• हावाहुरीबाट २७ जनाको मृत्यु

    हावाहुरीका घाइते वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचाररत फोटो सौजन्य : Laurent FIEVET / AFP)
  • वीरगञ्ज, चैत १८ : आइतबार साँझ आएको हावाहुरीबाट बारा जिल्लामा २६ जना र पर्सा जिल्लामा एक जना गरी २७ जनाको मृत्यु भएको र छ सयभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट घर भत्किँदा बारा जिल्लाको ठेटा गाउँपालिकामा सबैभन्दा बढी मानवीय क्षति भएको छ भने तेलकुवा, सिम्रनगढ, त्रसैनी, भलुही, हार्दिया, पशुरामपुर, धर्मनगरलगायतका ठाउँमा मानवीय क्षति र धनजनको क्षति भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।

    अहिले उद्धारकार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

    प्रधानमन्त्री पर्सा र बारा जाँदै

    प्रधानमन्त्री केपी शर्मा ओलीले गए राति हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री ओलीले आज झापामा हुने तीन वटा कार्यक्रम स्थगित गरी बारा र पर्सामा उद्धार र राहत कार्यको अनुगमन गर्न जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री आज बिहान सेनाको हेलिकप्टरबाट त्यसतर्फ प्रस्थान गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

    चितवनका चिकित्सकको टोली बारा पर्सा जाँदै

    हावाहुरी प्रभावित जिल्लामा चितवनबाट चिकित्सकको टोली पठाइने भएको छ । हावाहुरीले बारा, पर्सालगायतका जिल्लाका अस्पतालमा चिकित्सकको अभाव खड्किएपछि चितवनबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पठाउन लागिएको हो ।

    चितवन मेडिकल कलेजबाट ३५ जनाको चिकित्सकसहितको टोली त्यसतर्फ जाने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताए । चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले प्राथमिक उपचारका सामग्री र औषधिसमेत लैजानेछन् । अन्य अस्पतालबाट पनि चिकित्सक पठाउने तयारी भइरहेको छ ।

    रक्तदान कार्यक्रमको आयोजना
    हावाहुरी प्रभावित जिल्लामा रगतको अभाव भएपछि चितवनमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । भरतपुरको चौविसकोठीमा आज ११ बजे खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । चितवनका सामाजिक अभियानकर्मी, विभिन्न सङ्घसंस्था क्लबलगायतले रक्तदान कार्यक्रमको आयोजना गरेको सहयोगी हात संस्थाका सञ्चालक तथा सामाजिक अभियानकर्मी सूर्य पौडेलले बताए ।

  • कमेन्ट गर्नुहोस्