• पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन

    पानी जाहाज सञ्चालनका लागि सोमबार नवलपरासीको गण्डक क्षेत्र र नारायणी नदीको अबलोकन गर्दै नेपाल र भारतकको संयुक्त टोली । तस्वीर पुरुषोत्तम सुबेदी , नवलपरासी रासस
  • नवलपरासी, फागुन २१ फागुन : नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावना अन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको छ ।

    नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले सोमबार नारायणी नदी सहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको सम्भाव्यता अध्ययन गरेको छ । नवलपरासीको गण्डक क्षेत्रसँगै नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको हो ।

    अध्ययन अवलोकन पश्चात यस क्षेत्रमा पानीजहाज सञ्चालनको सम्भावना उच्च रहेको नेपाली टोलीका संयोजक एवं जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव माधव बेलवासेले बताए ।

    यहाँबाट भारतको गङ्गा नदी पुग्न करिब तीन सय किलोमिटर र त्यसपछि गङ्गा नदीबाट समुद्र सतहसम्म पुग्न करीब आठ सय ४० किलोमिटर गरी यस क्षेत्रबाट कूल एक हजार एक सय ४० किलोमिटरको दूरीमा समुद्र सतह रहेको छ ।

    टोली फर्किएपछि यस क्षेत्रमा समेत पानीजहाज सञ्चालन गर्ने सम्भावनाको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने टोलीमा सहभागी वाणिज्य आपूर्ति मन्त्रालयका उपसचिव तर्कराज भट्टले जानकारी दिए । नेपालमा पानीजहाज सञ्चालन गर्ने उद्देश्यले जलयातायात अन्तर्गत पहिलो चरणको प्रक्रिया शुरु भएको टोलीमा सहभागी जल तथा ऊर्जा आयोग सचिवालयका सिनियर डिभिजन इञ्जिनीयर महेश्वर श्रेष्ठले बताए । पानीजहाजलाई नेपाली भूमिमा कत्रो, कसरी र कुन रूपमा ल्याउन सकिन्छ भनेर अध्ययन गर्ने जिम्मेवारी पाएसँगै नेपाल र भारतको संयुक्त टोलीले ‘फिल्ड’मा अवलोकन गरी फर्किएको हो ।

  • कमेन्ट गर्नुहोस्