २०११ मा ३८.२१ रहेको थियो । तर सन् २०१४ पछि महिलालाई दिइने ज्यालादरमा क्रमशः वृद्धि भएको छ ।

    दक्षिण कोरियामा पुरूष कामदारलाई दिइने ज्याला भने सन् २०१७ मा औषतको नजिक रहेको देखिएको तथ्याङ्कमा छ ।

    कम ज्याला पाउने पुरूष १४.३ प्रतिशत रहेको र आठ मुलुकमध्ये पाँचौँमा परेको छ । यो दर सन् २०१६ मा १५.३ प्रतिशत रहेको र मापन गरिएका २४ मुलुकमध्ये नवौँमा परेको थियो ।

  • कमेन्ट गर्नुहोस्