• हेल्परबाट फोटोग्राफर

    जोआना पाबोना
  • फिलिपिन्सकी जोआन पाबोना पेशाले घरेलु कामदार हुन् । उनी ६ वर्षदेखि हङकङमा काम गरिरहेकी छिन् । उनी फोटो पनि खिच्छिन् । उनले खिचेको फोटोले नेसनल जियोग्राफ पुरस्कार पनि पाएको छ । अब उनी घरेलु कामदारको काम छोडेर पूर्णकालीन फोटोग्राफर बन्न चाहिन्छन् ।

    पाबोना ३६ वर्षकी भइन् । शहरमा काम गर्दै उनले फोटो खिंच्न सिकेकी हुन् । मार्चमा फिलिपिन कन्सुलेट जेनरलमा उनले खिचेका फोटोहरू प्रदर्शन पनि भए ।

    हङकङमा झण्डै तीन लाख ८५ हजार विदेशकी घरेलु कामदार छन् । तीमध्ये आधा जति फिलिपिन्सबाट आएका हुन् । पाबोनको काम उनीहरूका लागि प्रेरणा मानिन्छ ।

    ‘मलाई फोटोग्राफर र घरेलु कामदार हुनुमा गर्व छ किनभने दुवै भूमिकामा मैले शहरलाई योगदान दिइरहेकी छु,’ पाबोनाले भनिन् ।

    उनको जन्म उत्तरी फिलिपिन्सको ला युनियनमा भएको हो । उनको बुवा मेकानिक थिए । गृहिणी आमाले तीन छोरा र दुई छोरीको रेखदेख र घर स्याहार्थिन् । पाबोना कान्छी छोरी हुन् ।

    उनी प्रमाणित कम्प्युटर प्राविधिक पनि हुन् । माध्यमिक शिक्षामा उनले स्नातक गरेकी छिन् । फिलिपिन्समा हुँदा उनले थुप्रै काम गरिन् । कारखानाको कामदार, क्यासियर, कर्जा संकलक, डाटा इन्कोडर के मात्र गरिनन् ! तर जति काम गरे पनि महिनाको सात सय ५० हङकङ डलर मात्रै आम्दानी हुने भएपछि उनले विदेशिने निर्णय गरिन् ।

    सन् २००८ मा सिंगापुर गइन् । त्यसपछि सन् २०१३ मा हङकङ आइन् । त्यसयता उनी यहाँ एउटा स्थानीय परिवारसँग घरेलु कामदारको रूपमा पूर्णकालीन काम गरिरहेकी छिन् । बिहानै ६ बजे उठ्छिन् । दुई जना बालबालिकालाई स्कूल पठाउँछिन् । घर सफा गर्छिन् । राती साढे नौ बजे सुत्न जान्छिन् ।

    नेसनल जियोग्राफिक पुरस्कार पाएको जोआन पाबोनाले खिचेको फोटो

    कामको भार धेरै हुँदाहुँदै पनि फोटो खिंच्नलाई समय निकाल्छिन् । उनी १७ वर्षको हुँदै फोटोग्राफीमा रूचि बढेको थियो । तर परिवारको आर्थिक स्थिती उनलाई क्यामेरा किनिदिने अवस्थामा थिएन । न त फोटोग्राफी कक्षा नै भर्ना गराउन सक्थ्यो ।

    हङकङमा मासिक चार हजार तीन सय हङकङ डलर कमाउन थालेपछि दिदीको सहयोग उनले जीवनकै पहिलो प्रोफेसनल क्यामेरा किनिन् । सन् २०१५ मा निकोनको डि३१०० क्यामेराको मुल्य पाँच हजार हङकङ डलर थियो ।

    घरबाहिर काम पर्दा क्यामेरा बोक्न कहिले बिर्सिदिनन् । तर यसका लागि उनी पाँच मिनेट समय मात्र खर्चिन्छिन् । काममा कुनै बाधा नहोस् भन्ने चाहन्छिन् । प्रत्येक आइतबार हातमा क्यामेरा लिएर पाबोना हङकङका गल्ली चहार्छिन् । उनका आँखाहरू फोटोको विषय खोजिरहेका हुन्छन् । औंलाहरू फोटो खिंच्न सधैं तयार रहन्छन् ।

    ‘फोटोग्राफीले केही बेरमै बिलाउने क्षणहरू कैद गर्न सकिन्छ,’ उनी भन्छिन् ।

    पाबोना आफैंले फोटोग्राफी सिकेकी हुन् । केही कार्यशालामा सहभागी पनि भइन् । वास्तुकला र स्ट्रिट फोटोग्राफी उनको अभिरूचि हो । उनी शहरको शुन्य र शान्तिपूर्ण पक्षको तस्बिर खिंच्ने प्रयत्न गर्छिन् । सादापन र केही मानविय तत्त्व भएको सूक्ष्मता र सरलता नै उनको फोटोग्राफीको शैली हो ।

    सन् २०१७ मा पाबोनाले रोजगारदाताको ह्याप्पी भ्यालीस्थिती आवासिय भवनको आठौं तलाबाट एउटा फोटो खिचिन् । हेल्मेट लगाएकी एक जना महिला कामदार बाँसको स्काफोल्डिङका लागि प्रयोग गरिने सुरक्षा जाली मिलाइरहेकी थिइन् । स्वदेशमा रहेको परिवार पाल्नुपर्ने आफूजस्तै कामदार होलिन् भन्ने उनलाई अनुभूति भयो । फोटोको नाम राखिन् ‘स्याक्रिफाइस’ ।

    ‘तस्बिरमा देखिएकी महिलाजस्तै, हामी घरेलु कामदारले स्वदेशमा रहेका परिवारका लागि त्याग गर्छौं,’ उनले भनिन् । घरमा उनको १२ वर्षे छोरा पनि छ ।

    पाबोनाको त्यो श्यामश्वेत तस्बिरले नेसनल जियोग्राफिक व्हिलोक युथ फोटो कम्पिटिसन २०१७ मा पिपल एन्ड ह्याप्पनिङ्स खण्डको दोश्रो पुरस्कार जित्यो ।

    पाबोनाको प्रेरणादायी कामको सम्मान स्वरूप हङकङस्थित फिलिपिन कन्सुलेट जेनरलले मार्चको मध्यमा उनकै तस्बिरहरूको एउटा फोटो प्रदर्शनी आयोजना गर्‍यो ।

    ‘जोआन अन्य फिलिपिनो विशेष गरि फोटोग्राफीमा अभिरूचि भएकाहरूलाई प्रेरणा हुन् । हामी उनको काम प्रदर्शन गर्न चाहन्छौं र यहाँ काम गर्दै भए पनि आफ्नो रूचि अघि बढाउन सकिन्छ भनेर देखाउन चाहन्छौं,’ कन्सल फतिमा जि. क्विन्तिनले भनिन् ।

    प्रदर्शनीका सहभागीले पाबोनाको कामको प्रशंसा गरे ।

    ‘म उनलाई साथ दिन यहाँ आएकी हुँ । हङकङलाई माया गरेकोमा म उनलाई धन्यवाद दिन चाहन्छु,’ स्थानीइ क्लर्क ज्युड इङले भनिन् ।

    फिलिपिन्सकै ३८ वर्षिया घरेलु कामदार एभेरियोन बि. पादिरेस पनि फोटोग्राफी मनपराउँछिन् ।

    ‘मैले जोआनबाट फोटोग्राफीबारे धेरै कुरा सिकें । उनको कथा र कामले मलाई फोटाग्राफी क्षेत्रमा अझ धेरै काम गर्न प्रेरणा मिलेको छ,’ उनले भनिन् ।

    फोटोग्राफीमै गहिरो अभिरूभि भएकोले उनी अब पूर्णकालीन फोटोग्राफर बन्न चाहन्छिन् । उनको रोजगार सम्झौता पनि जुनमा सकिदैंछ ।

    पाबोना हङकङको कमै मात्र देखिने पाटोलाई लेन्समा कैद गर्न चाहन्छिन् । प्रायः बेवास्तामा पर्ने घरेलु कामदारको समुदाय तीमध्ये एउटा पाटो हो ।

    ‘मानिसहरूले ध्यान नदिएको पाटो खिंचेर देखाउन चाहन्छु्,’ पाबोना भन्छिन् ।

    जोआन पाबोना

  • कमेन्ट गर्नुहोस्