• प्रश्नपत्रसँगै छात्रालाई सेनेटरी प्याड

  • गलेश्वर, चैत ३ : म्याग्दीमा एसइइ परीक्षामा सहभागी हुने छात्रालाई प्रश्नपत्रसँगै सेनेटरी प्याड पनि दिइने भएको छ ।

    यही चैत १० गतेदेखि सुरू हुन लागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ (एसइइ) मा समावेश हुने छात्रालाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले सेनेटरी प्याड वितरण गर्ने भएको हो ।

    सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महिनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले एसइइ परीक्षा प्रभावित नहोस् भनेर म्याग्दीमा सेनेटरी प्याड वितरण गर्ने जनाएको हो ।

    मन्त्रालयकी प्रमुख महिला विकास अधिकृत तुलसा अर्यालले निमित्त एकाइ प्रमुख केशबहादुर बुढाथोकीलाई १५ हजार रूपैयाँ बराबरको प्याड खरिद गर्न चेक हस्तान्तरण गरेकी छिन् ।

    महिनावारीलाई सहजरूपले व्यवस्थापन गरी छात्रालाई परीक्षामा सहभागी गराउन प्रदेशभित्रका सबै जिल्लामा सहयोग गरिएको महिला विकास अधिकृत अर्यालले बताइन् ।

    “छात्रा महिनावारी भएको समयमा विद्यालयमा सहभागी नहुने गरेको पाउने गरेका छौँ, महिनावारीको समयमा कुनै पनि छात्राको एसइइ परीक्षा प्रभावित नहोस् भन्नका लागि सेनेटरी प्याड वितरण गर्ने व्यवस्था मिलाएका हौं”, अर्यालले भनिन् ।

    एसइइ परीक्षा चैत १० गतेदेखि सुरू हुँदैछ । म्याग्दीमा दुई हजार दुई सय ४२ विद्यार्थी सहभागी हुने परीक्षामा एक हजार एक सय ११ छात्रा छन् । सामाजिक विकास मन्त्रालयले छात्रा सङ्ख्याको अनुपातका आधारमा सेनेटरी प्याड खरीदका लागि शिक्षा विकास तथा समन्वय एकाइ म्याग्दीलाई १५ हजार रूपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।

  • कमेन्ट गर्नुहोस्