• ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

  • काभ्रेपलाञ्चोक, चैत ६ : रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा मङ्गलबार साँझ ‘सर्च’मा गएको प्रहरी टोलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता पक्राउ गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

    मङ्गलबार साँझ साढे ६ बजे काफलडाँडामा प्रहरीको उनीहरूसँग जम्काभेट भएको महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए । प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनीहरूले फायर गरेको र आत्मरक्षाका लागि प्रहरीले चार राउण्ड फायर गरेको उनले बताए । फायरपछि समूह भाग्ने क्रममा झापाको मेची नगरपालिका–३ घर भई हाल काठमाडौंको थानकोट ढुङ्गेअड्डा बस्ने ३३ वर्षीय शिव धिताल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ नेवारटोलका ३३ वर्षीय विशाल तामाङलाई गिरफ्तार गरिएको राठौरले आज जानकारी दिए ।

    गत फागुन १० गते बेलुका ललितपुरको नक्खुस्थित एनसेल कार्यालयअगाडि गरिएको बम विस्फोटनमा एकको मृत्यु तथा दुई जना घाइते भएको, सोही बेलुका काठमाडौं कमलपोखरीस्थित आँगन मिठाई पसलमा भएको बम विस्फोट तथा गत फागुन २४ गते बेलुका काठमाडौंको वसुन्धरास्थित रोहन गुरुङको घरमा भएको बम विस्फोटमा परी तीन जना घाइते भएको घटनाको अनुसन्धानका क्रममा विप्लव माओवादीको संलग्नता भएको देखिएपछि काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–२ स्थित काफलडाँडामा लुकीछिपी बसेको सूचनाका आधारमा खोजतलास गरिएको र सोही क्रममा धिताल र तामाङलाई गिरफ्तार गरिएको महाशाखाले जनाएको छ ।

    राठौरका अनुसार उनीहरूको साथबाट विभिन्न कम्पनीको छ थान मोबाइल, चार थान चार्जर, ल्यापटप चार्जर, पिलास, कालो लेदर ब्याग र केही दस्तावेज तथा अन्य तीन थान मोबाइल बरामद गरिएको छ ।

    कपिलवस्तुमा पनि कार्यकर्ता समातिए

    सरकारले अराजनीतिक समूह भन्दै प्रतिबन्ध लगाएको नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने जनाएसँगै कपिलवस्तुबाट पनि जिल्लास्तरका नेताहरू पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीका अनुसार जिल्लाबाट चार जना नेतालाई नियन्त्रणमा लिइएको छ । यसरी पक्राउ हुनेमा जिल्ला नेतामा बाणगङ्गा नगरपालिका श्यमदास पासी र राजमङ्गल थारू रहेका छन् ।
    यस्तै शिवगढीबाट दुर्गालाल खत्री र कपिलवस्तुमा बसेर रुपन्देहीको राजनीति गर्ने युवराज न्यौपानले समेत पक्राउ परेका छन् । पछिल्लो समयमा प्रहरी प्रशासनले छापा हान्ने र पक्राउ गर्ने क्रममा तीव्र बनाएसँगै नेकपा विप्लव समूहका बाहिर चिनिएका सबै नेता खुला रूपमा देखिन छाडेका छन् ।

  • कमेन्ट गर्नुहोस्