धरान, टोरो बाइक र सपनाको सर्दु किनार
मोटरसाइकलको दाम जम्मा २९ हजार पानसय । टोरो बाइक – पचास सिसिको हुनुपर्छ । रातो, चिट्टिक्कको छरितो । आहा ! क्या सुन्दर । मेरो हुने भो । गजक्क परेको थिएँ ।
अलिकति आफ्नै जोहो थियो । केही साथीभाइबाट सरसापट लिएँ । १६ हजार रूपियाँ भेला पारेर मासिक किस्ता र वार्षिक ब्याज तिर्ने शर्तमा एउटा सहकारीबाट बाइक निकालेँ ।
बीस वर्षअघि धरानको कुरा हो । गज्जबको सानो मेसिन छ । तीन लिटर पेट्रोल जाने ट्याङ्की । एक लिटर बराबर अस्सी किलोमिटर कुद्ने । बास् । अरू के चाहियो ?
दुई जना चढाएर सेउतीदेखि सर्दु बगरसम्म, तीनकुनेदेखि फुस्रेसम्म हुँइक्याउने तागत छ । मेञ्जो, त्यतिबेलाको २१ बर्खे तन्नेरी ठिठो फिलिमको हिरोभन्दा के कम ? बाइक चढ्ने सपना विपना भएकोमा यो मन फुरूङ थियो । त्यतिबेला धरानमा मात्रै दुई ओटा टोरो बाइक थियो । त्यसै युनिक भइगो । एउटामा पुरानो बजारतिरकी चेली चढ्थिन् । अर्को मंगलबारे चोकमा मसँग थियो । मैले थाहा पाउँदासम्म धरानमा तीनोटासम्म टोरो थिए । तेश्रो चाँहि पत्रकार निलीफा सुब्बाको हुनुपर्छ । तर केही वर्षपछि ती टोरो बाइकहरू डाइनोसर जसरी धरानबाट लोप भए ।
२०५५ सालतिर हरेक बिहीबार धरानबाट न्यूज टाईम्स साप्ताहिक निस्किन्थ्यो । साप्ताहिकका संस्थापक तथा सम्पादक राजकुमार दिक्पाल एक वर्षपछि नै धरान छाडेर जन्मथलो धनकुटा फर्किए । दिक्पाल दाइ गएपछि जनकऋषी राई सम्पादक भए ।
ऋणमै चले पनि पत्रिकाले नाफा कमाउने लक्षण देखाउँदै थियो । पत्रिकाको उठ्न बाँकी रकम धेरै थियो । हठी बजार पैसा दिन आनाकानी गर्थ्यो । खासमा पत्रिकाको कार्यालय छाताचोकमा थियो । घरभाडा तिर्न नसकेपछि पुतलीलाइन सर्यो ।
मसँग टोरो थियो । पत्रिकाको पैसा उठाउने लगायत व्यवस्थापनको काम केही हप्ता फुर्तिसाथ गरें । थपक्क चढ्यो, टरर कुदायो । कम्ता मज्जा हुन्थ्यो ! मान्छे पुर्याउन, ल्याउन, प्रेस आउन-जान अनि रिर्पोटिङमा जान, घुम्न । वाह ! के चाही भएन ।
विज्ञापनदेखि पैसा उठाउनेसम्म सबै काम भ्याइने । सबै कामको सेतु त्यही टोरो थियो । वाह ! टोरो तेरो जवाफ छैन । एक महिनापछि साथीभाइमाझ सलमान खानभन्दा चर्चित भयो – मेरो टोरो ।
हुन पनि त्यसमा नचढ्ने मेरा साथी कोही थिएनन् । साईकलपछि प्रदीप सेमीको अग्रगामी छलाङ त्यही टोरो थियो । पहिलो पटक तरहरादेखि धरानसम्म प्रदीपले कुदाएको बाइक त्यही टोरो हो । तत्कालीन डेक्सटप पब्लिसिङ तथा डिजाइनर साथै अहिले चर्चित धराने जेसी विष्णु बरालको प्रिय बाइक पनि त्यै । पत्रिकाको कामले उनको अफिस पुगिरहन्थें । विष्णुजीको भने अर्कै दाउ हुन्थ्यो । मेरो टोरो देख्यो कि उनको कही न कही जाने काम परिहाल्थ्यो !
सहकर्मी डम्बरकृष्ण श्रेष्ठ मोरङ, पथरी शनिश्चरेमा रहेको घरसम्म टोरो बाइक लिएर पुग्ने पहिलो पत्रकार बने । टोरो बाइक चढ्ने यस्ता धेरै किर्तिमानी पात्रहरू छन् जसले एउटा रफ्तारको जीवन आत्मसात गरे । उनीहरू जीवनलाई आज पनि त्यही रफ्तारमा अगाडि बढाइरहेका छन् ।
साथीहरू मेरो टोरोलाई ‘भमरा’ भन्थे । त्यसको आवाज भमराको जस्तो थियो । साइकलभन्दा सजिलो । पाइडल नहुनु र मोटर हुनुको अनुपम सौन्दर्य । कुदाउनलाई लाईसेन्स पनि नचाहिने । धरानको हरेक चोक र बाटोका आँखाहरू पर देखुञ्जेलसम्म हेर्थे । टोरोलाई ‘रातो भाले’ भन्दै जिस्काउनेहरूको कमी थिएन । तर ‘निकनेम’ चाँही ‘बसन्ती धन्नो बाइक’ नै कायम भो ।बाइक थियो कि उतिबेलाका मजस्ता युवाको ‘चलताफिर्ता’ खेलौना । चढेपछि मन चङ्गा, छाती चौडा र ओँठमा मृदुमुस्कान सवारी भइहाल्ने । हेर्नेलाई पनि काउकुति ।
मेरो टोरोसँग जोडिएका केही रमाइला किस्सा छन् । सम्झिएँ, सुनाउन मनलाग्यो ।
भेडेटोरको यात्रा ।
धरानदेखि १६ किलोमिटर उकालो लागेपछि भेडेटार पुगिन्छ । मेरो पचास सिसिको ‘बसन्ती धन्नो बाइक’ले त्यो उकालो छिचोल्न सक्छ–सक्दैन थाहा थिएन । मलाई भने आफ्नै बाइक लिएर भेडेटार पुग्ने हुटहुटी ।
मन चङगा थियो, ज्यान वायुपंखी । एक्लो ज्यान, लागेँ भेडेटार । पुर्याउला–नपुर्याउला भगवान भरोसे । जिरो–पोइन्टदेखि निसाने काटें । अब चाँहि पुग्छु भन्ने लाग्यो । चानचुन एक घण्टापछि म र मेरो टोरो भेडेटार पुग्यौं ।
पुग्नु के थियो र ! पुलिसको इशारा आइहाल्यो त । ‘लाईसेन्स सोध्ने भो । अब चाँहि इज्जतको धज्जी उड्ने भो । खेला खत्तम’ भनेर डरले तर्सिएको थिएँ । अब ‘म पत्रकार हो’ भनेर अलि घमण्डी स्वर निकाल्ने बेलाले छोयो भन्ने लागेको थियो । पुलिसलाई पत्रकार हो भनेर भन्दा छुट पाईन्छ भन्ने सुनेको थिएँ । सोही अनुसार मनमनै योजना बनाईसकेको थिएँ ।
लाइसन थिएन । निन्याउरो अनुहार लिएर हल्दार सा’बको नजिक पुगें । मलिन स्वरमा सोधे्र, ‘किन बोलाउनु भो हल्दार सा’ब ?’
मलाई हेरेर पहिले हल्दार सा’ब हाँसे । अनि भने, ‘यो पनि यहाँसम्म आईपुग्छ नि ! खै एक राउन्ड लगाउँ त ।’
मेरो सातो फर्कियो त ! फुत्त उफ्रिएँ । अनि हल्दार सा’बलाई बाइक सुम्पिएँ । हल्दार सा’बले पनि बडो मुस्कानका साथ भेडेटार चोकको दुई फन्को लगाए ।
रहर पुगेपछि, मेरो छेवैमा बाइक ल्याएर रोके । चाबी थमाए अनि सोधे, ‘यसको कति पर्छ ?’
‘तीस हजार,’ मेरो सातो फर्किसकेको थियो ।
‘लु ! यो गज्जब रहेछ ।’ हल्दार सा’बको अनुहारमा खुशी देखिन्थ्यो । म त झन् दोब्बर खुशी । लाईसनको सोधेको भए चाँहि म त्यँही ढल्थे होला ।
दिउँसो पिकनिक खाएर साथीहरूसँग छुट्टिने बेला म चाँहि एक्लै झर्ने योजना थियो । फेल खायो । एक जना महिला मित्र मेरो बाइकमै जाने भइन् । निसानेको उकालोमा हिड्न पर्ला है भनेर चेतावनी दिएको थिएँ । उनी मानिनन् । हामी झर्यौं ।
ओरालोको चापले धरान झर्ने थोरै दुई सय मिटर उकालोको राप मेञ्जोमेञ्जो थेग्यो पचास सिसिको मेरो ‘बसन्ती धन्नो’ टोरोले । उकालो कटेसी ती महिला मित्र पनि मज्जाले हाँसिन् र भनिन् ‘वाह ! टोरोले टार्यो । ’
अन्त म टोरोको मालिक पनि मख्ख हो ।
‘स्याबास् टोरो । ईज्जत राखिस्,’ मैले मनमनै भने ।
नमज्जा क्या ।
न्यूज टाईम्स साप्ताहिकमा मोडेलहरूको ‘क्लोज–अप’ छापिन्थ्यो र पूर्वमा निकै चर्चित पनि थियो । न्यूज टाईम्समा छापिने सबै ‘ग्लामरस’ फोटोहरू माछा भौडीको ‘कोलोरोमा फोटो स्टुडियो’मा बिरेन सुब्बाले खिच्थे । बजारमा बिहीबार आउने पत्रिकाको सबै काम बुधबार नै सक्नुपर्थ्यो ।
एउटा बुधबारको साँझ अन्तिम समयमा सबै ‘म्याटर’ आए पनि फोटो थिएन । फोटो ल्याउने जिम्मा टोरोको मालिक मलाई नै दिइयो । पुरानो बजारको माछा भौडी पुगेर बिरेनलाई सोधें, ‘खोइ फोटो ?’
‘फोटो प्रिन्ट भइसक्यो तर ल्याउन भ्याएको छैन । मोडल पनि यही छिन् । यसो गर न । मोडेललाई पुर्याउँदै उतैबाट फोटो लिएर जाउ,’ बिरेनले सुझाव दिए ।
उनी जर्बजस्त ‘बिजी’ थिए । ‘मोडर्न’ पहिरनमा सजिएकी मोडेल त्यही थिइन् ।
मैले भनें, ‘हिड्दै जाउँ ?’
बिरेनले जवाफ दिए, ‘तिम्रो मोटरसाइकलमा जाउ न । छिटो हुन्छ । मोडेललाई पनि लिएर जाउ । तिमीलाई चाहिने फोटो तिमी राख । बाँकी मोडेलले लान्छ । पैसा मैले मिलाइसकेको छु ।’
मैले मानें । मेरो टोरोमा मोडेल पनि चढ्ने भइन् । हिकोला फोटो स्टुडियो महेन्द्र क्याम्पस लाइनतिर थियो । माछा भौडीदेखि सुरू भएको मोडेलको खितिति स्टुडियो पुग्दासम्म रोकिएन । ब्रेक लगाए जसरी एकछिन रोकिने, फेरि खितिति सुरू । कसैले याद गर्यो–गरेन, मेरो अनुहार हेर्न लायक थियो सायद ।
उनको हाँसो र दशैंताका रेडियो नेपालको नाटकमा ‘शुम्भ–निशुम्भ’ वध गर्दा सुनिने दुर्गाको हाँसो उस्तै सुन्यो मेरो कानले । ती मोडेलको हाँसो नसकिदैं हामी फोटो धुलाउने ठाउँ पुग्यौं ।
खै किन हो । स्टुडियो पुगेपछि ती चेलीको अनुहार मैले राम्ररी नियालें । अनि भनें ‘आइपुग्यो ।’ उनी पछाडि नै बसिरहेकी थिइन् ।
उनले पनि हाँस्तै भनिन्, ‘ए थाहा नै भएन, सरी ।’
मेरो टोरो चढेर झण्डै दुई सय मिटर यात्रा गर्दा उनी किन हासिन्, मैले आजसम्म थाहापाएको छैन । यो उनको हिनताको उत्कर्ष थियो या सम्मानको पराकाष्ठा ? मैले पनि सोध्नै भुलें । अझै सोध्न मन छ । तर उनी कता छिन थाहा छैन ? यो संस्मरण पढेर उत्तर दिन्छिन् कि, तै आशा छ ।
टोरो कोमामा
‘साइड स्ट्यान्ड’ काम गर्न छाडेकोले ‘डबल स्ट्यान्ड’ लगाएर घर अगाडि ‘ड्रेन’को पक्की ढलानमाथि मेरो टोरो ‘पार्क’ गरेको थिएँ । हतार थियो । कतै जानु थियो । घरभित्र छिरेको दश मिनेट भएको थियो । बाहिर निस्कदाँ त मेरो ‘बसन्ती धन्नो बाइक’ गायब । पार्क गरेको ठाँउमा थिएन । यताउता हेर्छु, देख्दिनँ । कसैले लगेको पनि होईन । टोरो राखेको ठाँउमै गएर हेरेको । बिचरा, मेरो टोरो ! ड्रेनमा उत्तानो पल्टेको ।
कसैले केही गरेको थिएन । हल्का हावा चाँहि चलेकै हो । तत्कालिन मौसमविद्हरू – जनकऋषी राई, मोजेश राई र किशोर थुलुङले त्यही हावाको ‘ओभरडोज’ले टोरो ड्रेनमा खसेको निष्कर्ष निकाले । हेडलाइट झिरिप्पै । रातो ‘कभर’ चार ठाँउ चर्किएको । मेरो ‘बसन्ती धन्नो बाइक’ पाउजु लगाएजस्तो खिन्द्रिङ–खिन्द्रिङ कराउन पो थाल्यो ।
यो खबर मेरो पत्रकार विरादरीमा डढेलोझैं सल्कियो । साथीभाइबीच हेडलाइन पनि तयार गरेछन् । ‘भमरा बाइक हावाको झोँकाबाट सख्त घाइते’, ‘ड्रेनमा खसेको बसन्ती धन्नो बाइक कोमामा’ । सायद यस्ता रमाइला हेडलाइन मेरो टोरोप्रति उनीहरूको माया थियो । मेरा पत्रकार साथीहरूले आफैंले नकिनिन्जेल त्यो मेरो टोरो सबैको साझा सवारी थियो । सबैको प्रिय थियो ।
सुरूमै भनिहालें । टोरो युनिक थियो । कुनै पुर्जा बिग्रियो र बनाउनुपरे ६० किलोमिटर टाढा भारतको सीमाबजार जोगबनी पुग्नुपपर्थ्यो । त्यो पनि बाइक मिस्त्रीको ‘मुड’मा भरपर्ने । जान मन लागे जाने नभए चुपचाप एक हप्तादेखि एक महिनासम्म लाग्ने । खर्च र टेन्सन दुवै । बाइकमा हिड्ने बानी भएपछि बाइकबिनाको जिन्दगी निक्कै ‘स्लो’ हुन्थ्यो । बाइक किनेको दशा हो या सहकारीको बढ्दो ब्याजको भार – मनमा घरी–घरी एकोहोरो ढ्याङ्ग्रो बज्थ्यो ।
झण्डै आफैं कोमामा
भानुचोकको होटल युगमा प्रदीप सेमी, म र एक जना पाहुना सहित तीन जना भेला भयौं । जाँड पार्टी गज्जब रह्यो । समापनपछि हामी तीनै जना भानुचोकबाट छुट्टिदाँ रातको ११ बजेको थियो । प्रदीप साइकल चढेर बाँझगरातिर लाग्यो । टोरो चढेको म बुद्धचोक आइपुग्दा एउटा बिजुलीको खम्बामा झ्याम्म ठोक्किएँ । सारा संसार तिरिमिरि र अँध्यारो भयो । बिहान उठ्दा आफूलाई घरमै पाएँ । बाइकको हालत मेरोभन्दा खराब थियो । साँच्चै भन्नुपर्दा त्यो बेला मेरोभन्दा बाइकको धेरै माया लागेको थियो ।
कसरी घर आइपुगें, थाहै भएन । बाइक त जता लग्यो त्यतै जाने न हो । अनि म हाँसे । हराएको केही भेटिएन तर बाइक बाइस ठाँउ भत्किएको थियो । एक हप्ताको बेडरेस्टपछि बाइक बनाउन झण्डै एक महिना दौडधुप गरे । तर बाइक तङग्रिएन ।
केही दिनपछि प्रदीपको साइकल पनि त्यसै दिन हराएको खबर सुनें । तर कसैलाई थाहा भएन । प्रदीपले एक दिन मुसुमुसु हाँस्तै भनेको थियो – ‘मेरो पनि हरायो नी ।’
अरूको क्षति हेर्दा कहिलेकाही आफूलाई सान्त्वना मिल्दोरहेछ ।
ब्रेक फेल र ईर्मेजेन्सी ब्रेक
मेरो टोरो अधमरो अवस्थामा चल्दै थियो । पूर्ववत् अवस्थामा नफर्किने भएकोले नयाँ किन्नै उत्तम हुने मिस्त्रीले सल्लाह दिएका थिए । त्यति हुँदाहुँदै पनि सबैलाई त्यही मोरो टोरो चाहिने । कहिले राति, कहिले दिँउसो – साथीहरूको कृपाले त्यसले करिब एक वर्ष कहिले फुर्सद पाएन । बिचरालाई पनि बुढेसकाल र अभाव दुवैले छोएको थियो । नियमित कमाइ थिएन । त्यै पनि सामाजिक काम खुब गर्नुपर्ने ।
हामी गोर्खा लाहुरेका छोराछोरीले धरानमा एउटा युवा मञ्च खोलेका थियौं । बेलायती सेनामा भर्ती भएर योगदान दिने लाहुरेहरूको आन्दोलनलाई पूर्ण बनाउन, गोर्खाली पुर्खाहरूको अधिकार र वीरताको गाथालाई सन्सारभर फैलाउन हामी मञ्चमार्फत् गोर्खा आन्दोलनको हिस्सा बनेका थियौं । अध्यक्ष थिए, किशोर थुलुङ । म चाँहि सचिव । तीन दिने गोर्खा भूतपूर्व सैनिकहरूको फोटो प्रर्दशनी गर्ने भयौं । फोटोको सबै जिम्मेवारी मोजेशलाई थियो । साथी पवन राईले अरू कला र व्यवस्थापनको जिम्मेवारी पाएका थिए । त्यसैको सिलसिलामा पवनलाई टोरो चाहिने भो ।
मैले भने,‘यसको ब्रेक छैन ।’
पवनजीले टोरोनै लिएर जाने अड्डी कसे । नलगे भोलि हुनुपर्ने काम अधुरै रहने छाँटकाँट देखियो ।
मैले ब्रेकको असलियत खोल्दै भनें ‘ओरालोमा रोक्न, उकालो घुमाएर बिस्तारै खुट्टाले रोके सकिन्छ ।’
पवनले पनि हाँस्दे भनेका थिए,‘यसलाई रोक्ने मसँग धेरै आइडिया छ ।’ बिना ब्रेकको टोरो लिएरै गए ।
काम सकेर सैनिक भवन फर्किदाँ पवनले देवान्द्री राई बहिनीलाई बाटोमा भेटेछन् । गोर्खा युवा मञ्चकी सदस्य देवान्द्री पनि सैनिक भवन आउँदै थिइन् ।
उनलाई मोटरसाइकलको ब्रेकबारे केही थाहा नभएकोले ढुक्कसँग पछाडी बसिन् । सैनिक भवनको गेट आईपुग्यो । अकस्मात फुत्त ओर्लिएर पवनले खुट्टाको आडले ब्रेक लगाएछन् । केटाकेटीमा नभेट्ने साइकल हामी रोक्थ्यौं नि ! ठ्याक्कै त्यसरी । पछाडी बसेकी देवान्द्री पो आत्तिएर झण्डै लडिछन् । उनी सम्हालिएपछि पवनले हाँस्दै भनेछन्, ‘यो टोरोको ब्रेक छैन ।’
त्यसपछि देवान्द्री पवनसँग कति दिन बोलिनन् । मलाई भने उनले यस्तो भनेकी थिइन्,“दाइ । अबदेखि तपाईंको यो बाइक कहिले चढ्दिनँ । कहिले बिर्सन्न पनि ।”
म भने पेट मिचिमिचि हाँसे । सायद त्यो मेरो दशककै सर्वोत्कृष्ट रूञ्चे हाँसो थियो क्यार ।
धेरै हाँस्नेहरू भित्रभित्रै धेरै रून्छन् भनिन्छ । बाइक त चढियो तर त्यसको अनदेखा सत्यसँग एक महिनापछि परिचय भयो । सय दिन पनि कुर्नुपरेन । बाइकको कन्डिसन बिग्रन थाल्यो । बैंकको ब्याज पनि दोब्बर हुँदै थियो ।
मंगलबारेमा बाइक सिक्ने युवाको भीड देखिन थाल्यो । टोरो भए सबैले सिक्ने रहेछन् । कतिसम्म भने बाइक दिन्न भन्नु पनि गाह्रो हुनथाल्यो ।
“फलानालाई दिने अनि मलाई चाँहि नदिने ?” गुनासोको ओइरो नलाग्ने कुरै भएन । सहकारीको तीन किस्ता तिरेपछि अनियमित र कालो सूचिको ऋणीमा मेरो नाम दर्ज भएको थियो । बिग्रिरहने भएकाले नसोचेको व्ययभार पनि थपियो । न्यूज टाईम्स बन्द भएकोले मानसिक र आर्थिक बोझ पनि थपिएका थिए । न्यूज टाईम्सका साथीहरू कोही अन्य मिडीया हाउसमा त केही आ–आफ्नो घरधन्दामा लागे ।
म भने धरानबाटै प्रकाशन हुने ‘धरान टुडे दैनिक’ तिर अल्मलिन थालें । त्यो दैनिकले पनि मेरो टोरो बाइकको खर्च र ऋण छिमल्न कहिले सकेन । उपरान्त मेरो प्यारो बसन्ती धन्नो टोरो बाइक राम्रो कन्डिसनमा कहिले रहेन ।
मुक्ती दाता सोनेलाल
सोनेलाल मेरो टोरोको पहिलेदेखि नै फ्यान । उनी भानु सब्जी–तरकारी व्यवसाय समितिका सदस्य थिए क्यार । मेरो टोरो बनाउने मिस्त्रीबाट सोनेलाल बाइक किन्न उत्सुक रहेको चाल पाएँ । मलाई पनि टोरो पन्छाउन पाए हुन्थ्योजस्तो लागिरहेको, तुरून्तै हुन्छ भनें ।
“बेच्ने भए अलिअलि खर्च गर्नुस् । म टाकटुक बनाइदिन्छु । सोनेलालले किन्छ,” मिस्त्रीले बठ्याइँ देखाए । मैले पनि खुरूक्क मानें । पाँच सय रूपियाँ खर्च गरेर यसो बनाइ टोपलिहेरें ।
बाइकको सामान्य मर्मतपछि साथी मोजेशलाई राखेर सोनेलालतिर सोझिए । मोजेश चोकमै ओर्लिए ।
मोजेशको यस्तो तर्क थियो,“यो बाइकले आजकाल उकालो अलि तान्दैन । ग्राहकको मन बदलिन सक्छ ।”
बाइक लिएर एक्लै सोनेलालको ठेगाना पुगें । टेस्ट ड्राइभ गर्न दिएँ । भर्खरै गरेको कसकास र फेरेको मोबिलले काम गर्यो । सोनेलाल टोरो किन्न राजी भए ।
सहकारीको बाँकी कर्जा सोनेलालले तिर्ने र मेरो हातमा पाँच हजार दाम राख्ने शर्त राखें । शर्त मञ्जुर भयो । वसन्ती धन्नो बाइकको साँचो सोनेलालको हातमा थमाएँ अनि भारी मन र पाँच हजार खल्तीमा राखेर फर्किएँ ।
टोरोका बाँकी ऋणहरू फर्च्यौट गरेर बाँकी रहेको नगदनारायणले साँझ बसन्तीको गममा मेहफिल जमाएँ । साथ दिनेहरूको कमी थिएन । त्यो साँझ साथीहरूले बसन्तीको गुण र अवगुणको बेलिविस्तार लाए ।
अलि–अलि चढेपछि सुझाव दिए,‘खासमा बाइक भनेको पर्सनल हो । अरूलाई चढ्न दिनैहुन्न ।’ त्यो साँझको निष्कर्ष त्यही थियो । तर केटाहरू मभन्दा बढ्ता मालिक भएर चढ्थे त्यो बाइक । मैले के भन्नु ? बाइक बेचेको केही सातापछि म भानुचोकमा कसैलाई पर्खिरहेको थिएँ । बैशाखको चर्को घाम । सोनेलाल मैले बेचेको टोरो चढेर धिमा गतिमा धुवाँको मुस्लो उडाउँदै बडो कष्टसाथ छाताचोक जाँदै थिए ।
हाम्रो आँखा जुध्यो तर सधैं मुस्कुराएर बोल्ने सोनेलाल मसँग त्यो भेटमा एक शब्द बोलेनन् । त्यसपछि संयोगवश धेरै पटक भेट भयो । सोनेलाल मसँग कहिले बोलेनन् । सोनेलाल किन बोलेनन् ? थाहा छैन तर अक्सर भगवानहरू दुःखीको सेवा गरेपछि बोल्दैनन् ।
न्यूयोर्कको ज्याक्सन हाइटमा बसेर अहिले म ती दिनहरू सम्झिरहेको छु । ती अर्ग्यानिक यादको नाममा कस्मेटिक मुस्कान लिएर एक्लै बसेको छु । टोलाउँदैछु संघर्षको यो म्यानह्याटन हड्सन नदी ।
अनि सम्झिन्छु धरानको त्यो सुख्खा सर्दूखोलाको किनार । हड्सन नदीको नुनिलो तिर्खाभन्दा मलाई सर्दूको सुख्खाग्रस्त खहरे प्यारो छ । पानीको कहानी त्यो सुखा बगरमा मात्र छ । बर्खामा उर्लिने सर्दुको भेलले मान्छे बगाउँछ है भनेर किनार बसी सोंच्दा मात्रै पनि यो खडेरीमा मन गढगढाउँछ ।
सायद सपनाहरू पनि सर्दुको खहरे नै हो कि ! कहिले सुक्छ । कहिले बग्छ । सपना नदेखे पनि जीवन बगिरहन्छ । मेरो टोरोको अग्र्यानिक अत्यसँगै सायद सुरू हुँदै थियो अनन्त जीवन भोगाईको नयाँ च्याप्टर ।
धरान, हालः न्यूयोर्क