• संविधान संशोधन नभए समाजवादी पार्टी नेपालले सडक सङ्घर्ष रोज्ने : अध्यक्ष यादव

    उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव समाजवादी पार्टी नेपालद्वारा शनिबार आयोजित प्रदेश नं १ स्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागी हुँदै । साथमा पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई । तस्विर: मनोज दाहाल, राससः विराटनगर
  • उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संविधान संशोधन नभए समाजवादी पार्टी नेपालले सडक सङ्घर्षको बाटो रोज्ने बताएका छन् ।

    समाजवादी पार्टी नेपालले आज आयोजना गरेको प्रदेश नं १ स्तरीय अभिमुखीकरण कार्यक्रममा यादवले विभेदको अन्त्य गर्न, संविधानमा रहेको त्रुटि सच्याउन र समावेशी बनाउन मात्र सरकारमा समावेश भएको प्रष्ट पारे । समाजवादी पार्टी नेपालका कार्यसमिति अध्यक्षसमेत रहेका यादवले जनताको सङ्घर्षबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट मुलुकमा समृद्धि आउने भएकाले यसलाई संस्थागत गर्न र प्राप्त उपलब्धिको रक्षा गर्नलाई पार्टी एकिकरण गरिएको जानकारी दिए ।

    समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले जातीय विविधता, पहिचानलाई सम्बोधन गर्न पार्टीको एकिकरण गरिएको बताए । भ्रष्टाचारको अन्त्य, मुलुकमा सुशासन कायम गरी जनताको विकासप्रतिको चाहनालाई पूर्ति गर्नु नै पार्टीको उद्देश्य रहेको धारणा व्यक्त गर्दै सम्पूर्ण जनताको सहभागितामूलक एकमात्र राष्ट्रिय पार्टीका रुपमा विकास गर्ने उल्लेख गरे । अध्यक्ष डा भट्टराईले वर्तमान अवस्थामा रहेका दुई ठूला पार्टीको विकल्पमा समाजवादी पार्टी रहने चर्चा गर्दै पदका निम्ति पार्टीका कार्यकर्तामा कुनै लोभलालच नभएकाले जनताको सेवा नै मुख्य रहेको बताए ।

    वरिष्ठ नेता अशोक राईले जनताको चाहनाअनुसार पार्टीबीच एकीकरण भएको बताउँदै पार्टीले शोषित पीडित जनताको मुक्तिका लागि काम गर्ने बताए । प्रदेश अध्यक्ष प्रविन चाम्लिङको सभापतित्वमा भएको कार्यक्रममा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष पर्शुराम खापुङ, हेमराज राई, हिसिला यमी , रकम चेम्जोङ र प्रा महेन्द्र सुब्बा लावती लगायतले पार्टी एकताबाट आगामी निर्वाचनमा ठूला पार्टीलाई पराजित गर्ने विश्वास व्यक्त गरे ।

  • कमेन्ट गर्नुहोस्