• कुन्साङ काका: उनका कुरा नै बेग्लै !   

  • हङकङको पिक घुम्न जाँदा खगेन्द्र सङ्ग्रौला।

    कुरो आजभन्दा झण्डै एक वर्ष अघिको हो। यो छाप्ने र अनलाईनमा पनि पठाउने भनेर लेख्दा-लेख्दै ‘सुब्बा साप’ र ‘बेलाको बोली’ (उनको स्तम्भ र ट्विटरको नाम) बुढाको हङकङ भ्रमण र भेट बारे कान्तिपुरमा लेख मार्फत ‘कल्याङ-मल्याङ’ चल्न थाल्यो। त्यसो हुन थालेपछि मैले लेखिसकेको कुरा पनि थन्क्याएँ। भएको के थियो, आफू त्यता नहुनाले जानकारी भएन। लेखेर थन्क्याएको धेरै पछि यसलाई ल्याउने जोग जुर्यो।

    लेखक खगेन्द्र सङ्ग्रौला हङकङ आउने भनेको सुनेदेखि नै वहाँसँग भेटेर गफ-गाफ गर्ने चाहना भएको हो। मनपर्ने नेपाली कलमजीवि मध्ये उनी एक हुन्। उनले भोगेको नेपाली समाजको समयबारे पढ्ने र सुन्ने मौका पाउँदा मज्जा नै आउँछ। वहाँका कृतिहरु मध्ये ‘सम्झनाका कुईनेटाहरु’ र ‘आफ्नै आँखाको लयमा’ मन पर्यो। पछिल्लो पटक पढेको उनको पुस्तकमा‘बाल्यकालका पदचापहरु’ र उनले अनुवाद गरेको ‘सत्यजित रेका कथाहरु’ हुन्। सङ्ग्रौलाका बारे धेरै मानिसहरुको विचारसँग सहमत छु, लेखाईहरु भन्दा बोलीको माध्यमद्वारा उनका कुरा/विचारहरु सुन्न अझ मज्जा लाग्दछ, कर्णप्रिय लाग्छ। यदि टिभी प्रस्तोता वा अन्तरवार्ताकारले प्रश्न सोध्ने ढङ्ग पुर्याउने हो भने काकाको अन्तरवार्ता सुनौ-सुनौ नै लाग्ने हुन्छ। अझ कुनै विषय दिएर मोनोलग बोल्न दिने हो भने झन उत्तम हुन्छ। यस अघि प्रत्यक्ष भेटघाटको मौका मिलेको थिएन।

    पोखरा लिटरेचर फेष्टिभलमा मोडरेटरको भूमिकामा पत्रकार देवेन्द्र भट्टराईले वहाँ र आख्यानकार ध्रुवचन्द्र गौतमबीच ‘अलिखित साहित्य’को विषयमा गराएको सम्वादबाट थाहा पाइयो कि काका ‘ट्वाक'(मध्यपान) मात्र नभएर ‘वाक'(मर्निङ वाक)को पनि पारखी हुन्। हङकङलाई त्यसै पनि ‘कङ्क्रिटको शहर’ भनिन्छ, भौतिक विकास चरम बिन्दुमा छ। तथापि, यदि स्वस्थ रहने चाहने हो भने शहर भरी खुलेका जिमखाना मात्र नभएर प्रकृतिसँग नजिक रहेर गरिने हाईकिङको मज्जा लिने ठाउँहरु पनि प्रशस्त छन्। हाईकिङको चस्का बसाई दिने इन्द्र वनेम दाइ हुनुहुन्छ। पहिले वहाँसँग निकै हाईकिङ गइन्थ्यो, आजकल कम छ। तर पनि, कहिले एक्लै त कहिले अरु मित्रहरुसँग हाईकिङ जाने गर्छु।

    इन्द्र दाइका कारण नै कुन्साङ ‘ब्रो’सँग हाईकिङका साथै लामो गफ गर्ने मौका पाईयो। मौका जुर्याउन सहयोग गरिदिनुहुने वनेम दाइ र किसन दाइलाई धन्यवाद ! जाने सल्लाह भएको रुट रह्यो वनेम दाइको मनपर्ने रुट ‘पिक रुट'(पोक फु लामबाट पिक र पिक सर्कल रुट)। धेरै जना जाँदा गफ गर्ने मज्जा लिन नपाईने हुनाले छापामार शैलीमा सुटुक्क जाने निधो भयो। पाहुना काका, इन्द्र दाइ र म, बिहान मगेन्द्र दाइ पनि जोडिनुभयो । १४ अप्रिल २०१८, बिहान ७:१५ मा जोर्डन रोडबाट हामीले 790X बस लिएर हाईकिङ रुटको सुरुको बिन्दुतर्फ प्रस्थान गरिसकेका थियौं। ढिलो सुत्ने र ढिलै उठ्ने हङकङ शहरको लागि शनिबारको दिन सवा सात बजे बिहानै मानिन्छ।

    पिक घुम्ने चार जनाको समूह।

    सङ्ग्रौलासँग साहित्य, राजनीति र राजनीतिक नेताहरुको मात्र होईन, समसामयिक नेपाली परिवेशको बारे पनि कुरा भए। गफ गर्न निक्कै रसिक उनी अझै युवा जोशले भरिपूर्ण छन्। गफ गर्दै हिंड्दा कुनै रसिक दुई टुक भन्नुछ भने, हिंड्दा-हिंड्दै ट्याक्क पछि नै रोकिने र ध्यान खिच्ने शैलीमा कुरा राख्ने अनौठो चाल रहेछ।

    राजनीति: छनौट र अनुभव 
    सङ्ग्रौला राजनीतिक रुपमा सचेत प्राणी हुनुहुन्छ। सचेत नागरिक जो कुनै वादका समर्थक त होला, त्यो वादको दास होईन। मार्क्सवाद, माओवाद, समाजवाद, साम्यवाद लगायत सबै निखारी सक्नुभएको छ। सबैको स-विस्तार व्यख्या गर्न सक्नुहुन्छ। नेपालका आफूलाई कम्युनिष्ट भन्न रुचाउनेहरु धेरैले उनले अङ्ग्रेजीबाट नेपालीमा उल्था गरेको मार्क्सवाद, माओवादसँग सम्बन्धित विभिन्न पुस्तक पढेर आफू कम्युनिष्ट भएका छन् । उनका ती पुस्तक पढ्ने लाईनमा कम्युनिष्ट आन्दोलनका धुरन्धर मोहन वैद्य पनि हुनुहुन्छ।

    पञ्चायतकालमा शिक्षण पेसामा लाग्नुभएका वहाँ, बिहान ‘श्रीमान् गम्भीर नेपाली…..’ गाउन विवश भएता पनि राति-राति विद्यार्थीलाई राजनीतिक प्रशिक्षण दिनुहुन्थ्यो। उनकै शब्दमा भन्ने हो भने उनी ‘लाल राजनीति’मा लागिसकेका थिए।

    आफूलाई बाम्पन्थी-कम्युनिष्ट भन्नेहरुसँग उनको ठूलो आशा थियो भन्ने कुरा उनीसँग गफ गर्दा छिप्दैन। विशेष गरि पछिल्लो चरणमा ६२-६३ सालको आन्दोलन पछि ठूलो राजनैतिक परिवर्तनकामी भनी दाबी गर्ने माओवादीसँग  आशा गरेका थिए भन्ने कुरा शब्द र भाव दुवैले व्यक्त गर्नुहुन्थ्यो। कमरेड प्रचण्ड र उनको माओवादी पार्टिमा पछिल्लो चरणमा आएको विचलन प्रति उनी तितो कटाक्ष गर्थे।

    आफूलाई परिवर्तनकामी शक्ति भनेर दाबी गर्ने माओवादी केन्द्र त्यतिखेर एमालेको ‘टाङ मुनि’ छिर्न लम्पसार परेको उनको बुझाई थियो। आफ्नो परिवर्तनको एजेण्डा त्यागेर एमालेसँग मिलेको र उनकै शब्दमा ‘गठेबाम’ बनाएको उनको भनाई थियो।

    अहिलेको बाम सरकार ठूलो बहुमतका साथ सरकारमा आएको हुनाले अझ कठोर भएर प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता लगायत आधारभूत अधिकारहरु कटौती हुनसक्ने डर व्यक्त गर्नुहुन्थो। “रेल ल्याईदिने चुप्प लागेर बसेको छ, उत्तरले दक्षिणको चाल हेरेर बसेको छ र दक्षिणले उत्तरको, तर बनाई माग्ने भिखारी चाहिँ हो-हल्ला गर्दै हिंडेको छ।”, रेलको कुरामा यसो भन्थे। हवाई कुरा गर्न छोडेर काम गर्न थाल्नुपर्ने टड्कारो अवस्था देख्छन्।

    विपक्षी नेपाली काङ्ग्रेसको अवस्था ‘भिजेको मुसो’ जस्तो भएको र विचार बिनाको एक झुण्ड जस्तो मात्र देखिएकोले अहिलेको अवस्थामा लेखक, पत्रकार, समाजसेवी, नागरिक समाज सबैले मिलेर सरकारको खबरदारी गर्नुपर्ने आवश्यकता रहेको छ रे ! भन्नुहुन्थ्यो, “वर्तमान सरकारले काम गरे त राम्रै हो, तर लक्षण त्यति राम्रो देख्दिन।”

    “नेपालमा कस्तो खाले राजनितिक व्यवस्था ठीक होला त ?”
    “सुधारिएको समाजवाद”। (यस प्रश्नमा केही अलमलिए पछि मैले प्रम्प्ट गरें।)

    “अनि तपाईलाई मनपर्ने नेता नि?”
    “प्रदिप गिरी”

    गिरी उनलाई ‘गुरु’ भनेर सम्बोधन गर्छन्। गगन थापासँग पनि आश रहेको स्वीकार्नु भयो। एमालेका घनश्याम भुषाल, प्रदिप ज्ञावाली पनि उनलाई मन पर्छन् भन्ने भान हुन्छ। माओवादी नेता सोनाम साथीसँग पनि उनको जिग्री दोस्ती छ। शारीरिक रोग लागेर अशक्त भए पनि साथी बारम्बार सङ्ग्रौलासँग भेट्छन्।

    प्रधानमन्त्रीलाई संघियता, गणतन्त्र र धर्म निरपेक्षता विरोधीको रुपमा बुझ्नुहुन्छ। भन्थे,“व्यक्ति भन्दा पनि प्रवृतिको विरोधी हुँ”। प्रधानमन्त्री कार्यालय अन्तर्गत सीआईबी, सम्पति सुद्धिकरण आयोग, अख्तियार जस्ता छानबिन गर्ने अधिकार प्राप्त संस्थाहरु राख्दा अधिनायकवाद आउने सक्ने खतरा देख्ने मात्र होइन, एउटै पार्टी ठूलो शक्तिका साथ सरकारमा गए विकास हुने सम्भावना एकातिर हुन्छ भने अर्कोतर्फ ठूलो भ्रष्टचार पनि हुनसक्ने तर्क गर्नुहुन्छ।

    कुन्साङ काकासँग कुरा गर्दा, वहाँले पुराना कम्युनिष्ट नेताहरुको पनि कुरा गर्न भ्याउनुभयो। निर्मल लामा र मोहन वैद्य एउटै पार्टिमा हुँदा ताकाको कुरा हो रे ! लामाले  सङ्ग्रौलालाई सुनाए अनुसार, लामाको मध्यपान गर्ने बानी भएको कारण उनका पार्टिका अरु कमरेडहरुले उनको उछितो काड्थे। जति भन्दा पनि नमाने पछि एकपटक लामालाई सम्झाउने हेतुले कमरेडहरु उनी भएको ठाउँ पूर्वी नेपालतिर हान्निए। भेटेर निक्कै सम्झाई टोपले पनि।

    पहाडी इलाका भएका हुनाले जाडो हुने भइ नै हाल्यो। बेलुका बास बसेको ठाउँमा लामाले ‘कान तताउने’ कुरा झिके। जाडो धेरै भएको हुनाले सबैको सहमतिमा मध्यपान गर्ने सल्लाह भयो ! रक्सी सार्न बसेका लामाले पिए जस्तो मात्र गरे, र अरुलाई चाहिँ पुग्ने गरि पिलाए ! सम्झाउन गएकाहरुको चर्तिकलाले रमिता नै भो ! रक्सीले मातेर कमरेडहरुले झण्डै-झण्डै हातले भुईं टेकेर खुट्टा आकाशतिर पारेर गरेको भाव-भङ्गिमा चाख मानी-मानी पछिसम्म निर्मल लामाले कुन्साङ काकालाई सुनाउथे।

    कट्टर वाम्पन्थी राजनीति गरेर विभिन्न पुस्तक लेखेको, विभिन्न नेताहरुलाई उनकै प्रशिक्षणद्वारा कम्युनिष्ट आन्दोलनमा ल्याउन सफल, तर अहिले हिन्दू राष्ट्रको वकालत गर्ने एक नेताको यौन विचलनको किस्साहरु पनि सुनाउन भ्याए।

    साहित्यकार पारिजातका दिदीसँग वैवाहिक सम्बन्ध गाँसेका निर्मल लामा पनि उनीहरुसँग नै बस्थे। पैसाको अभाव भएको समय मासु खान मन लाग्दा राँगाको खुट्टा किनेर ल्याएर धेरै समयसम्म उमालेर सुप बनाउथे, जसलाई लामा कै भाषामा ‘साम्यवादि झोल/रस’ नामाकरण गरिएको थियो। लामा भन्थे रे, “बुझ्नुभो सङ्ग्रौला जी, जब हाम्रो साम्यवादी सरकार आउनेछ, तब हामी पनि फलमासु खान पाउनेछौं !”

    वि. सं. २०५९ सालमा जब तत्कालिन राजा ज्ञानेन्द्रले राज्य शक्ति आफ्नो हातमा लिए, त्यतिखेर राजनीतिक पार्टिहरुप्रति नागरिकहरुमा तीव्र असन्तुष्टि भएको अवस्था थियो। आन्दोलनमा आउन उनीहरुले बारम्बार अपिल गर्दा पनि जनताले कान थापिदिएको अवस्था थिएन । जनसहभागिता ज्यादै न्यून थियो। त्यही समय हो जब नागरिक समाजको नेतृत्वमा आन्दोलन अगाडि बढेको थियो। दलहरुले त धेरै पछि मात्र आन्दोलनको नेतृत्व लिए।

    कुन्साङ काका पनि त्यो आन्दोलनमा नेतृत्व गर्दै मिसिए। त्यति खेरदेखि नै हो उनले अखबारी लेखनमा आफ्नो छदम नाम ‘कुन्साङ काका’ भनेर लेख्न थालेका हुन्। जन-आन्दोलनको ज्वारभाटा उठेर आयो, जनलहर ठूलो थियो।दरबारको जग नराम्रोसँग हल्लियो।

    त्यही समय थियो जब सङ्ग्रौलालाई डर-धम्की पनि दिइयो। अन्जान व्यक्तिले आधा रातमा ल्याण्डलाईन फोन सम्पर्क गर्ने, घरी केही पनि नबोल्ने, घरि नबुझिने गरि के-के भन्थे रे ! अनि कहिले साउति गरेको भाकामा ‘तलाईं बाँच्न मन छैन?’ भनेर पनि धम्क्याईन्थ्यो ! अनि कहिले चाहिँ उनले पढाएका विध्यार्थीहरु(जो तत्कालिन सेनामा थिए)लाई पठाईन्थ्यो। आफूले चिनेको विद्यार्थीहरु उनी केही भनेर टार्थे, नचिनेकाहरुलाई केही पनि भन्दैनथे।

    साहित्य र पारिजातका कुरा
    लामो समय साहित्यका विभिन्न विधामा कलम चलाएका सङ्ग्रौला मान्छन् कि उनमा साहित्यकार पारिजातको प्रभाव छ, उनको लेखनमा प्रभाव छ । पारिजातसँग समिपमा रहेर निकै संगत गरेका छन् ।

    पारिजात स्मृति दिवस” को सन्दर्भमा आफ्नो विचारहरु राख्दै सङ्ग्रौला।

    पारिजातको बहुचर्चित कृति ‘शिरिषको फूल’मा भएको मुख्य पात्र सकम्बरी वा छोटकरीमा ‘बरी’को कथा पारिजात आफ्नै जीवनसँग मिल्दो-जुल्दो छ जुन दु:ख र विषादले भरिपूर्ण छ। तथापि, सङ्ग्रौला आफै चाहिँ बरी भन्ने पात्रको जीवनको भोगाईसँग सामञ्जस्यता राख्दैनन्। मान्छेको जिन्दगीको भोगाई सु:ख र दु:ख दुवै हुने उनको बुझाई छ। रुपैले पनि अत्यन्त सुन्दर पारिजात काठमाण्डौ आएपछि ‘पुरुष ब्याधा’हरुबाट पीडित हुँदाको दु:खद् अवस्थाको बारेमा पनि भन्नुभयो ।

    पारिजातलाई जागिर खानको लागि प्रज्ञा प्रतिष्ठानबाट नबोलाईएको होइन, तर वहाँले प्रज्ञा प्रतिष्ठानलाई घोडाको तबेलासँग दाँज्दै त्यसमा ‘बाँधिएर चारो खान नआउने’ अड्डि कस्नुभयो। शारीरिक रुपमा अस्वस्थ भए पनि लोकल रक्सी सेवन गर्नु पारिजातको बानी थियो।

    “सङ्ग्रौला तिमी त गोराहरुलाई पढाउँछौ, कमाई पनि राम्रै हुँदो हो, कहिलेकाहिँ त मीठो रक्सी र चुरोट खुवाउ न हौ।” भन्नुहुन्थ्यो रे ! उनी पारिजातलाई मनपर्ने खुकुरी रम फुल वा हाफ र मनपर्ने चुरोटको एक बट्टा लिएर जान्थे। पारिजात साह्रै खुसी हुनुहुन्थ्यो।

    शारीरिक आपाङ्गता भएता पनि पारिजात मानसिक रुपमा तीक्षण र सामाजिक चेत भएको सशक्त महिला हुनुहुन्थ्यो। त्यसको राम्रो उदाहरण वहाँको लेखनमा देखिन्छ। साँच्चै भन्ने हो भने पारिजात आफै एउटा महिलावादी (फेमिनिष्ट) हुनुहुन्थ्यो, अभियन्ता हुनुहुन्थ्यो। सामाजिक जागरण ल्याउनको लागि रामेश, रायन, अरिम आदि सम्मिलित ‘राल्फा’ नामक साङ्गीतिक आन्दोलन सुरु गर्नुभयो। राल्फा त्यही समूह हो जसले क्रान्तिकारी गीत-सङ्गीतको माध्ययमद्वारा एउटा क्रान्ति नै ल्याएको मानिन्छ।

    सङ्ग्रौलाका अनुसार एक समय पारिजात कम्युनिष्ट आन्दोलनमा पनि लाग्नुभयो।

    भन्नुहुन्छ, “टाँढबाट हेर्दा, वहाँलाई लाग्यो होला कि कम्युनिष्टहरु दुधले धोएको, चोखो होलान्। तर, ती त हाम्रै समाजका व्यक्तिहरु थिए। नजिकबाट हेर्दा त्यहाँ मोहनविक्रम देखिए, निर्मल लामा देखिए र मोहन वैद्यहरु देखिए। अनि वहाँलाई दिक्क लागेर आयो र कम्युनिष्ट आन्दोलनबाट टाँढिनुभयो।”

    साहित्य लेखे बापत पाईने पुरस्कार “केही हो, र केही होईन पनि” भन्ने कुटनीतिक उत्तर दिनुभयो।
    महान भन्न लायक लेखक र विचारकहरु तोल्स्तोय, एन्तन चेकव र म्याक्सिम गोर्कि साहित्यमा नोबेल पुरस्कार पाउने दाबेदार हुँदा-हुँदै पनि नदिइएको तितो सत्यलाई पनि सम्झनुभयो। त्यसैले पुरस्कार पाउँदैमा कोही खुसी हुनपर्ने र नपाउँदैमा कोही दु:खी हुनु पर्दैन रे !

    “तपाईंको विचारमा पढ्नै पर्ने पाँच पुस्तकहरु कुन-कुन हुन् ?”

    “मार्क्सका पुस्तकहरु, कम्युनिष्ट पार्टिको घोषणापत्र (मार्क्स र एङ्गेल्सद्वारा संयुक्त लिखित), गीता, कुरान र बाईबल ।”

    अझै पनि लेखक सङ्ग्रौला उस्तै चोटिलो लेख्नुहुन्छ, बोल्नुहुन्छ। अखबार, अनलाईन र युट्युबमा छाइरहेका छन्। केही हप्ता अघि नेपाल जाने मौका जुर्दा वहाँसँग भेट्ने इच्छा थियो। नेपाल आउँदा भेट्नु भन्नुहुथ्यो। मेरो आफ्नै व्यस्तता भेट्ने समय जुरेन। काका वहाँकै शब्दमा “अल्छिहरुको बसिबिँयालो” ट्विटरमा व्यस्तै हुनुहुन्छ। उनका ट्विटहरु फलो गर्छु। सत्तामा रहेकाहरुसँग पैसा र शक्तिको श्रोत हुने हुनाले उनीहरुलाई सधैं खबरदारी गरिरहनुपर्ने आवश्यकता छ रे ! सत्ता संचालकहरु सधैं उनको तारोमा हुन्छन्।

    बल्झिरहने प्रोस्टेटको समस्याको कारण उनको अस्पताल आउ-जाउ बाक्लै छ। अरु ‘खत्र्याक-खुत्रुक’ स्वास्थ्य समस्याहरु पनि आइरहन्छ।

    यी प्रौढ ‘बेलाको बोली’को समर्थक मात्र होइन, विरोधीहरु पनि प्रशस्त छन्। प्रगतिशील विचारलाई सधैं अङ्गिकार गर्ने यी लेखकले एउटा सल्लाह दिए, “उमेरसँगै आउने बुढोपनले आफूलाई छोप्न नदिनको लागि सधैं युवाहरुसँग संगत गर्नु !”

    एकबारको जुनीमा खगेन्द्र दाइसँग फेरि कसो भेट नहोला र !

  • कमेन्ट गर्नुहोस्