• निर्माणाधीन मोटरेबल पुल बगायो

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा शनिबार आएको बाढीले बगाएको निर्माणाधीन पक्की पुल । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत दानाको घट्टेखोलामा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको हो । तस्वीरः कमल खत्री, रासस, बेनी (म्याग्दी)
  • राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको घट्टेखोलामा निर्माणाधीन मोटरेबल पुल आज दिउँसो बाढीले बगाएको छ ।

    निर्माणको अन्तिम चरणमा पुगेको पुल बाढीले बगाउँदा तीन करोड रूपैयाँ बराबरको क्षति भएको निर्माण कम्पनीले जनाएको छ । दिउँसो करिब एक घण्टा लगातार परेको वर्षापछि आएको बाढीले निर्माणाधीन पुल बगाएको प्रत्यक्षदर्शी गङ्गा पुनले जानकारी दिए ।

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा शनिबार आएको बाढीले बगाएको निर्माणाधीन पक्की पुल । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत दानाको घट्टेखोलामा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको हो । तस्वीरः कमल खत्री, रासस, बेनी (म्याग्दी)  

    बाढीका कारण वरपरका बस्ती कटानको जोखिममा परेका छन् । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । ४० मिटर लामो पुल निर्माणका लागि बेनी–जोमसोम–कोरला सडक आयोजना र फेवा नयाँबाटो (जेभी) जोइन्ट भेञ्चरबीच विसं २०७३ असार २९ गते ठेक्का सम्झौता भएको थियो । पाँच करोड ७६ लाख ८० हजार ५ सय ५६ रूपैयाँमा सम्झौता भएको पुल २०७५ असार २९ गते सम्पन्न गर्ने लक्ष्य थियो ।

    एघार मिटर फराकिलो पुलको गाडी हिँड्ने भाग शुक्रबार मात्र ढलान सकिएको थियो । दुईतर्फ मानिस हिँड्ने पेटी ढलान गर्न बाँकी भएको अवस्थामा बाढीले बगाएको निर्माण कम्पनीका प्रतिनिधि रवीन्द्र कार्कीले बताए ।

    डाइभर्सन भत्काएर ढलान अड्याउन ठड्याइएको सेटिङ बगाएपछि पुल भत्किएको हो । पुल बगाउँदा तीन करोड रूपैयाँ बराबरको क्षति भएको कार्कीले बताए । पुलको पिल्लर मात्र बाँकी छ ।

    आयोजनाका अनुसार यो पुल प्रिस्टिड प्रविधिको हो । हाल घट्टेखोलाबाटै सवारीसाधन आवतजावत गर्छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनका अनुसार बाढी आउँदा र बर्खाको समयमा सवारी आवतजावत बन्द हुने गरेको छ ।

  • कमेन्ट गर्नुहोस्