• थाइल्याण्डमा बन्यो सात पार्टीको गठबन्धन

  • बैङ्कक, चैत १३ : थाइल्याण्डका सात पार्टीले बुधबार नयाँ गठबन्धन बनाएका छन् ।

    सन् २०१४ मा भएको सैनिक ‘कू‘ पछिको पहिलो निर्वाचन लगत्तै उनीहरूले गठबन्धन बनाएका हुन् । यही गठबन्धनले नै नयाँ सरकार बनाउने प्रयास गर्ने समाचारमा जनाइएको छ । निर्वाचनको वैधानिकता र निष्पक्षतामाथि प्रश्न उठिरहेकै छ ।

    स्वेच्छिक निर्वासनमा रहेका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको समर्थन पाए फिउ थाई पार्टी सहित अन्य छ पार्टी गठबन्धनमा छन् ।

    “हामी सरकार बनाएर गरिने शक्तिको दुरूपयोग रोक्न चाहन्छौं,” फिउ थाइको तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार सुदारात केयुराफानले भने ।

    उनले भने, “लोकतन्त्रको पक्षधर पार्टीहरुलाई नै जनताले साथ दिएका छन्, विश्वास गरेका छन् ।”

    गत आइतबार भएको मतदानको अन्तिम नतिजा भने औपचारिक र आधिकारिक रूपमा अहिले सम्म पनि सार्वजनिक गरिएको छैन ।

    कुनै कारणबिना नै मतगणनाको पूर्ण परिणाम सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै निर्वाचन आयोगको आलोचना भएको छ । निर्वाचन आयोगका अधिकारीले ‘मानवीय त्रुटीका कारण’ मतपरिणाम ढिलाइ भएको दाबी गरेका छन् ।

    यता पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले निर्वाचनमा ‘व्यापक धाँधली’ भएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा अधिकांशले सिनावात्राको भनाइप्रति सहमति जनाएको देखिन्छ।   

    कतिपय स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकले पनि ‘मतगणना पारदर्शी नभएको तथा मतपरिणाम निकै त्रुटिपूर्ण’ रहेको बताएका छन् । उनीहरूले अनुगमनका क्रममा देशव्यापी मत किनबेच भएको थाहा पाएको जनाएका छन् ।

    सत्ताच्युत प्रधानमन्त्री थाक्सिन सिनावात्रा र सेना समर्थकबीचको सत्ता संघर्षका कारण थाइल्यान्डमा केही वर्षयता राजनीतिक अस्थिरता छाएको छ । कुल ७५० सिट रहेको थाइल्यान्डको संसदको तल्लो सदनमा ५०० जना निर्वाचनमार्फत छानिन्छन भने माथिल्लो सदनमा २ सय ५० सिटमा सेनाले सांसदहरू मनोनीत गर्ने व्यवस्था रहेको छ ।

  • कमेन्ट गर्नुहोस्