• धिप्लुङ झरनाको प्रवर्द्धन गर्न स्तरोन्नतीको काम

  • खोटाङ‚ फागुन १५ : दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीमा रहेको धिप्लुङ झरना एक सय ७६ मिटर अग्लो छ । बाह्रै महिना एकनासले स्वच्छ र सफा पानी झर्ने धिप्लुङ झरना जिल्लाकै अग्लो झरना हो । पर्यटकीय क्षेत्रको अथाह सम्भावना बोकेको धिप्लुङ झरनाको दृश्यले जोकोहीको मन लोभ्याउँछ । झरना पुग्ने आन्तरिक तथा बाह्य पर्यटक झरनाको आवाज सुन्दै सोही झरनामा खेल्न, स्नान गर्न र सेल्फी खिच्न तम्सिन्छन् ।

    प्राकृतिकरूपले सुसज्जित झरना जिल्लाका विभिन्न ठाउँबाट पनि सजिलै देख्न सकिन्छ । चारैतिर हरियो जङ्गलले घेरिएको खुला ठाउँमा रहेको उक्त झरना टाढैबाट छर्लङ्ग दूधजस्तै सेतो देखिन्छ । लालीगुराँस, चिमाल, चाँप, सुनाखरीलगायतका फूल फुलेर ढकमक्क र सुगन्धित हुने धिप्लुङ झरनामा वनभोज जानेको घुइँचो लाग्छ । शीतल हावा चल्ने झरनामा वसन्त ऋतु लागेसँगै प्रेमी-प्रेमिकाहरू घुम्न जान्छन् ।

    गाउँघरबाट एकान्त घनाजङ्गलको बीचमा रहेको विशाल चट्टानको बीचबाट झर्ने झरना नजिकै वनझाँक्री गुफा रहेको छ । परापूर्वकालदेखि वनझाँक्री बास बस्ने गरेको भनिने उक्त गुफामा स्थानीयले पूजाअर्चना गर्छन् । झरना आसपास रहेको जङ्गलमा घोरल, मृग, दुम्सीलगायतका जङ्गली जनावर तथा कालिज, प्युरा, ढुकुरजस्ता पक्षीहरू प्रशस्तै देख्न पाइन्छ । जिल्लाको कमै वन क्षेत्रमा मात्र पाइने घोरल संरक्षण गर्न उक्त क्षेत्रको जङ्गललाई घोरल संरक्षित क्षेत्र बनाउने गाउँपालिकाको योजना छ ।

    पछिल्लो समय दैनिक आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएपछि झरनाको स्तरोन्नती गर्न पहल थालिएको छ । यसका लागि गाउँपालिकाले दुई आर्थिक वर्षमा गरी ४५ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।  प्रचारप्रसारको अभावमा ओझेलमा परेको झरनाको स्तरोन्नती गरेर पर्यटन प्रवद्र्धन गर्न बजेट विनियोजन गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए ।

    “धिप्लुङ झरना प्राकृतिकरूपले भरिपूर्ण छ”, उनले भने, “झरनाको मनोरम दृश्यावलोकन गर्न मिल्नेगरी पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरेर काम थालिएको छ ।”

    गाउँपालिकाबाट विनियोजित बजेटले छितापोखरीदेखि झरनासम्म फलामे रेलिङसहितको पदमार्ग निर्माण गर्ने काम भइरहेको छ । पदमार्गको विभिन्न ठाउँमा वर्षातको पानीमा ओत लाग्न तथा घाम लागेको समयमा शीतलमा बस्न स्टिल ट्रष्टसमेत निर्माण गरिने निर्माण उपभोक्ता समितिका अध्यक्ष रमा तामाङले बताइन् ।

    साकेला गाउँपालिकाको मात्तिम र खिदिमा तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको टेम्मा र छितापोखरीको सिमानामा पर्ने उक्त झरनासम्म पुग्न सडकसमेत निर्माण गरिएको छ । भौगालिकरूपले विकट क्षेत्रमा रहेको धिप्लुङ झरना जोकोहीले सजिलै पुगेर अवलोकन गर्न सकुन् भन्ने उद्देश्यले सडक निर्माण गरिएको छ ।

    धिप्लुङ झरना पुग्न सडक यातायातको प्रयोग गरेर सदरमुकाम दिक्तेलबाट दिक्तेल–पञ्चमी, भोजपुरको पाँचधारे र गाईघाटबाट फोक्सिङटार हुँदै पञ्चमी सडक प्रयोग गर्न सकिन्छ । पैदल हिडें दिक्तेलबाट धिप्लुङ भरना पुग्न चार घण्टा लाग्छ । गाउँपालिकामा धिप्लुङ झरनासँगै आधा दर्जन बढी पर्यटकीय क्षेत्र रहेकाले सिङ्गो गाउँपालिकालाई नै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना बनाइएको छ । गाउँपालिकाको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न सकेमा जिल्लाकै आर्थिक उन्नतिमा सघाउ पुग्ने पर्यटन व्यवसायीको ठम्याइ छ ।

  • कमेन्ट गर्नुहोस्