प्राकृतिक कारणले गैंडा मर्दै
चितवन, फागुन १६ : सशस्त्र द्वन्द्वको समयमा चितवन राष्ट्रिय निकुञ्जका ३७ वटा गैंडा शिकारीले एकै वर्षमा मारेका थिए । संरक्षणका लागि सरकार र दातृ निकायले चासो दिएपछि झण्डै दुई वर्षयता शिकारीले गैंडा मार्न नसके पनि प्राकृतिक कारणले हालसम्मकै धेरै गैंडा मर्दा संरक्षणको क्षेत्रमा चासो र चिन्ता बढेको छ ।
निकुञ्जमा चालू आर्थिक वर्षमा हालसम्म ३२ वटा गैंडा प्राकृतिक कारणले मरेका छन् । गत आर्थिक वर्षभरिमा २५ वटा गैंडा प्राकृतिक कारणले मरेका थिए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार हालसम्मकै धेरै गैंडा प्राकृतिक कारणले मरेपछि यसको कारणको खोजी भइरहेको छ ।
विसं २०५८ मा एकै वर्ष ३७ गैंडा चोरीशिकार गर्नेले मारेका थिए । त्यसपछिका वर्षमा चोरीशिकार क्रमशः घट्दै नियन्त्रणमा आएको छ । गैंडाका भाले आपसमा जुध्ने, ढिस्कोबाट लडेर, गोहीले हानेर, बाघले खाएर, बच्चा पाउन नसकेर, दलदलमा फसेर, बिरामी र बूढो भएर कालगतिबाट हुने मृत्यु प्रमुख प्राकृतिक कारण हुन् ।
निकुञ्जका प्राविधिक पुरुषोत्तम पाण्डेका अनुसार मङ्गलबार मात्रै गैंडाका दुई बच्चा मरेका छन् । उनका अनुसार कुमरोजमा दुई हप्ताको भाले बच्चा गोहीले हानेर मारेको हो । फागुन ८ गते घाइते भएको बच्चा मङ्गलबार मरेको हो । यसैगरी निकुञ्जको खोरिया मुहानमा तीन वर्षको पोथी बच्चा गैंडाको भालेले हानेर मारेपछि मङ्गलबार नै शव परीक्षण गरिएको थियो ।
गैंडाको औसत आयु ६० वर्ष हुन्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले सङ्ख्या बढ्दै गएपछि प्राकृतिक कारणले मर्नेको सङ्ख्या पनि बढ्दै गएको बताए । अघिल्लो वर्षको बाढीले गैंडाको समूहलाई तितर बितर बनाएपछि प्राकृतिक कारणले धेरै गैंडा मरेको ढकाल बताउँछन ।
प्राकृतिक कारणले गैंडा मर्ने क्रम बढेपछि पर्यावरणविद्को संयोजकत्वमा निकुञ्ज विभागले कार्यदल बनाएर अनुसन्धान गरिरहेको छ ।
निकुञ्जको तथ्याङ्क अनुसार सन् २०१४ मा आठ, २०१५ मा १५, २०१६ मा १४ र सन् २०१७ मा २४ वटा गैंडा प्राकृतिक कारणले मरेका छन् ।
यसअघि चोरी–शिकारबाट सबैभन्दा बढी सन् २००२ मा ३६, सन् २००३ मा ३०, सन् २००५ मा १६ र सन् २००० मा १५ वटा गैंडा मारिएका थिए । २०७३ साल चैत २५ गतेपछि चोरी–शिकारबाट कुनै गैंडा मारिएका छैनन् । चोरी–शिकारबाट गैंडा नमरे पनि प्राकृतिक कारणबाट मर्ने सङ्ख्या बढेपछि चिन्ता बढेको हो । पछिल्लो गणना अनुसार निकुञ्जमा छ सय पाँच ओटा गैंडा छन् । यसै आर्थिक वर्षमा पनि गैंडाको गणना हुनेछ ।