• महिला फुटबल खेलाडीलाई जनही एक लाख रूपैयाँ

  • विराटनगर, चैत १०: अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पाँचौ साफ फुटबल प्रतियोगिता खेल्ने प्रत्येक महिला खेलाडीलाई एक लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

    शनिबार साँझ एन्फाको सम्पन्न १८औं वार्षिक साधारणसभापछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता किरण राईले सो निर्णय सार्वजनिक गरेका हुन् ।

    यसअघि पाँचौ साफ फुटबल खेल्ने खेलाडीलाई प्रदेश सरकारले एक लाख रूपैयाँ तथा विराटनगर महानगरपालिकाले ५० हजार रूपैयाँ प्रदान गर्ने निर्णय गरिसकेको छ ।

    यसैगरी एन्फाले आर्थिक वर्ष २०७५/७६ का लागि २३ करोड ७४ लाख ५० हजार रूपैयाँको अनुमानित वार्षिक बजेटसमेत स्वीकृत गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

    साफ फुटबल सफलतापूर्वक सम्पन्न गर्न सबैको सहयोग प्राप्त भएकोमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले धन्यवादज्ञापन गरे । प्रदेश नं १ मा आगामी दिनमा मुख्यमन्त्री आमन्त्रण फुटबल तथा १० देखि १२ वर्ष उमेरका महिलाका लागि फुटबल प्रशिक्षण कार्यक्रम चाँडै सञ्चालन गर्ने शेर्पाले जानकारी दिए । प्रदेश सरकारको सहयोग प्राप्त भए विराटनगरमा महिला फुटबल प्रशिक्षण एकेडेमी सञ्चालन गर्ने आश्वासनसमेत शेर्पाले दिएका छन् । विराटनगरको शहीद रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको खुशी व्यक्त गर्दै त्यसको संरक्षण गर्ने जिम्मेवारी सबैको काँधमा आएको शेर्पाले बताए ।

    साफ महिला फुटबलको भौतिक पूर्वाधारका लागि विराटनगर महानगपालिकाबाट एक करोड २० लाख रूपैयाँ र प्रदेश सरकारबाट ५० लाख रूपैयाँ प्राप्त भएको र सोही शीर्षकमा खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । साफ खेलकूदबाट प्रतियोगिता सम्पन्न गर्न एक करोड ६५ लाख रूपैयाँ प्राप्त हुने विश्वास गरिएको छ ।

    पत्रकार सम्मेलनमा साफ महिला फुटबलसम्बन्धी सम्पूर्ण खर्च तथा आम्दानी आगामी एक हप्ताभित्र सार्वजनिक गरिने प्रवक्ता राईले जानकारी दिए । यस्तै एन्फाले खेलकूद पत्रकारिताका लागि तीनदिने प्रशिक्षण कार्यक्रम गर्ने अध्यक्ष शेर्पाले बताए । यसैगरी खोटाङ, नवलपुर र मनाङ जिल्लाका फुटबल सङ्घलाई आगामी एक वर्षका लागि पर्यवेक्षकका रूपमा अस्थायी सदस्यता प्रदान गर्ने साधारणसभाले निर्णय गरेको छ ।

  • कमेन्ट गर्नुहोस्