• पृथ्वीनारायण शाहको सुन व्यापार

  • ससुरालीसँगको चरम विवादपछि चन्द्रागिरीको बाटो हुँदै मकवानपुरबाट गोरखा फर्कदा पृथ्वीनारायण शाह काठमाडौं उपत्यका देखेर लोभिए । त्यसपछि उनले उपत्यका कब्जा गर्ने उद्योगतिर विशेष ध्यान दिन थाले । यसका लागि सरसल्लाह गर्न थाले

    यस प्रयोजनका लागि उनले सबैभन्दा पहिले विक्रम संवत् १८०१ असोजमा नुवाकोट कब्जा गरे । नुवाकोट त्यसबेला कान्तिपुर अधिनस्थ थियो । नुवाकोट कब्जा गरिए, उपत्यकालाई ठूलो आर्थिक सङ्कट उत्पन्न गर्न सकिन्थ्यो । इतिहासकार त्रिरत्न मानन्धरले ‘नेपाल परिचय’ (२०३२ः१७९–१८०)मा उल्लेख गरे अनुसार नुवाकोटलाई उपत्यकाको पश्चिमी ढोका भन्न पनि सकिन्थ्यो । त्यो अग्लो ठाउँमा भएकोले त्यहाँबाट उपत्यका हान्न सजिलो हुन्थ्यो ।

    नुवाकोट सामरिक महत्वको मात्र थिएन, कान्तिपुर र भोटको व्यापारको मूल बाटो पनि थियो । र त्यही व्यापार नै कान्तिपुरको मुख्य आयको स्रोत थियो । नुवाकोट जित्न सकेको खण्डमा कान्तिपुरमा आर्थिक संकट पैदा गर्न सकिने मात्र होइन, त्यो व्यापारलाई आफ्नो मातहतमा राखी आर्थिक उन्नतिको ढोका पनि खोल्न सकिने सुझबुझका साथ पृथ्वीनारायण शाहले सबैभन्दा पहिले नुवाकोट हात पारे । यता उपत्यकामा र त्यसमा पनि कान्तिपुर राज्यमा आर्थिक सङ्कट सुरु भयो ।

    भादगाउँका राजा रणजित मल्लका छोरा वीरनरसिंह मल्लसँग मितेरी साइनो गाँसेका थिए, पृथ्वीनारायण शाहले । भादगाउँमा आएर व्यापार चलाउने सन्यासी ब्यापारी कमल वनसँग राजा रणजीत मल्लमार्फत पृथ्वीनारायण शाहले ऋण लिएका थिए । यसवापत उनले केही राज्य कब्जा गरेर मीतबुवालाई दिने वाचा पनि गरेका थिए । इतिहास शिरोमणि बाबुराम आचार्यले ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१ः४७४) मा उल्लेख गरेअनुसार पृथ्वीनारायण शाहले काठमाडौं ठकुराईबाट खासासम्मको कुतीमा जाने मार्ग सन् १७४६ मा दखल गरी भक्तपुरका राजालाई दिएका थिए । र भक्तपुरका ब्यापारीसँग मिलेर कुतीपट्टिबाट उनले सुनको ब्यापार आरम्भ गरेका थिए । यो ब्यापारमा उनले भक्तपुरका मुद्रा चलाएका थिए ।

    एकातिर उनले आफ्नो वाचाअनुसार केही स्थान कब्जा गरेर मीतबुवालाई समर्पण गरे भने त्यहीँ भूमी अर्थात ब्यापारिक मार्ग उपयोग गरेर उनले आफ्नो व्यापार पनि सञ्चालन गरे । यसबाट उनको राजनीतिक मात्रै होइन, रणनीतिक रुपमा आर्थिक चातुर्यता पनि स्पष्ट हुन्छ ।

    राज्य कब्जा गर्ने क्रममा पृथ्वीनारायण शाहले अन्नतः आफ्नै मितबुबाको राज्य भादगाउँ कब्जा गरे, र मितबुवा रणजीत मल्ललाई काशीबास गराए ।

    सुन किन्ने आदेश
    आचार्य (२०६१ः४७४–४७५)अनुसार सन् १७५४ मा सिन्धुपाल्चोक, काभ्रेपलान्चोक र दोलखामा समेत एकलौटी अधिकार गरेपछि यस तर्फबाट हुने सुनको व्यापार आफ्नो हातमा लिएर पृथ्वीनारायण शाहले भक्तपुरका राजाले वाणिज्यदूत बनाएका हरिदेव पण्डितलाई नै आफ्ना वाणिज्यदूत बनाए ।

    सुन र नुनका लागि भोट (तिब्बत) उस बेलैदेखि प्रख्यात थियो । भोट (तिब्बत)बाट सुन ल्याउन हरिदेव पण्डितलाई आदेश दिइएको पत्र संशोधन मण्डलले प्रकाशित गरेको ‘पृथ्वीनाराण शाहको उपदेश’ (२०२५ः९६७–९६८) मा पढ्न पाइन्छ ।

    यसै गरी यो पत्रको फोटोकपि काठमाडौं स्वयम्भु निवासी अन्वेषक देवीराम श्रेष्ठले पनि राष्ट्रिय अभिलेखालयको मुखपत्र ‘अभिलेख’को वर्ष ३१ पूर्णाङ्क ३१ (२०७०ः६१)मा ‘तिब्बतमा गोर्खा मुद्राको प्रचारःऐतिहासिक अध्ययनको पाटो’ शीर्षकको लेखमा देख्न सकिन्छ ।

    पृथ्वीनारायण शाहले वाणिज्यदूत हरिदेव पण्डितलाई दिएको सुन कारोबार सम्बन्धी आदेश खुल्ने यो फोटोकपिको सार यस्तो छः
    …चाडो गर्नु पर्ने काम हो ढिला नगर । भोटले तोलाको १८ रुपैयाँमा दिन्छु भनेर खबर पठायौ, १६ रुपैयाँमा मिलाऊ । कुटेको फुकेको नभई शुद्ध सुन लेऊ । पित्तलको धुलो मिसिएको हुन्छ होशियार हुनु । तोलाको १६ रुपैयाँमा दिएन भने एक सुका पनि थप । त्यतिमा पनि दिएन भने तोलाको १७ रुपैयाँ पनि लगाऊ । तोलाको १७ रुपैयाँमा मिल्यो भने १२ देखि १५ हजार तोलासम्म सुन खरिद गर्ने आँट गर ।

    यो पत्रको जस्ताको तस्तैः
    स्वस्तिश्री गिरिराजत्यादि मन्महाराजाधिराज श्रीश्रीश्री
    मत्पृथ्वीनारायण साहदेवनां सदासमर जियनाम्
    स्वस्तिश्री सर्वोपमा जोगेत्यादि श्री हरि पंडितकेषु जेथा जो
    गपूर्वक पत्रमिदं इहा कुसल ताहा कुसल चाहिय जेहिते परम
    आनंद होइ. आगे पत्र आयो अर्थ मालुम भयो उप्रांत जय वि
    ति गरि पठायाका छौ जोगे विंति गरि पठायाछौ तर अलि ढिल
    गरेउ चाडो गन्र्या काम हो अव ढिलो नगर ताहाका जस्तो ष
    बर पाउछौ जस्तो षबर. चाडो पढाउन्या गर उप्रांतम कु
    ति गयां र भोट्याहरुको सो¥हको भावमहां त भयन अठार
    भन्या दिन्छौ भन्या. सुना पनि दिन तयार भया. १८ भाव
    महां नमिल्दा म षासाको जगातसंम उठेर आउदा
    भोट्याले थामि पठाया र म थामिया भोट्यासं मै
    ले यति वोंल्यां कुटन फुकन चाहि भाव सोह«ै
    भनि मैले भनि राष्या छ भनि पठायाछौ. परन्तु कुटिफुकि नाहि
    उसै स्व¥हलाई दिन्या भया आँटक्या होला परंतु
    सुन घटिया नलेव. पीतलको धुलो मिस्याको हुन्छ
    तस्माहा पनि नजर राषिकन लेव कदाचित स्व¥हलाई
    त दिएनन्त तिमिले पेटमहा राषनु चाहिन्छ नकुटि
    नफुकि स्वर उपर सुका थप भन्या पनि आंट यति
    महा पनि कदाचिन नपस्या पनि नकुटि नफुकि
    सत्रको भावसंम
    तेति रुपिया मात्र मिलन्या भया तेतेकै राष सुन लेव
    नाहि सुन ज्मा बा¥ह पंध्र हजार तोला निस्कन्या भया आंट
    यो पल्लो छेउको कुरो हो पेट राषि गर ऐस्कागत
    को सुझ भोट्याले पाया भोट्या चन्हार्न तस्कार
    ण यो काम पेट राषि गर. परन्तु सुन आफना नजर
    विदि वोहण भनि आपना इस्टमित्र बुझि विन
    ति गरि पठाव. तहाँ वस्दोवस्त वन्यादेषि सुना प
    नि पठाइदेव. एति रुपिया पठाइ देव ये
    ति सुना मिलन्या छ भनि णिस्तुक पनि विनति
    गरि पठाव. भोटको क्या ह किकत छ स्व पनि वि
    धि विस्ता विनति गरि पठाव
    उप्रांत इहाँको हकिगत सुवेरु काठ पनि
    साँध माहा पु¥याइउ अरु समाचार पनि
    आनन्द छ. उप्रान्त राहात वन्द गर छा
    छैन. विधि विस्तार नराज वस्न्यात
    चंद्र मान पंडित कहानान् स्व सहि
    ताहा चालिस पचास मुरि अन्न भोट
    भयो भन्याको सुनिउ. त्यो कस्को वा
    को वाछ गये विसेद गरि राष विज्ञषु
    किमधिकं मिति फाल्गुण सुदि ६ रो
    ज ५ मुकाम नुवाकोट माडि सुभं

    मधेशतिर सुन पैठारी
    पृथ्वीनारायण शाह भोटबाट सुन किन्थे र मधेश अर्थात् भारततिर सुन बेच्थे । यसको प्रमाण खुल्ने पत्र संशोधन मण्डलले ‘पृथ्वीनारायण शाहको उपदेश’ (२०२५ः९६९–९७१) मा यसको प्रमाण खुल्ने पत्र छापेको छ । यो पत्र पृथ्वीनारायण शाहले हरिदेव पण्डितलाई १८१३ चैत १२ गते लेखेका हुन् भनी संशोधन मण्डलले लेखेका छन् ।

    यस पत्रमा १८ रुपैयाँ तिर्न पनि तयार हुन पृथ्वीनारायण शाहले हरिदेव पण्डितलाई पत्रमा आदेश दिएका छन् ।१८१३ चैत १२ गते लेखेका पत्रमा पृथ्वीनारायण शाहले उत्तर (तिब्बत)बाट आएको सुन दक्षिण (मधेस)तिर बेच्ने गरेको र मधेसबाट सुनका लागि व्यापारी (महाजन)का मानिस आउने गरेको संकेत पनि गरेका छन् । पत्रमा ‘मधेशबाट महाजनका मानिसहरु रुपियाँ लिकन यहाँ आइरह्याछन् टक्सार चलाउनु प¥यो अठारैलाई पनि आँट गर’ भनी उल्लेख गरिएबाट पृथ्वीनारायण शाह उत्तरतिरबाट सुन खरिद गरी दक्षिणतिर बेच्थे भन्ने प्रमाणित हुन्छ ।

    इतिहास शिरोमणि आचार्य (२०६१ः४७६)अनुसार कुतीतिरबाट आएको सुन राजकोषमा थन्याउनका निमित्त किनिने भएको व्यवस्था देखिन्न, विदेशी व्यापारीलाई बिक्री गरेर नाफा लिने व्यवस्था भएको देखिन्छ ।

  • कमेन्ट गर्नुहोस्