• बेलायती संसदद्वारा ब्रेक्जीट प्रस्ताव तेस्रो पटक अस्वीकृत

    हाउस अफ कमन्स सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री टेरिसा मे
  • लन्डन, चैत १६ : बेलायती संसद हाउस अफ कमन्सले शुक्रबार अपराह्न भएको मतदानमा प्रधानमन्त्री टेरिसा मेको प्रस्तावलाई तेस्रो पटक अस्वीकृत गरेको छ ।  प्रधानमन्त्री मेले युरोपेली यूनियन (इयू) बाट बेलायत बिना कुनै सम्झौता बाहिरिने सम्बन्धी प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

    प्रधानमन्त्रीको उक्त प्रस्तावमा मतदान हुँदा बिना सम्झौता बाहिरिनु ठीक हो भन्ने प्रस्ताव तीन सय ४४ मतले पराजित भएको थियो । प्रधानमन्त्रीको पक्षमा दुई सय ८६ मत मात्र प्राप्त भएको थियो ।

    प्रधानमन्त्रीको प्रस्ताव विफल भएसँगै इयूबाट बेलायतको बहिर्गमन (ब्रेक्जीट)मा थप ढिलाई हुने सम्भावना बढेको छ । सहमति बमोजिम इयूबाट बेलायत आगामी शुक्रबार अर्थात् मार्च २९ तारिखमा बाहिरिनुपर्ने थियो तर प्रधानमन्त्री मेले गत साता युरोपेली नेतासँग केही समय दिन आग्रह गरेकी थिइन् ।

    बेलायती संसदको उक्त कदम लगत्तै युरोपेली यूनियनका परिषद अध्यक्ष डोनाल्ड टस्कले अप्रिल १० मा ब्रसेल्समा आपतकालीन बैठक डाकेका छन् । इयूले बेलायतको निर्णयका लागि अप्रिल १२ को नयाँ मिति तोकेको छ । उक्त मितिमा दुई वटा विकल्प रहने छन्ः बिना सम्झौता बेलायत इयूबाट बाहिरिने छ वा नयाँ विधिका साथ लामो समयावधि बेलायत समक्ष उपलब्ध हुनेछ ।

    यसैबीच, युरोपेली संसदको निर्वाचन आगामी मे महिनामा हुँदैछ । प्रधानमन्त्री मेले उक्त चुनावमा बेलायती जनतालाई मतदान गराउने कुरा “अस्वीकार्य” हुने स्पष्ट गरेकी छिन् । इयूबाट बाहिरिने विषयमा सन् २०१६ मा आयोजित जनमतसङ्ग्रहमा भाग लिइसकेका जनतालाई पुनः युरोपेली संसदको निर्वाचनमा सहभागी गराउनु ठीक नहुने उनको भनाइ छ । बेलायती सांसदहरूले प्रधानमन्त्री मेले इयूसँग गरेको सम्झौतालाई अस्वीकृत गरिसकेका छन् । फ्रान्स र जर्मनीले बेलायतले आफ्नो धारणा स्पष्ट रूपमा अगाडि ल्याउनुपर्ने बताएका छन् ।

  • कमेन्ट गर्नुहोस्