• नेपाल र जापानबीच श्रमिक पठाउने समझदारी

    Photo Coutesy: http://moless.gov.np
  • काठमाडौं, चैत ११ : नेपाल र जापान सरकारबीच नेपाली कामदारलाई जापानमा रोजगारीको अवसर उपलब्ध गराउने सम्बन्धी ‘सहयोग समझदारी’ भएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा आज नेपाली श्रमिक जापान पठाउने सम्बन्धी उक्त समझदारी भएको हो । सो पत्रमा श्रम मन्त्रालयका निमित्त सचिव डा रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिसी साइगोले हस्ताक्षर गरे । हस्तारक्षरसँगै नेपाली कामदारलाई जापानको श्रम बजारमा रोजगारीको अवसर उपलब्ध गराउने मार्ग प्रशस्त भएको छ । गत जनवरीमा जापानले श्रम बजारमा अपुग श्रमशक्ति नेपाललगायत विभिन्न नौ देशबाट भित्र्याउने निर्णय गरेको थियो ।

    सो अवसरमा श्रममन्त्री विष्टले नेपाली कामदार लैजाने सम्बन्धी समझदारीले नेपाल र जापानबीचको सम्बन्धलाई थप मजबुद र समृद्ध बनाउने विश्वास व्यक्त गर्दै समझदारीलाई छिटोभन्दा छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    सरकारले सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै कुनै झमेलामा नपरी नेपाली युवा आकर्षक गन्तव्य जान सकून् भन्ने उद्देश्यले दुई देशबीच समझदारी गरिएको उनले बताए । रोजगारीका क्रममा नेपाली युवाले जापानमा सिकेको सीप र अनुभव नेपालको विकासमा प्रयोग हुने उनले विश्वास व्यक्त गरे । सरकारले सीपयुक्त जनशक्तिलाई मात्र वैदेशिक रोजगारीमा पठाउने योजना अघि सारेको जानकारी दिँदै मन्त्री विष्टले जापानको श्रम बजारले माग गर्ने दक्ष जनशक्ति उपलब्ध गराउन सरकारको ध्यान केन्द्रित हुने बताए ।

    श्रम मन्त्रालयका निमित्त सचिव घिमिरेले सघन सहकार्यका आधारबाट समयसीमाभित्रै दुई देशकबीच समझदारी सम्भव भएको बताए । यो समझदारीले श्रम क्षेत्रमा सँगसँगै अगाडि बढ्न दुई देशलाई बलियो आधार सिर्जना गरेको उनले बताए । नेपालका लागि जापानी राजदूत साइगोले यस समझदारीले नेपाली श्रमिकलाई जापानी नागरिक सरह सेवा सुविधा सुनिश्चित गर्ने बताए ।

  • कमेन्ट गर्नुहोस्