• रोल्पाको जनजीवन फेरि त्रासमा

  • रोल्पा, फागुन २४: बितेका तीन दिन रोल्पावासीका जनजीवन निकै त्रासदमय भयो ।  जिल्लाका विभिन्न स्थानमा सवारीसाधन तोडफोड र आगजनीदेखि बम विस्फोटनसम्मका घटनाले रोल्पालीलाई फेरि एक पटक दश वर्षे सशस्त्र युद्धको झल्को दिलायो ।

    बुधबार राति त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले प्रयोग गर्दै आएको जिप  तोडफोड प्रयासबाट शुरू भएको घटनाले बिहीबार रातिसम्म निरन्तरता पायो । तोडफोडबाट गाउँपालिकाका अध्यक्ष वलीले प्रयोग गर्दै आएका बा२झ ३६५२ नं जिपको सिसा फुटेको छ । बुधबार राति गङ्गादेव गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले प्रयोग गर्दै आएको भाडाको जिपमासमेत अज्ञात समूहले आगजनी गर्‍यो । आगजनीबाट उनले प्रयोग गर्दै आएका भे १ च २७८५ नम्बरको बोलेरो जिप पूर्ण रूपमा क्षतिग्रस्त भयो ।

    बिहीबार राति अज्ञात समूहले गराएको आगजनीबाट त्रिवेणी गाउँपालिकाको स्काभेटर क्षतिग्रस्त भएको थियो । सडक निर्माणका लागि त्रिवेणी गाउँपालिका–२ नुवागाउँमा पार्किङ गरी राखेको अवस्थामा उक्त स्काभेटरमा अज्ञात समूहले आगजनी गर्‍यो । बिहीबार दिउँसो रोकीराखेको अवस्थामा माडी गाउँपालिका–२ घर्तीगाउँको मोटरसाइकलमा समेत आगजनी भयो । वडाध्यक्ष सुदीप घर्तीले प्रयोग गर्ने उक्त मोटरसाइकल पनि पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।

    बिहीबार दिउँसो नै रोल्पाको त्रिवेणी गाउँपालिका कार्यालय नजिकै वेवारिसे बम फेला पर्‍यो । जुगारस्थित गाउँपालिका कार्यालयदेखि ५० मिटर दूरीमा दुई बम फेला परेको थियो । रातो झोलाभित्र पोलिथिन व्यागमा राखेको अवस्थामा उक्त बम फेलापरेको थियो । विद्यार्थीले खेल्ने क्रममा शङकास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी समयमै घटनास्थल पुगेका कारण उक्त बमबाट मानवीय तथा भौतिक क्षति हुन पाएन । बेवारिसे अवस्थामा बम देखेपछि स्थानीयवासी त्रसित भएका थिए ।

    रोल्पा सदरमुकाम लिवाङस्थित नेपाली काङ्ग्रेस पार्टी कार्यालय नजिक दुई बम रहेको हल्ला फैलियो । प्रहरीले सर्च गर्दा सो ठाउँमा दुई ग्रिनेड बम फेला पार्‍यो । नेपाली सेनाले बमलाई निष्क्रिय बनाएपछि सर्वसाधारणमा देखिएको त्रास कम भयो । रोल्पा नगरपालिका नजिकै रहेको नेपाली काङ्ग्रेसको  जिल्ला पार्टी कार्यालयमा उक्त बम राखिए पनि सो बम नगरपालिकालाई लक्षित गरी राखिएको आशङ्का गरिएको छ । जिल्लामा पछिल्लोपटक घटेका सबै घटना स्थानीय सरकारप्रति लक्षित देखिन्छन् ।

    बम कसले कुन उद्देश्य राखेको भन्ने खुल्न सकेको छैन । सबै घटनाका दोषीको पहिचान गरी कानूनी दायरामा ल्याउने गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई अदालतमा मुद्दा दायर गरेकै दिन उक्त घटना घट्नुले यसमा पार्टीको संलग्नता रहेको आशङ्का गरिए पनि आधिकारिक पुष्टी भने हुनसकेको छैन ।

    माओवादी सशस्त्र युद्धमा सबैभन्दा बढी पीडा भोगेको रोल्पामा फेरि युद्धको झल्को दिने गरी भएका गतिविधिले सर्वसाधारण चिन्तित देखिन थालेका छन् । वार्ता छलफल र सहमतिका आधारमा यस्ता गतिविधिलाई समयमै रोक्नुपर्ने प्रतिनिधिसभाका पूर्वसांसद लेखनाथ आचार्यको तर्क छ ।

    “सशस्त्र गतिविधिलाई नजरअन्दाज गर्नु हुँदैन विगतबाट पाठ सिक्दै समस्याको समाधानतर्फ लाग्नुपर्छ” आचार्यले भने ।

  • कमेन्ट गर्नुहोस्