• सरिसृपको नयाँ प्रजाति ‘बाघे माउसुली’ नेपालमा भेटियो

    नयाँ माउसुली नेपालमा पहिलो पटक बाँकेको कम्डी करिडोरमा भेटिएको माउसुलीको नयाँ प्रजाति ‘बाघे माउसुली’ । बाघको जस्तै सुन्दर पाटा हुने भएकाले यसलाई बाघे माउसुली नाम राखिएको हो । तस्वीर सौजन्य : सन्तोष भटटराई, राष्ट्रिय प्रकृति सरक्षण कोष
  • काठमाडौं, चैत १२ : नेपालमा नयाँ प्रजाति ‘बाघे माउसुली’ फेला परेको छ । बाघको जस्तै सुन्दर पाटा हुने भएकाले यसलाई बाघे माउसुली भनिएको हो ।

    जैविक विविधताको अध्ययन गर्ने क्रममा माउसुलीको नयाँ प्रजाति लेपर्ड गे (बाघे माउसुली) बाँके जिल्लाको कम्दी जैविक मार्गमा पहिलो पटक भेटिएको हो । युब्लिफेरिडे परिवारअन्तर्गत पर्ने यो माउसुलीको अभिलेख भएसँगै नेपालमा सरिसृप प्रजातिको नयाँ परिवार थपिएको छ । नेपालमा पाइने माउसुलीमध्ये यो ११औं प्रजाति भएको सरिसृपविज्ञ करण शाहले बताए ।

    विश्वमा ३८ प्रजाति माउसुलीका भेटिएका छन् । यो माउसुली भारत, बङ्गलादेश, पाकिस्तान, इरान, अफगानिस्तान, तुर्कमिनिस्तानमा पाइन्छ । राति सक्रिय हुने र दिनभरि सुत्ने तथा अरू मासुलीजस्तो घरको भित्तामा नबसी जमीनमा बस्ने यसको विशेषता हो । बाँकेको काम्दिपछि सुनवल, नवलपरासी र सुर्खेतको गुर्भाकोट तथा पछिल्लो समय बाँके राष्ट्रिय निकुञ्जको कुसुम क्षेत्रमा समेत बाघै माउसुली भेटिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले बताए ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जर यामबहादुर रावत, सरिसृपविज्ञ करणबहादुर शाह र कुलबहादुर थापा तथा कोषका सन्तोष भट्टराई सम्मिलित टोलीले अनुसन्धानमा नयाँ प्रजाति पुष्टि गरेको हो । उक्त माउसुलीको बारेमा  अमेरिकन जर्नल रेप्टाइल्स तथा अम्फिबिअन्समा सोमबार मात्र प्रकाशित भएको छ ।

    हेर्दा नै आकर्षक भएकाले विदेशमा मानिसले पाल्ने गरेको सरिसृपविज्ञ शाहले बताए । “सुरूमा रेञ्जर यमबहादुर थापाले यसको फोटो खिचेर फेसबुकमा हालेका थिए । नयाँ प्रजाति हो भनेर मैले भनेपछि उनले फेसबुकबाट हटाए । पछि अनुसन्धान गर्दा नेपालकै नयाँ प्रजाति पुष्टि भयो”, शाहले भने ।

    यसले सुख्खा क्षेत्रमा बासस्थान बनाएर बस्ने गर्छ । यो प्रजातिको अन्तर्राष्ट्रिय बजारमा वैध तथा अवैध दुवै खाले व्यापार हुने गरेको बताइएको छ । नेपालको भारतसँग खुला सिमाना रहेको र संरक्षित क्षेत्र बाहिर भेटिएकाले अवैध व्यापार हुनसक्ने सम्भावना रहेको भन्दै संरक्षणकर्मीले चिन्ता प्रकट गरेका छन् ।

    अहिलेसम्म तीन ठाउँबाट पाँच मात्र भेटिएको यो प्रजातिलाई स्थानीयवासीले विषकोब्रा नामले चिन्ने तथा विषालु हुन्छ भन्ने भ्रमका कारण देख्ने बित्तिकै मार्ने गरेको अनुसन्धान टोलीले जनाएको छ । सुख्खा बासस्थान भएको चुरे क्षेत्र यो प्रजातिका लागि उपयुक्त बासस्थान हो । चुरेको अन्य क्षेत्रमा पनि यसको बासस्थान हुनसक्ने देखिन्छ । नदी किनारबाट गिटीबालुवा झिक्दा घाइते अवस्थामा फेला परेकाले चुरे क्षेत्रको अत्यधिक दोहनले लोप हुनसक्ने खतरा छ ।

    जैविक विविधताका दृष्टिले नयाँ प्रजाति देशका लागि महत्वपूर्ण सम्पत्ति भएकाले यसको संरक्षण र सरिसृप प्रजातिको अध्ययन अनुसन्धानमा सरकारको ध्यान जानुपर्ने संरक्षणकर्मीले बताएका छन् ।

  • कमेन्ट गर्नुहोस्