रङ्गशाला निर्माणस्थलमा अन्तरक्रिया
चितवन, फागुन २९ : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणस्थलबारे धुर्मुस–सुन्तली फाउण्डेशनले मङ्गलबार स्थानीयवासीसँग अन्तरक्रिया गरेको छ । भरतपुर महानगरपालिका वडा नं १५ र १६ का स्थानीयवासीसँग अन्तरक्रिया गरिएको हो ।
अन्तर्क्रियामा रङ्गशाला निर्माण सहयोग सङ्कलनको अवस्था, भावी कार्यक्रम, निर्माण प्रक्रियालगायतका विषयमा छलफल भएको छ । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले सबैलाई सहयोग गर्न आग्रह गरे । रङ्गशाला नेपालकै महत्वपूर्ण सम्पत्ति हुने बताउँदै सङ्कलित रकम पारदर्शी ढङ्गबाट खर्च गरिने उनीहरूले विश्वास दिलाए । स्वदेश तथा विदेशमा रहेका नेपालीहरू सहयोगका लागि उत्सुक र आतुर भएको भन्दै सम्पूर्ण नेपालीको लगानीबाट विश्वकै नमूना रङ्गशाला निर्माण गरिने उनीहरूले बताए ।
क्रिकेट रङ्गशाला निर्माण गर्न लागिएको भरतपुर महानगरपालिका वडा नं १५ का वडाध्यक्ष शम्भु भण्डारी, वडा नं १६ का वडाध्यक्ष चतुर्मान गुरूङ, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य डा. तिलचन्द्र भट्टराईलगायतले रङ्गशाला निर्माणमा सबैले सहयोग गर्नुपर्ने बताए । सो अवसरमा सहभागीले रङ्गशाला निर्माणमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए । फाउण्डेशनले हालसम्म पाँच करोड रूपैयाँभन्दा बढी आर्थिक सङ्कलन गरिसकेको छ । सबै खेल खेल्न सकिने गरी अत्याधुनिक रङ्गशाला निर्माण गरिदैछ । रङ्गशाला निर्माणस्थलमा स्थानीयवासीले श्रमदान गरी काम गर्न शुरू गरिसकेका छन् ।