• दैनिक तीन करोडको सिमेन्ट उत्पादन गर्दै उदयपुर सिमेन्ट उद्योग

  • गाईघाट, चैत ११ : सरकारी स्वामित्वको उदुयपुर सिमेन्ट उद्योगले दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादन गर्न थालेको छ । यो देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग हो ।

    एक हप्तादेखि विद्युत् आपूर्ति सहज हुन थालेपछि यस्तो सम्भव भएको हो । एक महिनासम्म धनुषा ढल्केबर क्षेत्रबाट विद्युत आपुर्तिमा समस्या भएको थियो । उत्पादनको क्षमता वृद्धि गर्दै लगे पनि उदयपुर सिमेन्ट उद्योगले विद्युत आपूर्तिको कारण समय–समयमा समस्या झेल्दै आएको छ ।

    सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहका अनुसार उद्योगले तिव्र गतिमा सिमेन्ट उत्पादन गरिरहेको बेला माघको पहिलो हप्तादेखि फागुनभर धनुषा, ढल्केबर विद्युत आपूर्ति केन्द्रबाट नियमित विद्युत आपूर्ति नहुँदा उद्योगमा सिमेन्ट उत्पादन ह्वात्तै घटेको थियो । सम्बन्धित निकायको ध्यानाकर्षण गरेपछि विद्युत् आपूर्ति सहज हुदाँ उद्योगले एक हप्तादेखि दैनिक १८ हजार बोरासम्म अर्थात् आठ सय मेट्रिक टनभन्दा बढी गैंडाछाप सिमेन्ट उत्पादन गर्न थालेको छ ।

    डेढ वर्ष अघिसम्म घाटामा रहेको उदयपुर सिमेन्ट उद्योगले विद्युत् आपूर्ति सहज भएपछि वार्षिक अर्बौं रुपैयाँको आम्दानी गर्न थालेको छ ।

    अहिले विद्युत् सिमेन्ट उद्योगले प्रत्येक दिन तीन करोड रूपैयाँ मूल्य बराबरको सिमेन्ट उत्पादन गर्न सुरू गरेको उद्योग प्रशासनले बताएको छ । उद्योगमा अहिले चार सय ३९ जना मजदूर तथा कर्मचारी रहेका छन् ।

  • कमेन्ट गर्नुहोस्