• अलविदा, बालसखा !

  • धनकुटा नगरको वडा नम्बर ४को माथिल्लो भेगमा अवस्थित छन् लोकसेवा आयोग, जिल्ला शिक्षा कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय, क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र आदिका कार्यालय । स्वास्थ्य तालिम केन्द्रबाट थोरै मात्र मास्तिर पुग्दा त्यहाँको सडक ठूलो घुम्तीमा मोडिन्छ । त्यहीँ घुम्ती मास्तिरको मेरो घर हो, जहाँ म जन्मेर हुर्केँ ।

    २०४४ सालको हिउँदमा त्यहीँ घुम्तीले फेरो मार्ने घडेरीमा काठका खाँबोहरु गाँडिदै गरेको देखियो । केही पछि जस्तापाताबाट निर्माण गरिएको दुईतले घर देखा पर्यो । त्यो बेला त्यहाँ होटल नचलाइए पनि हामी टोलबासीले त्यो घरको नाम राखिदियौँ, ‘बाजे होटल’ । सरकारी कर्मचारी, शिक्षक यो घरमा पेइङ गेस्टका रुपमा खान्थे । पेइङ गेस्टलाई सौहार्द स्वागत हुन्थ्यो दाहाल परिवारबाट ।

    हामी केटाकेटी अवस्था कहिलेकाहिँ हिलेबजार पुग्दा एउटा साइन बोर्ड देख्थ्यौँ, ‘बाजे होटल’ । यहीँ होटलका सञ्चालक दाहाल बाजे हिले छाडेर हाम्रो टोलमा बसोबासका लागि सपरिवार आउनुभएको रहेछ । उहाँहरु त्यो बेला होटल व्यवसाय छाडेर कृषक जीवन बिताउँदै हुनुहुन्थ्यो ।

    दमक नगरमा रहेको खेतबारी रतुवा खोलाको उपद्रोले सोहरपटार पारेपछि दाहाल परिवार पुख्र्यौली पहाडी भूमी धनकुटामा उक्लियो र रोज्यो हिले बजारलाई । त्यहाँ केही वर्ष होटल व्यवसाय गरेर यो परिवार हाम्रो टोलमा आएर बसोबास गर्न थाल्यो । सुन्छु, अहिले रतुवा खोलाले धार फेरेपछि त्यसले बगाएको जग्गा फेरि कृषियोग्य भएको छ रे ! त्यहाँ पुगेर माल्दाइले खेतबारी सम्हाल्दै हुनुहुन्छ रे ! माल्दाइ अर्थात् पुष्पराज दाहाल ।

    जसरी रतुवा खोलाले धार परिवर्तन गरेपछि दाहाल परिवारको जग्गा कृषियोग्य भयो, उसैगरी कडा संघर्ष र मेहनतको प्रतिफल उक्त परिवारमा पनि पुरानो दिनतिर फर्कदै थियो । एउटा सानोतिनो साक्षी म छु, यो परिवार उचाईतिरको गन्तव्यमा लम्किरहेको छ ।

    तर अचानक, यहीँ परिवारको इज्जत उचाइमा पु¥याउँदै गइरहेका मध्ये एक सदस्य माथिमाथि उचाईमै पुगेर भौतिक रुपमा बिलिन भए । उनी अर्थात्, मेरा बालसखा युवराज दाहाल । एउटा पत्यारै गर्न नसकिने कठोर घटना !

    भातृत्व भाव

    हामी तल्लाघरे–माथ्लोघरे मात्रै भएनौं, एउटै सालको एसएलसी व्याच भएर पनि युवराजजीसँग मेरो भातृत्व घनिष्ट हुन पुग्यो । समवयी युवराजजीका दाजु मेरा दाजु हुनुभयो । उहाँका सबै दिदी मेरा दिदी हुन पुग्नुभयो । एक मात्र बहिनी जमुना मेरी बहिनी इन्दुसँगको निकटताका कारण झन बहिनी भइन् । उषा भान्जी, कृष्ण भाञ्जा भए । बुबा र आमालाई मैले गर्नुपर्ने सम्बोधन आफ्नो ठाउँमा छँदैछ ।

    एकातिर भातृत्व भाव, अर्कातिर वैचारिक सम्बन्ध । त्यसैले पनि सम्बन्धको डोरी बलियो र झन बलियो हुने नै भयो । २०४७ सालको परिवर्तनपछि अग्रजहरु आफ्नो ठाउँमा क्रियाशील हुनुहुन्थ्यो नै, तर धनकुटा नगरको वडा नम्बर ४ मा त्यसबेला र दुई–चार वर्ष युवराजजी र मैले नै तत्कालिन एमालेको कार्यकारी कमाण्ड सम्हालेका थियौं ।

    तर हामी दुवैको रुची र स्वभाव नेता बन्ने खालको थिएन, जिविकोपार्जनका लागि जागिर वा कुनै पेशा अपनाउनु पर्ने बाध्यता थियो । त्यहीँ फेरोले हामीलाई बाँध्यो र युवराजजी राष्ट्रसेवक कर्मचारी हुनु भयो, म श्रमजिवी पत्रकार ।

    अहिले त पत्रकारिता जीवनबाट पनि म विश्रामको अवस्थामा छु । तर युवराजजीले राष्ट्रसेवामा रहँदारहँदै एउटा अप्रिय घटनामार्फत् सधैँका लागि विश्राम लिनुभयो । यो घटना मेरो लागि सम्झिरहने, बिझाइरहने घटना हो ।

    नहुनुपर्ने हुन्छ, यहाँ । हुनुपर्ने हुँदैन, यहाँ ।

    जागिरे जीवनका उत्प्रेरक

    बाजे होटल परिवारका सदस्यहरु मैले पनि कतै जागिर खाएको देख्न चाहनुहुन्थ्यो । जागिर सख्त जरुरी थियो, मेरो लागि । ठूल्दाइ देवराजले कृषि विकास बैंकबाट जागिर सुरु गरिसक्नुभएकोले साहिँला युवराजजी पनि राष्ट्रसेवातिर होमिन जोडतोड गरिरहनु भएको थियो । माल्दाइ घरको बढी जिम्मेवारीका कारण हुनसक्छ, उहाँको ध्यान जागिर खानेतिर त्यति थिएन । कान्छा भाइ इन्द्र पढिरहेका थिए ।

    त्यहीँ बेला जिल्ला विकास समितिमा तत्कालिन एमाले प्रचण्ड बहुमतसहित सत्तासिन हुन पुग्यो, २०४९ को निर्वाचनमा । युवराजजीले भन्नुभयो, ‘हामी मरिमेटर लागेको पार्टी यो स्थितिसम्म पुगेको अवस्थामा तपाईँ जिल्ला विकास समितिमा जागिर खान जानुहोस्, राजकुमारजी ।’ जिल्ला विकास समितिको त्यो निर्वाचनमा स्थानीय स्तरबाट विजयी भई मतदान गर्न सदरमुकाम आएका जनप्रतिनिधि (तत्कालिन, गाविस अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष)हरुलाई अरुले लैजालान् भन्ने ठूलो भय थियो । उनीहरुलाई प्रशिक्षण दिदै जोगाउने जिम्मा आइलाग्दा वडा नम्बर ४ लाई निक्कै ठूलो भरयुक्त ठाउँ ठानियो । वडा नम्बर ४ का स्थानीय बासिन्दा भएकोले यसको व्यवस्थापनमा युवराजजीको भूमिका कम थिएन । म उहाँकै साथ सरसल्लाह र व्यवस्थापनमा खटिइरहेको हुन्थेँ ।

    तत्कालिन जिविस सभापति धर्मराज पौड्यालसँग मेरो विषयमा युवराजजीले नै जागिरका लागि पटकपटक कुराकानी गर्नुभएको विषयमा म जानकार छु । सभापतिज्यू पनि सकारात्मक हुनुहुन्थ्यो । प्रक्रिया अगाडी बढ्दै थियो, तर तत्कालिन स्थानीय विकास अधिकारी दिलिप चापागाईँले त्यो प्रक्रिया अवरुद्ध गरिदिए । बल्लतल्ल मैले करारमा मुखिया तहको पदमा नियुक्ति पाएँ ।

    डेढ महिना जति जागिर खाएर मेरो लागि पहल गर्ने युवराजजी र मलाई नियुक्त गर्ने जिविस सभापति पौड्याललाई पनि एकै वचन नसोधी मैले त्यो जागिरबाट विदा लिएँ । त्यसपछि हो, म पेशागत रुपमा पत्रिकारितामा रमाएको ।

    युवराजजीकै प्रेरणाबाट एकपटक मुखिया पदमा लोकसेवा आयोगको परीक्षा दिएको थिएँ । नाम निस्किएन । युवराजजीले सबैभन्दा पहिले मुखिया पदमा नाम निकाल्नुभयो, त्यसपछि नायव सुब्बामा । पछि शाखा अधिकृतमा नाम निकाल्नुभयो । उहाँ उपसचिव हुनुहुन्थ्यो ।

    मैले निजामतितिर जाने जोडबल गरिनँ । मेरो स्वभाव निजामति क्षेत्रमा अटाउने खालको पनि थिएन र छैन पनि । त्यसैले मैले बाजे होटल परिवारबाट र त्यसमा पनि युवराजजीबाट निजामति कर्मचारी हुनका लागि दिइएको प्रेरणालाई मौनतापूर्वक उल्लंघन गरेँ, गरिरहेँ । यो मेरो आत्मस्वीकारोक्ति हो ।

    जिविकाका लागि सानैदेखि सञ्चारकर्म र प्राध्यापन मेरो रोजाईमा थियो, त्यो केही हदसम्म पुरा पनि गरेँ । अहिले यी दुवै कर्मबाट विश्राम लिइरहेको अवस्थामा छु ।

    यी सम्झनाका पुलिन्दाहरु मैले यस अर्थमा पनि खोलेको कि, बाजे होटल परिवारले मेरो लागि जागिरको सख्त आवश्यकताबोध गरेको थियो अन्तरहृदयदेखि नै ।

    पहिले धनकुटाको अर्खौले जीतपुरबाट बसाई सरेर झापाको दमक पुगेको दाहाल परिवार संघर्ष भोग्दै, रतुवा खोलाले दिएको ठूलो धोकालाई पनि चुनौति दिदै फेरि धनकुटा जिल्ला उक्लियो । हाम्रो मनमा अहिले पनि दाहाल परिवारका सदस्यहरु हाम्रै टोलका बासिन्दाका रुपमा स्थापित हुनुहुन्छ । हाम्रो टोलबाट निजामति सेवामा सबैभन्दा उच्च तहमा पुग्ने र भविष्यमा थप करिअर बनाउन सक्ने राष्ट्रसेवकका रुपमा युवराजजीबाट हामी थप आशावादी थियौँ । यो आशाको दियो झ्याप्पै निभेको छ । यतिखेर हामी शोकसन्तप्त छौँ । आशाका किरणहरुको फेरि पनि खोजी गर्नु परेको छ । शोकलाई शक्तिमा बदलौँ ।

    अलविदा, बालसखा !

  • कमेन्ट गर्नुहोस्