व्हाट्सएपबाट तीन महिनामा २७ लाख ठगी
यो वर्षको तीन महिनामा डेढ सय हङकङेलीबाट २७ लाख हङकङ डलर ठगिएको छ ।
अघिल्लो वर्षको तुलनामा ४० प्रतिशत कम मानिस ठगिए पनि ठगिएको रकम ५० प्रतिशत बढी भएको प्रहरीले सोमबार जनाएको छ । सन् २०१७ को पहिलो तीन महिनामा दुई सय ५० भन्दा धेरै हङकङेलीबाट १८ लाख हङकङ डलर ठगिएको थियो ।
नोभेम्बर २०१७ मा ह्वाट्स एप ठगीका १० ओटा घटनाबारे उजुरी परेपछि हङकङ प्रहरीको ध्यानाकर्षण भएको थियो । त्यस्को तीन महिनाभित्रै यसरी ठगिनेहरूको संख्या ३० पुगेको थियो । सन् २०१८ मा पाँच सय ९२ ओटा घटना ६४ लाख हङकङ डलर ठगियो ।
फेसबुकको स्वामित्वमा रहेको दशक पुरानो कम्पनी व्हाट्सएपका ठगहरूले पीडितबाट पैसा कुम्ल्याउन अनेकौं उपाय अपनाएको प्रहरीले जनाएको छ ।
“हालै भएको एउटा घटनामा ठगहरूले पीडितलाई अनलाइन गेमका लागि प्वाइन्ट कार्ड किन्न उक्साएका थिए । ती कार्डलाई बेचेर नाफा कमाउन सकिने उनीहरूले आशा देखाएका थिए‚” साइबर सेक्युरिटी एन्ड टेक्नोलोजी क्राइम ब्युरोका कार्यवाहक सुपरिन्टेन्डेन्ट लाउ का–होले बताए ।
जनवरीमा ४८ वर्षिय पुरूषले यस्तै प्वाइन्ट कार्ड ठगीमा चार लाख ३० हजार रूपैयाँ गुमाएका थिए । शहरमा दर्ता भएको यो नै सबैभन्दा ठूलो रकमको व्हाट्सएप ठगी हो ।
घटनामा ठगी गर्ने व्यक्तिले पीडितकी दिदीको व्हाट्सएप खाता ह्याक गरेर प्वाइन्ट कार्ड किन्नलाई सन्देश पठाए । त्यसलाई बेचेर नाफा कमाउन सकिने बताए । त्यसपछि एकै घण्टामा एक सय ६० भन्दा धेरै पटक कारोबार पनि गर्न भ्याए ।
व्हाट्सएपमा धेरै–धेरै रकम गुमाउने प्रवृत्ति बढ्दै गएको हङकङ प्रहरीले जनाएको छ । यो वर्षको पहिलो तीन महिना मात्रै पीडितहरूबाट पाँच सयदेखि चार लाख ३० हजार हङकङ डलरसम्म ठगिएको प्रहरीले जानकारी दिएको छ । व्हाट्सएपका पीडितले पोहोर सालको सोही अवधिमा एक सयदेखि तीन लाख सात हजारसम्म गुमाएका थिए ।
यसरी ठगिने क्रम र रकम दुवै बढ्दै गएपछि प्रहरीले सोमबार सर्वसाधारणलाई सचेत गराएको हो । व्हाट्सएपका प्रयोगकर्तालाई टु–स्टेप भेरिफिकेसन प्रकृया लागु गर्न पनि आग्रह गरेको छ । यस्को मद्दतले आफ्नो अकाउन्ट रिसेट गर्न प्रयोगकर्ताले एउटा पर्सनल आइडेन्टिफिकेसन नम्बर र भेरिफिकेसन कोड राख्नैपर्छ ।
“यस्ता ठगी रोकथाम र आफ्नो खाता ह्याक हुन नदिने अन्तिम विकल्प भनेको व्हाट्सएपको टु–स्टेप भेरिफिकेसन कोड एक्टिभेट गर्नु नै हो‚” लाउले बताए ।
साइबर सेक्युरिटी एन्ड टेक्नोलोजी क्राइम ब्युरोका सुपरिन्टेन्डेन्ट चाङ उङ–चेले व्हाट्सएप प्रयोगकर्ताले खाता सुरक्षा अभिवृद्धि गरे ठगी गर्नेहरूले उनीहरूको खाता ह्याक गर्न नसक्ने र ठगीको प्रयास गर्न रोक्न सक्ने बताए ।
ठगी गर्नेहरूले प्राय व्हाट्सएप प्रयोगकर्ताको साथीभाइ वा आफन्त बनेर उनीहरूको कोड र पासवर्ड माग्ने गरेको प्रहरीले जानकारी दिएको छ । त्यसपछि उनीहरूले ती खाता प्रयोग गर्ने र ठगी गर्ने उद्देश्यले सम्बन्धित प्रयोगकर्ताको सम्पर्कमा रहेकालाई सन्देश पठाउने गरेका छन् ।
व्हाट्सएपमा खर्च गर्नलाई प्रयोगकर्ताहरूले नजिकका कन्भिनियन्स स्टोरबाट क्रेडिट किन्न सक्छन् । कार्डबाट पासवर्ड पाएपछि ठगी गर्नेहरूले पैसा कमाउन अनलाइनमै बिक्री गर्ने गरेका छन् ।
ठगी गर्नेहरू ताइवानका ठग हुनसक्ने प्रहरीको अनुमान छ । अनलाइन गेम्सका ताइवानी संस्करणमा प्रयोग हुने प्वाइन्ट कार्ड खोजेकोले ठगी त्यहाँबाट भइरहेको हुनसक्ने प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार व्हाट्सएप ठगीका घटनामा हालसम्म कसैलाई पनि गिरफ्तार गरिएको छैन ।