• शिक्षासेवी* गणेशबहादुर राई

  •  

    सन् १९९७ को जुलाईमा हङकङ आइपुगेको म, आईडी बनिन ८ महिना लागेकोले भर्खरै काम शुरु गरेको थिएँ । त्यही समय इन्द्र वनेम, प्रेम सुब्बा लगायतसंगको छलफल र तयारीपछि धरान हङकङ मञ्च गठन गरिएको थियो । मञ्चको संस्थापक सचिवको नाताले सामाजिक गतिविधिमा संलग्न हुन थालेपछि गणेश इजम, उत्तरमान लिम्बूमार्फत तत्कालिन अवस्थामा नेपाली समुदायको जल्दो–बल्दो संस्था हङकङ गोर्खाज फोरमका अन्य साथीहरु चिनजान भएको थियो ।

    फोरमकै केही साथीहरुले हङकङ गोर्खाज एशोसियसन गठन गरी नेपाली भाषा अध्यापन सहितको पनसेटिया प्राथमिक विद्यालय स्थापना गरेका थिए सन् १९९९ मा । स्थापनाकालमा लङपिङतिर रहेको विद्यालय केही समयपछि नै फुङकाम स्ट्रिट, युनलङको एक पुरानो सेमी सपिङ मलमा सारिएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कुनै एक नेता, प्रदीप नेपाल हो कि जस्तो लाग्छ,को कार्यक्रममा सहभागी हुन पहिलो पटक उक्त विद्यालयमा पुगेको थिएँ ।

    त्यहीबेला चिनजान भएको थियो अमोद राईसंग । विन्डोज कम्प्युटर चलाउने मलाई उनले चलाइरहेको म्याक ओएस कम्प्युटरले निकै प्रभावित बनाएको थियो । उनकै बुबा गणेशबहादुर राईसंग पनि त्यही विद्यालयमा चिनजान र भेटघाट भएको थियो । बाबु–छोरा नै उक्त विद्यालयका शिक्षक थिए ।

    सन् २००० को शुरुतिरै एक दिन विलियम सुब्बाले भेटेरै कुरा गर्ने भन्दै फोन गरे । भेटमा उनले एभरेष्ट पत्रिका सञ्चालनको तयारी भइरहेको र त्यसमा सहभागी हुन अनुरोध गरे । के रहेछ भन्ने बुझ्नका लागि भोलिपल्ट उसंगै जोर्डनबाट युनलङ आएँ । पनसेटियाकै दुई घर मास्तिर एभरेष्ट कार्यालयको तयारी भइरहेको थियो । पत्रिकाको तयारी गर्नेहरु पनि गोर्खाज फोरमकै साथीहरु करम गुरुङ, हिमाल गुरुङ र उनै बाबु–छोरा शिक्षक लगायत रहेछन् ।

    त्यहीँ आएपछि थाहा भयो, अमोद बाबु–छोराले एथ्री साइजमा फोटोकपी गरेर केही अंक नेपाली पत्रिका चलाइसकेका रहेछन् । छापाखाना सहितको एभरेष्ट दैनिकको लागि नेपालमा कार्यालय स्थापना गर्ने र त्यसको लागि गणेश सर जानु हुने कुरो सुनाइयो मलाई । केही पटकको बैठकपछि म पनि सहभागी भएँ एभरेष्ट सञ्चालन गर्ने समूहमा । उहाँले नेपाल संयोजकको रुपमा काम गर्नु भएको थियो शुरुवातमा । छोटो समयमा नै शुरुवातका साथीहरुले छोड्नु भयो, सबै भन्दा पछाडि सहभागी भएको म चाहिँ दुई दशकमा पनि एभरेष्टसंगै रहेको छु ।

    एभरेष्ट छोडेपछि केही समय नेपाल नै रहनु भएको गणेश सर फेरि हङकङ आउनु भो । त्यो बेला हङकङ गोर्खाज फोरम र एशोसियसनका संस्थापक अध्यक्ष तथा पनसेटियाका परिकल्पनाकार एकराज राई, उक्त समूहबाट छुट्टिइसकेका थिए । उनले सगरमाथा किन्डरगार्टन स्थापना गरेका थिए भने सरकारी विद्यालयमा नेपाली भाषा अध्यापन गराउन विविध गतिविधि गरिरहेका थिए ।

    हङकङमा नेपाली भाषा पठनपाठनका लागि समुदायकोतर्फबाट प्रयास हुनुपर्छ भनेर लारिरहेका एकराज राई, समूहबाट छुटेपछि अर्कै बाटोमा लागे । उनले नेपाली भाषाका लागि सरकारी विद्यालयहरुमा प्रयास गर्न थाले । प्रतिशोधपूर्ण उनको प्रयासकै कारण आफैले शुरु गरेको पनसेटिया धरायशी भयो । अन्ततः आधा दशक पार गर्दा नगर्दै बन्द भयो ।

    उनै एकराज राईले हङकङ नेपाली पाठ्यक्रम विकास परिषद् मार्फत पाठ्यपुस्तक तयारी गर्ने भए । त्यही कामको जिम्मेवारी गणेश सरलाई दिइएको थियो । उहाँले प्राथमिक कक्षाका नेपाली पाठ्यपुस्तकको पाण्डुलिपि तयार गर्नु भएको थियो । उक्त पाण्डुलिपिहरु अहिले पनि सगरमाथा किण्डरगार्टनको कुनै दराजमा थन्किएका होलान् ।

    पनसेटियाबाट छुटेपछि एकराज राईले उनै अमोद राई र देवराज राईसहितको समूह बनाएर केही वर्ष नेपाली भाषा अध्यापनका लागि गतिविधि गरेका थिए । पछि त्यो समूहमा पनि विग्रह आयो र एकले अर्कालाई प्रतिस्पर्धीको व्यवहार हुन थालेको देखिन्थ्यो । कम्तिमा पनसेटियामा नेपाली भाषा एक विषयको रुपमा पढाई हुन्थ्यो । वार्षिक लब्धाङ्कपत्रमा उल्लेख हुन्थ्यो । त्यसपछिका प्रयासहरु एकले अर्कालाई सिध्याउने खेलमा परिणत भए । त्यसैको परिणाम दुई दशकमा पनि नेपाली भाषाको अध्ययन अध्यापन अतिरिक्त क्रियाकलापकै रुपमा रहेको छ । उनै एकराज राईको प्रयासमा शुरु भएको क्याम्ब्रिज युनिभर्सिटिको नेपाली भाषाको ‘ओ’लेभलको परीक्षा पनि यो वर्षदेखि बन्द भएको छ । केही वर्ष इस्लामिक कसिम ट्युट मेमोरियल कलेज र बन्द हुने बेलासम्म बेथल हाइस्कूलका विद्यार्थीहरु ‘ओ’लेभलको परीक्षामा सामेल भएका थिए ।

    विदेशमा अध्ययन गरेका गणेशबहादुर राई अनेकौं अवसरको प्रवाह नगरी ताप्लेजुङ जिल्लामा गएर लामो समय अध्यापनमा लाग्नु भएको अमोद राई लगायतबाट थाहा पाएको थिएँ । नेपालबाट हङकङ आएर पनि शैक्षिक गतिविधिमा नै रहनु भएका उहाँ एक शिक्षासेवी* हुनुहुन्थ्यो । पछिल्लो पटक हङकङ आउनु भएको उहाँ, केही समयमा नै नेपाल फर्कनु भएको थियो ।

    अमोद राईसंग एभरेष्ट पत्रिका र विभिन्न संघसंस्थामार्फत शुरु भएको अन्तरङ्ग आरोह–अवरोहसहित दुई दशक उकालो लागेको छ । दुई वर्षअघि संयोगले उनी र म संगै नेपाल गइएछ र काठमाडौंमा भेट भयो । उनको घर गएको बेला गणेश सरसंग भेट भएको थियो । उहाँ शारीरिक रुपले निकै कमजोर हुनुहुन्थ्यो । आँखाको इशाराले हामीबीच संवाद भएका थिए ।

    हिजो–अस्तिजस्तो लाग्छ, “बुबा सारै विमारी हुनुहुन्छ रे !” भन्दै अमोद नेपाल गएको । त्यसको दुई–चार दिनमा नै उहाँको निधन भएको खबर पाएको थिएँ । उहाँको प्रथम वार्षिकीको अवसरमा उहाँप्रति श्रद्धासुमन अर्पण गर्दछु ।

    नोटः गणेशबहादुर राईको प्रथम वार्षिकीको अवसरमा प्रकाशित हुने स्मृतिग्रन्थको लागि तयार गरिएको लेख प्राविधिक कठिनाइको कारण प्रकाशित हुन सकेन ।

    *सच्चाइएकाे ।

  • कमेन्ट गर्नुहोस्