• समाजवादी पार्टी निर्वाचन आयोगमा

    समाजवादी पार्टी नेपाल दल दर्ताका लागि निर्वाचन आयोग पुग्नु भएका अध्यक्षद्धय पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र उपप्रधान तथा स्वास्थमन्त्री उपेन्द्र यादव पत्रकार सम्मेलनमा बोल्नुहुँदै । तस्वीर : प्रदीपराज वन्त
  •  

    सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भई नयाँ बनेको ‘समाजवादी पार्टी नेपाल’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । गत वैशाख २३ गते समाजवादी पार्टी नेपालको घोषणा गरिएको थियो ।

    समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसहितका नेताहरुले आज निर्वाचन आयोगमा पुगी दल दर्ताका लागि निवेदन दिनुभएको हो । आयोगको दल दर्ता प्रक्रियाअनुसार ४५ दिनभित्र दलको टुङ्गो लाग्नेछ । प्राप्त निवेदन विस्तृत अध्ययनपछि निर्णय लिइने आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले जानकारी दिनुभयो । राजनीतिक दल दर्ता ऐन, २०७३ अनुसार निवेदन प्राप्त भएको ४५ दिनभित्र आयोगले निर्णय दिनुपर्ने व्यवस्था छ । निर्वाचन अयोगमा हालसम्म १३० राजनीतिक दल दर्ता भएका छन् ।

    समाजवादी पार्टीको झण्डा पूर्वसमाजवादी फोरमकै हुनेछ भने चुनाव चिह्न छिट्टै बुझाउने गरी दल दर्ता गरिएको छ । समाजवादी पार्टीका २५ जना पदाधिकारीसहित ४३० जना केन्द्रीय सदस्य छन् । यसअघि दल दर्ताको निवेदन दिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा भट्टराईले संविधान र कानूनी प्रावधानअनुरुप समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको बताउनुभयो । उहाँले देशमा सुशासन र दिगो विकास लागि समाजवादी पार्टी वैकल्पिक शक्तिका रुपमा स्थापित हुने दाबी गर्नुभयो ।

    परिषद् अध्यक्षले मुलुकमा विभिन्न बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्दै संविधानमा रहेका केही अपूरा विषयलाई समेटेर सङ्घीयता प्रवद्र्धन गर्नुका साथै समुनत सङ्घीय समाजवाद निर्माणको दिशामा पार्टी अघि बढ्ने उल्लेख गर्नुभयो । संविधान र सङ्घीयताको मर्मविपरीत लोकसेवा आयोगको विज्ञापन गरिएको भन्दै उहाँले सङ्घीयताको कार्यान्वयन, सुशासन र दिगो शान्ति स्थापनाका लागि सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

    समाजवादी पार्टीका अध्यक्ष यादवले सत्ता नेतृत्वकर्ता राजनीतिक दलसँग संविधानमा रहेका अधुरा विषयलाई पूर्णता दिने गरी संविधान संशोधनको लिखित सम्झौता भएर सरकारमा सहभागी भएको स्मरण गराउँदै सोको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । “संविधान संशोधन गर्ने लिखित शर्तमा सरकारमा सहभागी भएका हौँ, भद्र सहमतिको कार्यान्वयन हुनुपर्छ, त्यो कार्यान्वयन पनि हुनुपर्छ किनकी अहिलेको सङ्घीयतामा कमजोरी रहेका छन् तीनलाई सच्याएर अघि बढेको खण्डमा संविधानको प्रभावकारी कार्यान्वयन हुन्छ । यसबारे छिट्टै छलफल गर्नेछौँ,” उपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष यादवले भन्नुभयो ।

    सो अवसरमा समाजवादी पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य सङ्ख्यामा उपस्थिति थियो ।

  • कमेन्ट गर्नुहोस्