नेपाली चित्रकला सिक्दै चिनियाँ कलाकार
काठमाडौं, चैत २ : नेपाली कला, संस्कृति र प्रकृतिमा नलोभिने पर्यटक सायदै होलान् । उनीहरू मन्दिरै–मन्दिरको शहर भनेर परिचित काठमाडौं उपत्यका हेर्न र घुम्न चाहन्छन् । काठमाडौं घुम्नै पर्ने शहरको सूचीमा समेत परेको छ ।
प्यागोडा शैली र कुँदिएका टुँडाल तथा आकर्षक भौतिक संरचनाले विदेशी नागरिकको मन छुन्छ । नेपालको पशुपतिनाथ, स्वयम्भू, दरबार स्क्वायर, हिम शृङ्खला, पहाडी प्रकृति र संस्कृति, विश्व शान्तिका प्रतीक भगवान् गौतमबुद्धको जन्मथलो लुम्बिनी, पर्यटकीय क्षेत्र कास्की, चितवनलगायत ठाउँमा पर्यटक घुमेर रमाउँछन् ।
यसरी नेपाली कला र संस्कृतिमा रमाउने मध्ये एक हुन् – चिनियाँ चित्रकार सी यिछी । नेपाली चित्रकला र चित्रकारितामा लोभिएका सान्दोङ, चीन निवासी सी यिछी आफैं पनि चित्रकलाका शिक्षक हुन् । “नेपाली कला र संस्कृति साह्रै राम्रो,” ललितपुरको पाटनस्थित दरबार स्क्वायरमा चित्रकला सिक्दै गरेका ‘सी’ले संक्षिप्त प्रतिक्रिया दिए ।
उनलाई अङ्ग्रेजी र नेपाली दुवै भाषा आउँदैन । कसैसँग कुरा गर्नुपर्दा मोबाइलमा भएको सफ्टवेयरमा चिनियाँ भाषा टाइप गर्छन् । सफ्टवेयरले अङ्ग्रेजीमा रूपान्तरण गरेपछि कुराकानी हुन्छ । एक हप्ता अघिदेखि उनको दिनचर्या यसैगरी बितिरहेको छ । नेपाली चित्रकार एनवी गुरूङले उनलाई सहयोग गरिरहेका छन् ।
“गुरूङले पानी रङबाट बनाएको चित्र मलाई औधी मन पर्छ । उनी अन्तर्राष्ट्रिय आर्ट मास्टर हुन् । म आर्ट टिचर भएर पनि उनको त्यो कला सिक्न चाहन्छु,” उनले पठाएको चिनियाँ भाषाको मोबाइल सन्देशले यस्तै भनिएको थियो । नेपाली कला संस्कृति र भौतिक संरचना आकर्षक रहेको र यहाँका सर्वसाधारण सबै इमान्दार र सहयोगी लागेको उनले बताए । त्यही भएर पर्यटकहरू नेपाल आउन चाहेको उनले प्रतिक्रिया दिए ।
चीनमा कलाकार धेरै भए पनि चित्रकारिताको शैली एकै खालको रहेको उल्लेख गर्दै ‘सी’ले नेपाली कलाकारको शैली फरक लागेर सिक्न आएको बताए । पाँच महिनाअघि नेपाली चित्रकार गुरूङसँग वि च्याटमा सम्पर्क भएको थियो ।
“त्यसपछि उनले मलाई नियमित फलो गर्न थाले । खै कसरी हो मेरो चित्रकलाले उनको ध्यान तान्यो, अनि सिक्नका लागि आए”, चित्रकार गुरूङले भने । उनी आफूले जानेका सबै सीप ‘सी’लाई सिकाइरहेका छन् ।
नेपालका मौलिक, पुरातात्विक र ऐतिहासिक महत्वका क्षेत्रमा पुगेर ‘सी’ले स्थलगत रूपमा चित्र बनाएरै नेपाली चित्रकला सिकिरहेका छन् । सोही सिलसिलामा उनी आज पोखरा पुगेका छन् । चीनमा उनी बढी तेल रङमा काम गर्छन् तर पानी रङमा समेत चित्र बनाउँदै आएका छन् । अहिले उनी पानी रङको प्रयोग गरी नेपाली शैलीबाट मुहार चित्र र दृष्य चित्र सिकिरहेका छन् ।
अन्तर्राष्ट्रिय पानी रङ समाज नेपालका अध्यक्ष एनवी गुरूङ भन्छन्, “प्रस्तुतीकरण महत्वपूर्ण हो । के मा केन्द्रित गर्ने त्यसमा भर पर्छ । टाढा हुँदा आकाश रङसँग मिलाउँदै पातलो पारेर जानुपर्छ । नजिक हुँदा ठूलो र गाढा बनाउँदै ल्याउनुपर्छ, लाइनको दुरान्तरका आधारमा सिद्धान्तमा रहेर चित्र कोर्नुपर्छ ।”
यसअघि भारतका १५ कलाकार आएर नेपाली कला र संस्कृतिका चित्र क्यानभासमा उतारेका थिए । उनीहरूलाई त्रिकोणात्मक प्यागोडा शैलीका संरचनाले लोभ्याएको थियो । केही महिना अघि अन्तर्राष्ट्रिय पानी रङ महोत्सवमा आएका सात देशका चित्रकारहरूले समेत नेपाली कला र संस्कृतिको खुलेर प्रशंसा गरेका थिए । उनीहरूमार्फत कलाको माध्यामबाट पनि नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास कलाकारहरूको छ । चित्रकारिताका लागि महिनै पिच्छे विदेशी चित्रकारहरू नेपाल आउने गरेका कलाकारहरू बताउँछन् ।