• राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त

    राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङघीय आयोगको ६३ औँ अधिवेशनका अवसरमा राष्ट्र सङघका महासभाका अध्यक्ष मारिया फर्नान्डा एस्पिनोसा गार्सेसले न्यूयोर्कस्थित महासभा कक्षमा आयोजना गरेको ‘शक्तिमा महिला’ मूल विषयअन्तर्गत उच्चस्तरीय सत्रमा भाग लिँदै । तस्वीर, सौजन्य : युएनवेभटिभी, रासस
  • काठमाडौं, फागुन २९ : महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू) को ६३औँ अधिवेशनमा भाग लिन अमेरिकाको न्यूयोर्क पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार उच्चस्तरीय भेटवार्तामा व्यस्त रहिन् ।

    यसै सिलसिलामा मङ्गलबार संयुक्त राष्ट्रसङ्घका महासचिव एण्टोनियो गुटरेससँग उनले भेटवार्ता गरिन् । उनीहरूबीच जलवायु परिवर्तन, बहुपक्षीयता, दिगो विकासका लक्ष्य, विश्वमा शान्ति स्थापना, नेपालमा भूकम्पपछिको पुनःनिर्माणका साथै विविध विषयमा विचारविमर्श भएको संयुक्त राष्ट्रसङ्घका लागि न्यूयोर्कस्थित नेपालको स्थायी नियोगले जनाएको छ ।

    करीब ४१ वर्षअघि गरेको नेपालको भ्रमणको स्मरण गर्दै महासचिव गुटरेसले राष्ट्रसङ्घीय शान्ति स्थापनाका कार्यमा नेपालले गरेको योगदानका साथै उक्त विश्वसंस्थामा नेपालले सक्रिय भूमिका निर्वाह गरेकोमा प्रशंसा गरे ।

    राष्ट्रपति भण्डारीसँग अपराह्न संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले शिष्टाचार भेट गरिन् । ‘शक्तिमा नारी’ विषयको छलफल कार्यक्रमका साथै अन्य धेरै महत्वपूर्ण विषयमा नेतृत्वदायी भूमिका निर्वाह गरेकामा राष्ट्रपतिले उनको प्रशंसा गरिन् । छलफलमा सहभागी भएर आफ्ना गहन अन्तर्दृष्टि र अनुभव सुनाएकोमा अध्यक्ष ग्रेसेसले राष्ट्रपति भण्डारीप्रति आभार प्रकट गरिन् ।

    बुधबार राष्ट्रपति भण्डारीले  इस्टोनियाका राष्ट्रपति केस्र्टी कालजुलेड तथा क्रोएशियाका राष्ट्रपति कोलिण्डा ग्राबर किटारोभिचसँग बेग्लाबेग्लै द्विपक्षीय वार्ता गरिन् । इस्टोनियाली समकक्षीसँगको भेटमा दुई देशका राष्ट्रपतिबीच जलवायु परिवर्तन, दिगो विकासका लक्ष्य, बहुपक्षीयताजस्ता समसामयिक विश्वका महत्वपूर्ण विषयमा विचार आदान प्रदान भएको नियोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    क्रोएशियाका राष्ट्रपतिसँगको भेटमा पारस्परिक हित र चासोको विविध विषयमा विचारविमर्श गर्नुका साथै राजनीतिक नेतृत्वमा नारीको भूमिकाबारे छलफल भएको थियो । नेपाल र क्रोएशियाबीच विद्यमान सुमधुर सम्बन्धप्रति दुवै राष्ट्रपतिले सन्तुष्टि व्यक्त गर्दै त्यसलाई थप घनीभूत तुल्याउनेबारेमा पनि विचार आदानप्रदान गरेका थिए ।

    राष्ट्रपति भण्डारीसँग आयरल्याण्डका पूर्वप्रधानमन्त्री मेरी रबिन्सनले पनि शिष्टाचार भेट गरेकी छिन् । त्यस अवसरमा उनीहरूबीच जलवायु परिवर्तन, न्याय, नारी सशक्तीकरण र नारी नेतृत्वबारे छलफल भएको थियो ।

    राष्ट्रपति भण्डारी बिहीबार न्यूयोर्कबाट काठमाडौंका लागि प्रस्थान गरी चैत १ गते अपराह्न राजधानी आइपुग्ने कार्यक्रम रहेको छ ।

  • कमेन्ट गर्नुहोस्