• लाभग्राहीबाट २३ करोड रूपैयाँ फिर्ता

  • काठमाडौं, फागुन २६ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीबाट झण्डै २३ करोड रूपैयाँ फिर्ता गराएको छ । विभिन्न कारणले घर नबनाएका लाभग्राहीबाट सो रकम फिर्ता भएको प्राधिकरण अन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ ।

    पहिले घर बनाउँछु भनी अनुदान सम्झौता गरेर अहिले घर नबनाएका लाभग्राहीबाट रकम फिर्ता भएको कार्यालयका परियोजना प्रमुख गणेशराज वस्तीले बताए । उनका अनुसार सरकारले एक पटक दिइसकेको पैसा फिर्ता लिँदैन भनेर पहिले अरू ठाउँमा घर भएका वा बस्न मिल्ने घर भएका घरधनी लाभग्राही सूचीमा परेका थिए । अहिले घर नबनाउँदा रकम त्यतिकै लिन पाइँदैन भन्ने सोचेर फिर्ता गर्ने क्रम सुरू भएको उनले बताए ।

    उनले भने, “घर बनाउन नचाहने वा आवश्यक नभएका लाभग्राही आफैंले जानेर फिर्ता गर्न थालेका छन् ।”

    कतिपय लाभग्राही भने भुलवश लाभग्राही सूचीमा परेको कार्यालयले जनाएको छ । उनका अनुसार जानेर वा नजानेर लाभग्राही बनेका लाभग्राहीको खोजी भइरहेको छ । सम्बन्धित व्यक्तिले आफू बसिरहेको पालिकामार्फत ‘यति नम्बर खातामा भएको लगतकट्टा गरिपाऊँ’ भन्दै निवेदन दिनुपर्ने उनले बताए ।

    परियोजना प्रमुख वस्तीका अनुसार पालिकामार्फत जिल्ला आयोजना कार्यान्वयन एकाइ र त्यहाँबाट केन्द्रीय आयोजना कार्यान्यन एकाइ पुगेपछि लगतकट्टा हुन्छ । उनले भने,“नक्कली लाभग्राही पहिचान गरेर रकम फिर्ता गराउन स्थानीय तहको समेत सहयोग आवश्यक छ ।”

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार अहिलेसम्म देशभरमा लाभग्राही सूचीमा परेकाको कुल सङ्ख्या आठ लाख १२ हजार तीन सय ७१ रहेको छ ।

  • कमेन्ट गर्नुहोस्