• परपुरुषको बात लागेका ती रानीहरु

  •  

    जतिखेर राजा वीरेन्द्रले शासन गरिरहेका थिए, दरबारमा उनको भन्दा पनि रानी ऐश्वर्यको ठूलो हैकम थियो भनिन्छ । विभिन्न वंशले नेपालमा शासन गर्दा कहिलेकहीँ राजाभन्दा रानी शक्तिशाली र विवादास्पद भएका इतिहास पाइन्छ । मल्लकालमा रानीहरु रजल्लदेवी र नायकदेवी शक्तिमा थिए । यही कालमा राजा प्रताप मल्लकी बुहारी ऋद्धिलक्ष्मी राजमाता हुँदा उनी चारित्रिक रुपमा विवादास्पद देखिइन् । पृथ्वीनारायण शाहकी बुहारी तथा राजा प्रतापसिंह शाहकी रानी राजेन्द्रलक्ष्मीमाथि पनि एकल अवस्थामा हुँदा परपुरुषसँग अनुचित सम्बन्ध राखेको आरोप लाग्यो । राजा राजेन्द्रकी कान्छी रानी राज्यलक्ष्मी नेपालको इतिहासमा सबैभन्दा विवादास्पद रानी रहिन् । उनकै महात्वाकाँक्षाका कारण कोतपर्व र भण्डारखाल पर्व मच्चियो । उनीमाथि जनरल गगनसिंह र कप्तान दलबहादुर थापासँग अनुचित सम्बन्ध रहेको र बनारस निर्वासनको समय गर्भपतनसमेत गरेको आरोप लाग्यो । नेपालको इतिहासमा यस्तै पढ्न पाइन्छ ।

    रानीका ती प्रेमी

    कान्तिपुरका प्रशिद्ध राजा थिए, प्रताप मल्ल । उनको मृत्युपछि कान्तिपुरको गद्दिमा को बस्ने भने विषयमा निक्कै विवाद भयो । प्रताप मल्लको चाहना थियो, आफ्नो मृत्युपछि आफूलाई मन परेकी रानीतिरका छोरा महिपतेन्द्र राजा होऊन् । तर प्रताप मल्लका नातेदारसमेत रहेका पाटनका राजा श्रीनिवास मल्लले भने महिपतेन्द्रका दाजु नृपेन्द्र मल्ल हुँदाहुँदै भाइलाई राजा बनाउन नहुने अभियान चलाए । दुई पक्षको संघर्षपछि अन्ततः नृपेन्द्र मल्ल कान्तिपुरका राजा बनाइए । उनको विक्रम सम्वत् १७३७ मा १८ वर्षको उमेरमा मृत्यु भएपछि उनका भाइ पार्थिवेन्द्र मल्ल राजगद्दीमा बसे ।

    कान्तिपुरका शक्तिशाली भारदार चिकुटीको पलायन र हत्यापछि दरबारमा चौतारा लक्ष्मीनारायण जोशी शक्तिशाली बनेर निस्के । उनी जति शक्तिशाली थिए, उत्तिकै खतरनाक पनि । विक्रम सम्वत् १७४४ मा राजा पार्थिवेन्द्रको अचानक मृत्यु भयो । खानामा विष मिसाई पार्थिवेन्द्र र उनकी आमालाई सिध्याउने उद्देश्यले यो षडयन्त्र रचिएको थियो । तर पार्थिवेन्द्रकी आमा चाहिँ बचिन् । राजालाई खानामा विष मिलाई मारेको थाहा पाएर कान्तिपुरका प्रजा दरबार घेर्न पुगे । यसैलाई अवसर बनाएर आफ्नो शत्रु नाश गर्न लक्ष्मीनारायण अघि सरे र विष काण्डको दोष पलायन भई बसेका पूर्व चौतारा चिकुटीमाथि लगाए । चिकुटीलाई कुटी कुटी मारियो । वास्तवमा खानामा विष प्रयोग गरेर राजा पार्थिवेन्द्रलाई मार्ने षडयन्त्रको रचनाकार चाहिँ उनै लक्ष्मीनारायण थिए ।

    यसरी एकातिर चौतारा लक्ष्मीनारायण शक्तिशाली बनेर देखा परे भने आठ वर्षका बालक भूपालेन्द्र राजगद्दिमा राखिए । यही अवसरमा पार्थिवेन्द्रकी रानी अर्थात् भूपालेन्द्रकी आमा राजमाता ऋद्धिलक्ष्मी र लक्ष्मीनारायणबीच हिमचिम बढ्दै गयो । त्यसबेला लक्ष्मीनारायणको शक्ति र प्रभाव निक्कै ठूलो थियो । कतिसम्म भने लक्ष्मीनारायण आफ्नो घर पनि नगई दरबारमै खाने र सुत्ने गर्थे । राजाकै गहना र पहिरन लगाएर राजाकै पलङमा सुत्ने गर्थे । हरबखत उनी राजमाता ऋद्धिलक्ष्मीसँग रहने गर्थे भन्ने इतिहासमा उल्लेख छ ।

    पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’को सङ्ख्या १९ (वैशाख २०२९:२)मा राजमाता र लक्ष्मीनारायणबीचको सम्बन्धमा यस्तो उल्लेख छः
    मानिसको चरित्र पनि गजबको हुन्छ । कान्तिपुरका मुख्य काजी दरबारमा सुत्ने खाने गर्दथे । राजाले पहिरने गहना पोशाक लगाउँथे । राजाको पलङ ओछ्यानमा बस्दथे । रात दिन रानीसँग मात्र बसिरहन्थे । लडाईमा पनि जादैनथे ।

    यस प्रसंगबाट लक्ष्मीनारायणको अंगालोमा रानी ऋद्धिलक्ष्मी परेको सहजै अनुमान गर्न सकिन्छ । काठमाडौको जैसीदेवल मन्दिर उनै चौतारा लक्ष्मीनारायणले धर्मकर्म स्वरुप बनाउन लगाएका हुन् ।

    यसरी शक्तिशाली भएर दरबारमा राजमातासँग हिमचिम मच्चाइरहेका लक्ष्मीनारायणको नेपाल सम्वत् ८१० भदौमा खसहरुद्वारा हत्या गरिएको ‘प्राचीन नेपाल’को सङ्ख्या १९ (वैशाख २०२९:३)मा उल्लेख छ । उक्त पत्रिकामा उल्लेख भए अनुसार लक्ष्मीनारायणको हत्या भएको खबरले आकुल व्याकुल भएकी ऋद्धिलक्ष्मी राजकुलबाट बाहिर निस्केकी थिइन् । त्यसपछि बेइज्जत हुने डरले सबैले सम्झाईबुझाई उनलाई भित्र लगेका थिए । ऋद्धिलक्ष्मीले लक्ष्मीनारायणको रगत चाँदीको भाँडामा उठाउन लगाई मुर्दा पठाएर सँस्कार गर्न लगाएकी थिइन् । एउटा मन्त्री मारिदा राजमाता आकुल व्याकुल हुनुको अर्थ सहजै बुझ्न सकिन्छ ।

    इतिहास शिरोमणि बाबुराम आचार्यले ‘श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाहको जीवनी’ (२०६१:६५)मा भूपालेन्द्र मल्लले आफ्नी व्यभिचरणी आमा ऋद्धिलक्ष्मीलाई सिन्धुपाल्चोकको पूर्व सिमाना तौथली वस्तीमा कैद गराएका र त्यही बस्तीको माटोमा मिसाएका थिए भनेबाट विचार गर्दा उनले आमालाई चारित्रिक अनशासनहीनताकै दण्ड दिए भन्न सकिन्छ ।

    राजेन्द्रलक्ष्मीलाई लागेको वात

    विक्रम सम्वत् १८३४ मंसिर ४ गते राजा प्रतापसिंह शाह बिते । यस अघि नै राजकुमार बहादुर शाह दरबारबाट धपाइएका थिए । प्रतापसिंहको मृत्युपछि बहादुर शाह नेपाल बोलाइए । तत्कालित बालक राजा रणबहादुर शाहको नायव भएर राजमाता राजेन्द्रलक्ष्मीले शासनको बागडोर सम्हालिरहेकी थिइन् । पछि देवर–भाउजु मिलेर शासन चलाएका थिए । तर यिनीहरुबीच बिस्तारै मनमुटाव सुरु भयो र ठूलो शक्ति संघर्ष चर्कन थाल्यो दरबारमा । शक्ति संघर्षमा कहिले राजेन्द्रलक्ष्मीको हात माथि हुन्थ्यो, कहिले बहादुर शाहको ।

    शक्ति संघर्ष चलिरहेको बेला राजमाता राजेन्द्रलक्ष्मीमाथि एउटा निक्कै गम्भीर प्रकृतिको आरोप लाग्यो । त्यो उनको चरित्रमाथिको आरोप थियो । काजी सर्वजीत रानासँग अवैध प्रेमप्रसँग चलाएको गम्भीर आरोप लगाइएको थियो उनीमाथि । इतिहास शिरोमणि बाबुराम आचार्यद्वारा लिखित ‘नेपालको संक्षिप्त वृत्तान्त’ (२०६३ः२१४)मा उल्लेख भए अनुसार प्रतापसिंह शाहको एक वर्षको आसौच नसकिदै राजेन्द्रलक्ष्मीले तत्कालिन समाजले नपचाउने उत्ताउला कामहरु देखाउन थालेकी थिइन् । बिस्तारै काजी सर्वजीत राना र उनीबीच अवैध प्रेमप्रसंगको गाईंगुईं पनि सुनिन थाल्यो । उनी बारे यस्तो हल्ला र उनका गतिविधि पृथ्वीनारायण शाहका विश्वसनीय भारदार श्रीहर्ष पन्त लगायतलाई सह्य भएन । राजेन्द्रलक्ष्मी र सर्वजीतबीचको अवैध सम्बन्धका बारेमा बोल्न लगाउन दरबारभित्रै चारजना सुसारे केटाहरुलाई पोलाहाको रुपमा खडा गरियो । भूतपूर्व चौतारा दलजीत शाहले यिनै आरोपमा काजी सर्वजीतलाई दरबारकै एउटा कोठामा कटाइदिए भने राजेन्द्रलक्ष्मी चाँदीको नेल ठोकिएर दरबारभित्रै कडाईका साथ नजरबन्दमा परिन् । त्यसपछि राजकुमार बहादुर शाह शक्तिमा आई राजा रणबहादुरको नायवी लिन शासनमा देखा परे ।

    रानीसँग काजीको यस्तो सम्बन्ध

    विक्रम सम्वत् १९०३ असोज बदी ९ मा भएको कोतपर्वपछि नेपालको राजनीतिले अर्कै मोड लियो । त्यसपछि राणाहरुले एक सय चार वर्षसम्म एकछत्र जहानियाँ शासन चलाए । तत्कालिन महारानी राज्यलक्ष्मीले गगनसिंहको हत्यारा पत्ता लगाउन दिएको आदेश र त्यही आदेश पालना गर्ने जंगबहादुरले आफ्ना भाइहरुको सहयोग लिएर कोतपर्व मच्चाए ।

    रानीका अति विश्वासपात्र तत्कालिन जनरल गगनसिंहको रातको ९-१० बजे उनकै निवासमा हत्या गरियो । हत्या कसले ग¥यो हालसम्म कसैले यकिन गरेर भन्न सकेका छैन । पर्सिभल ल्याण्डनको पुस्तक ‘नेपाल’मा राजा राजेन्द्रले सुरेन्द्र र उपेन्द्रलाई बोलाई गगनसिंहलाई मारेर परिवारको इज्जत बचाउन भनेको भनी उल्लेख गरिएकोलाई प्रकाश ए. राजले ‘कोतपर्वकी महारानी राज्यलक्ष्मी’ (२०६१ः२४)मा चन्द्र समशेरद्वारा लेखाइएको यस प्रसंगलाई कति विश्वास गर्ने भनी प्रश्न उठाएका छन् । सोही पुस्तक (पृष्ठः ऐजन) अनुसार विक्रम सम्वत् १८९८ मा सौता साम्राज्यलक्ष्मीको देहान्त भएपछि राज्यलक्ष्मी शक्तिशाली बन्न पुगिन् । त्यसबेला उनी २४ वर्षकी नौजवान थिइन् । उनी २८ वर्षको हुँदा त राजा राजेन्द्रबाट राजपरिवारका सदस्यवाहेक अन्य सबैलाई सजाय गर्ने, देश निष्कासन गर्ने र पजनी गर्ने अधिकारसमेत प्राप्त गरेकी थिइन् । तर आफ्ना अति विश्वासपात्र जनरल गगनसिंहको हत्या र जंगबहादुरको उदयपछि उनको शक्ति छिन्नभिन्न भयो र २९ वर्षको उमेरमा त वनारस निर्वासित हुन पर्यो ।

    गगनसिंहको हत्यापछि महारानी राज्यलक्ष्मी गगनसिंहको घर यट्खा पुगिन् । त्यतिखेर उनको हातमा नाङ्गो तरबार थियो । ‘प्राचीन नेपाल’को सङ्ख्या २५ (कात्तिक २०३०ः१६) अनुसार गगनसिंहको घरमा पुगेर महारानीले आदेश दिइन्, “यिनको लास उठाउन हुँदैन । मुण्डको मुण्ड नजोरी मान्दिनँ । विना कसुर विना हुकुमले भारदारको खेलले मारे । अब श्री ५ महाराजलाई बक्साई निसाव गर्छौं ।”

    त्यतिखेर दाउ छोपेर बसेका जंगबहादुरले “मलाई हुकुम बक्से ददा जनरल गगनसिंहलाई मार्ने भारदार पत्ता लगाई सजाय गर्दा हुँ” भनी आदेश मागे । रानीबाट आदेश भयो,“हुन्छ जंगबहादुर लौ मार । तलाईं हुकुम भयो ।” अनि मच्चियो कोतपर्व । त्यसपछि नेपालको राजनीतिले अर्कै मोड लियो ।

    आफ्ना छोरा रणेन्द्रलाई युवराज बनाउने ठूलो सपना थियो, राज्यलक्ष्मीको । यसका लागि उनले गगनसिंहलाई ठूलो विश्वासमा लिएकी थिइन् । ‘प्राचीन नेपाल’को सङ्ख्या २५ (कात्तिक २०३०ः१५) अनुसार माथवरसिंहको हत्यापछि १६ पल्टन मध्ये गगनसिंहको हातमा मात्र सात पल्टन थियो । यसबाट पनि गगनसिंह महारानीको अति विश्वास पात्र भएको स्पष्ट हुन्छ ।

    महारानी राज्यलक्ष्मी र गगनसिंहबीच राजनीतिक सम्बन्ध मात्र थिएन, प्रेम सम्बन्ध समेत थियो भनी कतिपय लेखकले लेखेका छन् । तीमध्ये एक हुन्, अम्बर्स ओल्डफिल्ड । उनले आफ्नो पुस्तक ‘स्केचेज फ्रम नेपाल’ (सन् २००५ः३४४)मा “माथवरसिंहको हत्यापछि राज्यको सम्पूर्ण अधिकार महारानी र उनका प्रेमी गगनसिंहको हातमा आयो” भनी उल्लेख गरेका छन् ।

    ‘कोतपर्वकी महारानी’ (२०६१ः२४)अनुसार गगनसिंहको जन्म विक्रम सम्वत १८५३ मा भएको र राज्यलक्ष्मीको जन्म १८७४ (अनुमानित) भएको यी दुईबीचको उमेर २१ वर्षको फरक थियो । यसो हुँदा यी दुईबीच प्रेम र व्यभिचार थिएन कि भन्ने ठाउँ त छ, तर राज्यलक्ष्मीको निर्वासनपछि उनका छोराहरु रणेन्द्र र वीरेन्द्रलाई तत्कालिन राजा सुरेन्द्र र बुढा महाराज राजेन्द्रले राजगुरु विजयराज पाण्डेलाई लेखेको पत्रमा राज्यलक्ष्मीको गगनसिंहसँग मात्र होइन, दलबहादुर थापा नामका सैन्य अधिकारीसँग पनि यौन सम्बन्ध भएको र वनारसमा राज्यलक्ष्मीले तीन महिनाको गर्भपतन गराएको आरोपसमेत लगाइएको छ ।

    इतिहासकार प्राध्यापक दिनेशराज पन्तले ‘पूर्णिमा’को पूर्णाङ्क ७० (असोज २०४३ः३१–३७)मा रानी राज्यलक्ष्मी सम्बन्धी ६ वटा अप्रकाशित पत्र प्रकाशमा ल्याएका छन् । तीमध्ये १९०६ आषाढ सुदी १० रोज ७ मा राजा सुरेन्द्रले आफ्ना साहिला भाइ रणेन्द्र र काहिँला भाइ वीरेन्द्रका नाममा लेखेको पत्रमा दलबहादुर थापासँगको अवैध यौन सम्बन्धपछि उनकी आमा (राज्यलक्ष्मी)ले तीन महिनाको गर्भ तुहाएको र भाइहरुलाई पानी नै कटाउन पर्ने अवस्था आएकोले तुरुन्त पतिया लिन र पतिया नलिए भातभान्साबाट छुटाइने समेत उल्लेख गरिएको छ । पत्रको ब्यहोरा यस्तो छः
    तिम्रो मुमालाई कालीदासका भाइले दलबहादुरसँगको व्यभिचार हुँदा तीन महिनाको गर्भ तुहाएको म थाहा पाउँछु भनी हाम्रा हजुरमा बिन्ति गर्दा तिम्री मुमालाई झिकाइएको हो । तिम्रा मुमाले ६ महिनासम्म नआउँदा र बनारसमा रहेका तिम्रा नोकरीमा रहेका अरुले पनि यही कुरा यत्रतत्रबाट भन्दा साँचो रहेछ भन्ने सबैका मनमा प¥यो । तसर्थ तिम्रा मुमालाई हाम्रा मुलुकमा रहन, हाम्रा आशा राख्न पर्वतेहरुले खानपान नगर्नु भनी हटाइबक्स्यौं । तिमीहरुले पनि भोरमा खानपान गरेको कुरामा धर्माधिकारको पतिया लिइहाल । पतिया नलिई मायामा काया हाल्यौ भने पछि तिमीहरुको बिग्रला । तिम्रो र हाम्रो भात भान्सा जात पिण्ड जुठो फरक भयो । पतिया लियौ भने भातभान्सा फरक भएनौ । जस्तो अघि भाइ हौ, त्यस्तै छदैछौ । राणा राजपुत हुँ गोरखाको पैदा हो भने जमामार्दि थामौला । मावली गोत्र गएछौ भने हामीदेखि फरक भयौ ।

    पत्रमा उल्लेखित कालीदाश वैद्य हुन् भने दलबहादुर थापा चाहिँ सेनाका कप्तान हुन् ।

    यस्तै बुढा महाराज राजेन्द्रविक्रम शाहले त दलबहादुरसँग मात्र होइन, राज्यलक्ष्मीको व्यभिचार गगनसिंहसँग पनि भएको उल्लेख गर्दै राजगुरु विजयराज पाण्डे बनारस जाँदा राज्यलक्ष्मी गगनसिंह र दलबहादुरसँग बिग्रेको साल, महिना र दिन समेत पत्ता लगाउन आदेश दिएका छन् । पत्रमा राज्यलक्ष्मीलाई जैसिंहकी बहिनी भन्ने सम्बोधन गरिएकोले उनका दाजुको नाम जैसिंह रहेको स्पष्ट हुन्छ । १९०७ मार्ग सुदि ३ रोज ६मा लेखेको पत्रको ब्यहोरा यस्तो छः
    श्री ६ गुरुराज पण्डित विजयराज पडितको पाउमा प्रणाम । यसपाला तपाईं काशी जानु हुँदा काशी पुग्नु भई जैसिंका बहिनी गगनसिंह खवाससँग कुन साल कुन महिनाको कुन दिन बिग्रेकी रहिछिन् ? दलबहादुर थापासँग कुन दिन कुन महिना कुन साल बिग्रेकी रहिछन् ? जस्ताको तस्तै ठह¥याउनु भई जैसिंकी बहिनीको र दलबहादुरको कायलनामा लेखाई सही हाली दुवै कायलनामा लिइकन आउनु होला र म प्रायश्चित गरिबक्सुँला ।

    यदि राजनीतिक रुपमा त्यतिखेर अबला बनेकी र निर्वासित अवस्थाकी उनीमाथि तत्कालिन राजा र बुढा महाराजबाट लगाइएको जघन्य आरोप मिथ्या होइन भने यी पत्रहरुबाट पनि तत्कालिन महारानी राज्यलक्ष्मी तत्कालिन जनरल अर्थात मन्त्रिमण्डलका सदस्य गगनसिंहको अँगालोमा बेरिएकी रहिछन् भन्ने देखिन्छ ।

     

    (यस लेखमा प्रयोग गरिएको तस्बिर सत्ताच्यूत रानी राज्यलक्ष्मी शाहको हो, यो तस्बिर इतिहास शिरोमणि बाबुराम आचार्यको कृति ‘अब कहिल्यै यस्तो नहोस्’ (२०७२ः१४५)बाट लिइएको हो ।)

  • कमेन्ट गर्नुहोस्