पत्रिका पसलमा मदन भण्डारी
दिदी विमलाको साथ बजारतिर झरेको थिएँ । दिदीले फुत्त लगिन् एउटा पसलमा । मेरो लागि पसल अलि अनौठो खालको थियो, जहाँ खानेकुरा थिएनन् । रयाकमा केही पत्रिकाहरु सजाइएका थिए, केही झुण्ड्याइएका । त्यहाँ मेरा टोलका दाइ रेख ब्लोन पनि साथीहरुसँग कुराकानी गरिरहनुभएको थियो ।
मैले अन्यत्र ध्यान दिइनँ, स्वाट्ट ‘चीन सचित्र’ झिकेँ, र फोटोहरु हेर्न थालेँ । ‘चीन सचित्र’ पहिले पनि हाम्रो घरमा आउने भएकोले मैले त्यसमा हात लगाइहालेको हुँ । चीनले आफूले गरेको प्रगति र उन्नति अन्य देशहरुमा पनि देखाउनका लागि यसको प्रकाशन गरेको हो र विभिन्न ठाउँमा यो वितरण हुन्थ्यो । ‘चीन सचित्र’ धेरै हेरियो र पढियो, तर एक अंकमा प्रकाशित एक जना चिनियाँ महिलाले यात्रुवाहक बस हाँकिरहेको तस्बिरले अहिले पनि मलाई छुन्छ । त्यो बेला गाडी नै नदेखेको मैले त्यो तस्बिर देख्न पाएँ । हुन त हाम्रो घरमा रिहर्सलमा जेवी टुहुरेको चर्चित गीत दाइहरु गाउँथे ।
…तिमीजस्ता दिदीबहिनी रकेटमा उडिसके
आफ्नो शक्ति चिनिसके
तिमी भने मझेरीमा छुन्मुनाउँदै बस्छौ
जीवनभरि कैदी बनेर…
एकातिर यस्तो गीतको रिहर्सल सुन्न पाउने मेरो अवसर, अर्कातिर ‘चीन सचित्र’मा प्रकाशित महिला चालकले सार्वजनिक बस चलाउँदै गरेको तस्विर । म आश्चार्यमा मात्र परिनँ, केही न केही परिवर्तन हाम्रो देशमा पनि हुनेछ भन्नेतर्फ आशावादी पनि भएँ । यसका लागि मूल खुराक माथि दाइहरुले आमा, दिदी, बहिनीहरुलाई सम्बोधन गर्दै गाएको गीत नै थियो ।
तर त्यो खुराकले आज काम गरिरहेको छ कि छैन ? म आफै रनभुल्लमा छु यतिखेर ।
त्यो पत्रिका पसल
‘पत्रपत्रिका केन्द्र’ थियो पत्रिका पसलको नाम । अहिलेजस्तो जमाना थिएन, त्यसैले त्यसको व्यापार सानोतिनो थियो भन्ने कुरा त्यो बेलाको बालक म आफै बुझ्छु । त्यो पत्रिका पसलको व्यवसायिक विरासतको लहरो मेरो घरसम्म आइपुगेकोले मैले त्यसको अवस्थालाई बुझ्ने अवसर पाएको हुँ ।
जिल्ला शिक्षा कार्यालयको स्टोरकिपरबाट राजिनामा दिएर जीवप्रसाद निजी लगानीमा पत्रिका पसल सञ्चालन गर्न थाल्नुभयो । उहाँको निजी लगानी भए पनि त्यो नगरको सार्वजनिक सम्पतिजस्तै थियो, तत्कालिन भूमिगत मालेका लागि । माले आस्थावानहरु र भूमिगत नेताको सम्पर्क सूत्रका रुपमा पत्रिका पसलले काम गरिरहेको थियो ।
पत्रिका पसल सुरुमा सिरान बजारको विश्व जोशी, त्यसपछि प्रकाश श्रेष्ठ अनि शेरबहादुर श्रेष्ठको घरमा चलाइयो । यी घरवालाहरु भने वाममैत्री थिएनन् । अखिलका कार्यकर्ताहरुको पत्रिका पसलमा ठूलै जमघट हुन्थ्यो त्यहीँ भएर पत्रिका पसलले पनि चराले गुँड सारेझैँ गर्नु परेको थियो । त्यहाँसम्म पत्रिका पसलको निजी जिम्मेवारी पोखरेलकै काँधमा थियो ।
२०३९ सालमा आइपुग्दा मालेभित्रको वैचारिक वहसले हलचलै ल्याउँदा त्यो पत्रिका पसलमा असर पर्ने नै भयो । राजनीतिक स्वतन्त्रता कि पार्टी स्वतन्त्रता भन्ने बहस तलैसम्म ओर्लियो । यता वैचारिक मतभेदका कारण जीवप्रसाद पोखरेल अलि निस्क्रिय भए पनि पत्रिका पसल उहाँकै नाममा थियो ।
त्यो पार्टीको सम्पर्क केन्द्र भएकोले त्यसलाई जिवित राख्न पार्टी अग्रसर भयो र त्यसको जिम्मा खोटाङका चन्द्रमणि राईले लिनुभयो, र पत्रिका पसल पनि सिरान बजारबाट हुलाक टोल स¥यो । पत्रिका पसल पोखरेलकै नाममा थियो भने यसका लागि आवश्यक आर्थिक व्यवस्थापनका लागि भीरगाउँका चन्द्र बस्नेत अग्रसर हुनुभयो । उहाँले धितोका लागि आफ्नो जग्गाको धनीपूर्जा पार्टीलाई थपक्क सुम्पनुभयो ।
त्यहीँ समय धनकुटाका सक्रिय मालेका नेता गोपाल गुरागाईं गिरफ्तार हुनुभयो । २०३९ सालमा उहाँ गिरफ्तार हुनुभयो, शान्तिसुरक्षा ऐन अन्तरगत । उहाँ शिक्षक जागिर त २०३७ मै खोसिएको थियो । त्यसपछिको उहाँको दुःखसास्ती अवर्णनीय छ ।
गोपाल गुरागाईंसँगै त्यो बेला पत्रिका सञ्चालनमा सक्रिय चन्द्रमणि राई पनि ७० दिने वारेन्टमा पर्नुभयो । त्यसपछि उहाँ भूमिगत हुनुभयो । पर्यो फसाद !
त्यसपछि त्यसको सुरक्षित अवतरणका लागि जीवप्रसाद पोखरेलले आफ्ना पञ्चायत समर्थक भाइ माधवलाई प्रयोग गरी कतिपय सामान बेची बचेखुचेको सामान सुरक्षित राखी घरको बाँकी भाडा तिरी जस्ता कर्म गर्नु परेको थियो ।
त्यो पत्रिका पसलसँग राजेन्द्र दाहाल, सत्यकला गुरुङको पनि संलग्नता थियो । तर पछिल्लो समय कुरुले तेनुपाका मोती लावती, धनकुटा नगरका भक्त थापा र मेरा दाजु डम्बरले त्यसलाई टिकाउन हरसम्भव कोशिश गरेको प्रत्यक्षदर्शी म आफैँ हुँ ।
अन्नतः केही लागेनछ । उनीहरुले त्यो पत्रिका पसल थामबहादुर राई (ठूलो) लाई बेचे । बाँकी रहेका पुस्तक तथा पत्रिपत्रिका हाम्रो घरमा ल्याएर थन्क्याए । यसरी थन्किएका पुस्तक तथा पत्रपत्रिकाहरु मेरा एकान्तका साथी भए । त्यो बेला मेरो प्रिय स्कूले खेल हाजिरीजवाफ प्रतियोगिता हुन्थ्यो । म त्यो बेलै घरमा थन्किएका वा पसलबाट फिर्ता आएका लेखा अधिकृतको गाइड, शाखा अधिकृतको गाइड पनि पढ्थेँ, हाजिरीजवाफमा भिड्न । २०४५ सालमा धनकुटामा भएको पहिलो जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितामा म सम्मिलित टोली पहिलो हुनुमा यहीँ फिर्ता आएका पुस्तक तथा पत्रपत्रिकाको ठूलो योगदान छ । फिर्ता भएका पुस्तक पत्रिकाबाट अरु धेरै हासिल भए ।
कालो टोली लगाएको मान्छे
‘कालोटोपी लगाएको कोही एक जना आउँदै हुनुहुन्छ, …कहाँ पुरयाइदिनुहोला’, एक जना परिचित मानिस आएर पत्रिका सञ्चालक जीवप्रसाद पोखरेललाई सुस्तरी बताउँछन् । त्यो बेला पत्रिका पसल सिरानबजारमै थियो ।
त्यसको केही समयपछि एकजना कालोटोपी लगाएका मानिसको त्यो पत्रिका पसलमा पदार्पण हुन्छ ।
केही क्षणपछि उनलाई जीवप्रसादले पूर्व सूचना अनुसार सम्बन्धित ठाउँमा पु¥याइदिनुभयो । ‘राणा निवास’ कहिन्थ्यो, त्यो घर । तर त्यो घर डा. महेश्वरमान श्रेष्ठहरुले किनिसकेका थिए । त्यसको रेखदेख बजारिया नेवार खलकका भाञ्जा चिरञ्जिवीमान श्रेष्ठले गर्नुहुन्थ्यो । उहाँ पूर्ण रुपमा वाम । त्यहीँ राणा निवासमा २०३८ सालमा प्रगतिशील लेखक कलाकार संघ, धनकुटाको दोस्रो सम्मेलन भयो । त्यो सम्मेलनबाट निर्वाचित अध्यक्ष मेरा दाजु डम्बरको क्षेत्रीय अदालतबाट विचारी पदको जागिर खोसियो, तत्कालिन त्रिवेणी निमाविका प्रधानाध्यापक शेरबहादुर विश्वकर्माले जागिरबाट राजिनामा दिनु परेको थियो ,। जागिर मात्रै होइन, ज्यान पनि धरापमा थियो उसबेला उनीहरुको ।
कालोटोपी मानिस आए, आश्रय पाए । बैठक भयो, त्यहीँ राणा निवासमा । २०३७ को कुरा हो यो ।
बहुदल आएपछि मात्र थाहा भयो, २०३७ सालतिर देखिएका कालो टोपीधारी त मदन भण्डारी हुनुहँदोरहेछ । जीवप्रसाद पोखरेललाई ‘कोही मानिस आउँदैछन्, फलानोलाई त्यहाँ सम्म पु¥याइदिनु…’ भन्ने चाहिँ तत्कालिन धनकुटा मालेका सचिव चित्र निरौला हुनुहुँदो रहेछ ।