• राज्यको आधारभूत सुविधाबाट वञ्चित सुस्तावासी

  • नवलपरासी, चैत १७ : पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का स्थानीयले राज्यले बेवास्ता गरेको गुनासो गरेका छन् ।

    सुस्ता पुग्न नारायणी नदीमा बनिरहेको झोलुङ्गे पुलको निर्माण अलपत्र पर्नु, नागरिकता, जग्गाधनी पुर्जा, शिक्षा, स्वास्थ्य, बिजुलीबत्तीलगायत चौतर्फी समस्या समयमै हल गर्न राज्य पक्षले चासो नदिएको सुस्तावासीको गुनासो छ ।

    नारायणी नदीमा झोलुङ्गे पुल निर्माण कार्य सुरू भएको चार वर्ष बितिसकेको छ । काम अलपत्र पर्दासमेत राज्यले उचित कदम नचालेको सुस्ता बचाऊ अभियानका अध्यक्ष गोपाल गुरूङले बताए ।

    प्रदेशसभा सदस्य अजय शाही । तस्वीर : पुरुषोत्तम सुबेदी, रासस, नवलपरासी

    नागरिकताको जटिल समस्या छ । मतदाता नामावलीलाई आधार मान्दा हालसम्म दुई सय ९५ जनाले मात्र नागरिकता पाएका छन् । पछिल्लो तथ्याङ्क अनुसार सुस्तामा दुई सय ६५ घरधुरी र झण्डै तीन हजार एक सय ६५ जनसङ्ख्या छ ।

    नेपाली भूमी बचाउन वर्षौदेखि लड्दै आएका अधिकांश सुस्तावासी नागरिकता पाउनबाट बञ्चित छन् । राज्यले छुट्टै प्याकेजमार्फत उमेर पुगिसकेका सबै सुस्तावासीलाई नागरिकता प्रमाणपत्र दिनुपर्ने अभियानका उपाध्यक्ष आदम खाँ बताउँछन् ।

    उमेर पुगिसकेका करिब एक हजार छ सय नागरिकले नागरिकता प्रमाणपत्र पाउन बाँकी रहेको खाँको दाबी छ । केही सुस्तावासीको नेपाली सवारीसाधन अनुमतिपत्र छ । विभिन्न बैंकमा खाता पनि छ तर नागरिकताको प्रमाणपत्र भने छैन । मुन्ना खाँ भन्छन्, “मसँग सवारीसाधन अनुमतिपत्र छ । बैंकमा खाता पनि छ तर नागरिकता प्रमाणपत्र छैन”,  सवारीसाधन अनुमतिपत्र देखाउँदै उनले भने, “अधिकांश सुस्तावासीसँग नागरिकता छैन ।”

    जग्गाधनी पुर्जा पनि अर्को समस्या हो । सुस्तामा केही व्यक्तिसँग लालपुर्जा भए पनि जग्गा जोतभोग गर्न नपाएको र अधिकांश सुस्तावासी लालपुर्जा पाउनबाट बञ्चित छन् ।

    सुस्ताको कुल क्षेत्रफल ४० हजार नौ सय ८० हेक्टर छ । जसमध्ये हाल करिब सात हजार हेक्टर जग्गामा सुस्तावासीले जोतभोग गर्दै र बस्तीमा बस्दै आइरहेको देखिन्छ । हालसम्म पाँच सय ५६ बिघा क्षेत्रफलको लालपुर्जा मात्रै सुस्तावासीको नाममा छ ।

    सुस्तामा १९ हजार चार सय ८० हेक्टर क्षेत्र विवादित छ । यो क्षेत्रमा नेपाल र भारत दुवै पक्षले जोतभोग गर्दैनन् । यसैगरी सुस्तामा १४ हजार हेक्टर क्षेत्रफल भारतीय पक्षबाट अतिक्रमण भइसकेको दाबी गरिन्छ ।

    सुस्तामा शिक्षाको पनि उत्तिकै ठूलो समस्या छ । कक्षा ६ सम्म मात्र पढाइ हुने श्री जनता दलित आधारभूत विद्यालय छ । त्यहाँभन्दा माथि अध्ययन गर्न सुस्ताका करिब ५० विद्यार्थी दैनिक नजिकको भारतीय बजारका विद्यालयमा जान बाध्य भएको विद्यालयका निमित्त प्रधानाध्यापक अरजजिप खाँले बताए । केही विद्यार्थी पढाइ छाड्न बाध्य छन् ।

    सुस्तामा स्वास्थ्यको पनि निकै ठूलो समस्या छ । स्वास्थ्यचौकी भए पनि दक्ष जनशक्ति, उपकरणको समस्याका कारण सुस्तावासी उपचारका लागि भारतीय भूमिको भर पर्नुपर्ने बाध्यता छ । ओहोरदोहोर गर्नका लागि नारायणी नदीमा डुङ्गाको जोखिमपूर्ण यात्रा, भारतीय भूमि भएर नेपाल आउँदा भारतीय सुरक्षाकर्मीबाट दुर्व्यवहार हुने मुख्य समस्या बनेको छ । सुस्तावासीलाई स्वास्थ्य उपचारको सहज व्यवस्था मिलाउन प्रसूतिगृहसहित सानै भए पनि अस्पताल निर्माण हुनुपर्ने स्थानीयवासी लैला बेगम बताउँछिन् ।

    राष्ट्रिय प्रसारण लाइनको बिजुली सुस्तामा पुगेको छैन । केही घरमा सामान्य सोलार व्यवस्थापन गरिएको भए छ तर अधिकांश सुस्तावासी अन्धकारमा बस्छन् । समस्या लिएर पटक–पटक प्रदेशदेखि केन्द्रसम्मका सम्बन्धित निकायमा पुगे पनि सुस्तावासीले राष्ट्रिय प्रसारण लाइन नपाएको अभियानका सदस्य धमेन्द्र जयसवालले बताए ।

    सुस्तामा पछिल्लोपटक तटबन्ध निर्माणकार्य र ग्राबेल सडक विस्तार गर्ने काम सन्तोषजनक रूपमा भइरहेको पाइन्छ ।

    समयमै झोलुङ्गे पुल निर्माण नहुनु सुस्ताको सबैभन्दा ठूलो समस्या देखिएको छ । वर्षाको समयमा नारायणी नदीमा डुङ्गाको यात्रा बन्द हुन्छ । राज्यले पुल निर्माणलाई उच्च प्राथमिकतामा राखेर तत्काल अलपत्र परेको पुल निर्माणकार्य अघि बढाउनुपर्ने सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे बताउँछन् ।

    सुस्तावासीको समस्या समाधानका लागि सडकदेखि सदनसम्म छलफल र बहस पैरवी गर्दै आएको र अझै गर्ने निर्वाचित प्रदेशसभा सदस्य अजय शाही बताउँछन् । सुस्तामा थारू टोल, पहाडी टोल र बड्की टोल गरी तीन मुख्य टोल रहेका छन् । 

  • कमेन्ट गर्नुहोस्