• गलाको पासो बन्दै घर बनाउँदाको ऋण

  • बलेवा, फागुन २९ : भूकम्पले भत्किएका घरलाई ऋणधन गरेर पुनर्निर्माण गरेका बागलुङको जैमिनी नगरपालिकाका भूकम्प पीडितलाई त्यही घर बोझ बन्न थालेको छ ।

    सरकारले दिने अनुदानको आशाले ऋण खोजेर घर पुनर्निर्माण गरेकालाई ब्याजको भारी थपिन थालेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत पीडितका लागि सरकारले अनुदान उपलब्ध गराइरहेको भए पनि विभिन्न बहानामा यहाँका पीडितले अनुदान रकम पाएका छैनन् ।

    भूकम्पले घर भत्किएपछि जैमिनी नगरपालिका–१० राङ्खानीकी सुमित्रा श्रीशले ऋणधन गरेर तत्काल ओत लाग्ने टिनले छाएर दुई कोठे घर बनाइन् । पीडितको सूचीमा समावेश भएको उनको घरले पहिलो किस्ताको रकम त पायो तर दोस्रो किस्ताको रकम पाउनका लागि मापदण्ड नपुगेको प्राविधिकले बताउने गरेका छन् ।

    “ओत लाग्ने ठाउँ नै थिएन, सरकारले मापदण्ड बनाउने बेलासम्म खुला आकाशमुनि बस्नुभन्दा ऋण खोजेर घर बनाएँ”, श्रीशले भनिन्, “सरकारले दिने अनुदानको आशामा लिएको ऋण अहिले ब्याजको भारी भएको छ ।” श्रीश परिवारले भूकम्पले पुरानो घर बस्नै नमिल्ने गरी भत्काएपछि सार्वजनिक भवनमा केही समय अस्थायी बसोबास गरेका थिए । परम्परागत हिसाबले बनाएको श्रीशको घर भूकम्प प्रतिरोधी नभएको भन्दै अनुदान रकम रोकिएको छ ।

    श्रीशको जस्तै पीडा छ राङ्खानीकै स्थानीय कला भण्डारी मगरको । उनले पनि अनुदान पाउने आशाले तत्काल ऋण खोजेर एक छाने कच्ची घर बनाइन । पहिलो किस्ताबापतको ५० हजार रूपैयाँ बुझेकी भण्डारी घर सम्पन्न गरी दोस्रो किस्ताको रकम लिन सिटिजन्स बैंकमा पुग्दा थाहा भयो उनको घर सरकारले तोकेको मापदण्डअनुसार बनेकै छैन । घर बनाउन प्रयोग भएका कामदारलाई ज्याला बुझाउने गरी बैंकमा पैसा लिन गएकी भण्डारी बैंकले खाता रोक्का भएको जानकारी दिएपछि छाँगाबाट खसेजस्तै भइन् ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले मापदण्ड विपरीतका घरको खाता रोक्का गरेपछि घर निर्माण कार्यविधि आउनुपूर्व घर निर्माण गरेका भूकम्पपीडित थप पीडामा परेका छन् । सुरूमा एक तला घर बनाएका पीडितलाई अनुदान उपलब्ध गराउने बताए पनि नपाएको पीडितको गुनासो छ । “प्राविधिकै सल्लाहअनुसार एक तला घर बनाएँ तर पैसा रोकियो’’, जैमिनी नगरपालिका–१ का कृष्णबहादुर रानाले भने, “कसैले मापदण्ड विपरीत घर बनाए पनि दोस्रो किस्ता पाए हाम्रो खाता रोकियो ।”

    मापदण्ड विपरीत घर निर्माण गरी दोस्रो किस्ता बुझेका घरधनीलाई समेत रकम फिर्ता गर्न आग्रह गरिएको छ । जैमिनी क्षेत्रमा करीब दुई सय ३५ घरले घर निर्माण मापदण्ड लागू हुनुअघिनै घर निर्माण गरेको इञ्जिनीयर पङ्कजकुमार दासले जानकारी दिए । “जिल्लामा मापदण्ड विपरीत निर्माण भएका घरको अनुदान नै प्रमुख समस्या हो”, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ बागलुङका निमित्त प्रमुख रामाशिष शाहले भने, “कार्यविधि निर्माण हुनुपूर्व निर्माण भएका घरलाई एकमुष्ट रकम दिने भने पनि कार्यविधि, निर्देशिका र परिपत्र नआउँदा समस्या भएको छ ।”

    बागलुङमा चार वर्षको अवधिमा दुई हजार तीन सय ७५ कूल लाभग्राहीमध्ये पाँच सय १९ लाभग्राहीले मात्र तेस्रो किस्ताबापतको रकम पाएका छन् । निमित्त कार्यालय प्रमुख शाहका अनुसार हालसम्म दुई हजार एक सय पाँच लाभग्राहीले पहिलो किस्ता र नौ सय ९३ सेवाग्राहीले दोस्रो किस्तावापतको अनुदान पाएका छन् ।

  • कमेन्ट गर्नुहोस्