• पत्रकारिता : अनुभव र अभ्यास

  •  

    पत्रकारितामा सामान्य तथ्य केलाउनु र द्रोणागिरी पर्वत उठाउनु उस्तै हो भनेर राष्ट्रियस्तरका पत्रकारहरूको हविगतले भर्खरै देखाएको छ। अङ्ग्रेजी भाषाको राष्ट्रिय दैनिक रिपब्लिकाले त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र विभागका प्रमुख डम्बर चेम्जोङको नियुक्ति नियम विपरीत भएको समाचार छाप्यो (रिपब्लिका, बुधबार ५ जून, २०१९) । सम्पादक सुभाष घिमिरेले समाचार तथ्यपरक भएको दाबी गरे। समाचारलाई झुटो साबित गर्न तीन दिन भित्र प्रमाणसहित अफिसमा हाजिर हुन चेम्जोङलाई ललकारे। मानौं उनी स्वयं अदालत हुन्। आफैं फैसला सुनाए। समाचार छापिएको तीन दिनपछि मात्रै विष्णुप्रसाद अर्यालको समाचार र श्रोत दुवै गलत भएको सम्पादकज्यूले बल्ल चाल पाए। गल्ती स्वीकार्दै सम्पादक सुभाष घिमिरेले माफी मागे अनि समाचारको ‘ल्याबटेस्ट’ अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।

    त्यो ‘न्यूज भेरिफिकेसन’को अभावमा मानवशास्त्री डम्बर चेम्जोङले तीन दिनसम्म भोग्नुपरेको मानसिक र भौतिक पीडाको मूल्य कति हो ? सम्पादक घिमिरे र अर्यालले कहिले सोंचेनन्, सोंच्दैनन्। मानवशास्त्री डम्बर चेम्जोङको ‘माङगेना’ पनि गर्ने छैनन्। अरूको प्रतिष्ठामा आँच पुर्‍याउने समाचार लेख्ने र छपाउनेलाई कुनै कारवाही हुँदैन, क्षतिपूर्तिको त कुरै छाडौं। चोरले नै प्रहरीलाई हकारे जस्तो नि !

    पत्रकारिताको गल्तिको शिकार भएकाहरू आजित छन्। उनीहरूको मनोदशा ठ्याक्कै इटहरीका मेयर द्वारिकलाल चौधरीको जस्तो हुने भइहाल्यो। कानूनी उपचार पनि नहुने, माफी मागे कुरो मिलिहाल्ने। त्यसैले मेयर चौधरीले काँक्रा चोरको नाकैमा मुडकी हान्ने दाउ कसे। एउटा रिपोर्टरको हैसियत थाँक्राको काँक्रा चोर जति मात्रै देखे।

    पत्रकारिता स्वतन्त्रतासँग समानता, इमान्दारिता र व्यवसाय जोडिएको छ। एउटै लेखाइ र प्रस्तुतिले संसार हल्लाउन सक्छ। राम्रै पत्रकारहरूको समेत मानमर्दन भएको देखेपछि पत्रकारितामाथि हमला भयो भनेर डाँको छाड्नेको संख्या पनि राम्रै बढेको छ।

    पाँच वर्ष अघि अनुमानकै भरमा दिलशोभा श्रेष्ठ र आमाघरको नाम जोडेर लेखिएको र लेख्ता श्रोत नपुगेको समाचारको स्मरण अझै ताजा छ। सन् २०१४ मे महिनामा दिलशोभालाईयौन दुराचारआरोप शीर्षकमा छापिएको समाचारले तहल्का मच्चायो। तर समाचार पुष्टि भएन। ‘नागरिक’का प्रधान सम्पादक प्रतिक प्रधानले माफी माग्नुपर्‍यो । महानगरीय प्रहरी अपराध महाशाखाले दुई महिना अनुसन्धान गरी तयार पारेको प्रतिवेदनमा ‘यौन दुराचारको आरोप पुष्टि हुन नसकेको’ निष्कर्ष निस्किएपछि प्रधान सम्पादकले क्षमा मागे।

    यस्तो गम्भीर विषयमा ‘हो रे’ कै भरमा ‘नागरिक’ राष्ट्रिय दैनिकले लेखेको ‘यौन दुराचार’को विषयले दिलशोभाको दिल कति दुख्यो होला ? नेपाली पत्रकारिताले कति बुझेको छ कुन्नि ? दिलशोभाहरूको दिल दयालु भएकै कारण नागरिक दैनिकले आममाफी पाएको हो। हेक्का राख्नुपर्छ। पीडितलाई कानूनी रूपमा मानहानिको मुद्दा लगाउने विकल्प छ । ढिलो न्याय पाउनु पनि अन्यायमा पर्नु हो । लफडाभन्दा पनि काम मन पराउने, दयालु दिलशोभाहरूले कानूनको ढिलासुस्ती (अन्याय) लाई कहिल्यै पर्खेनन् । त्यसैले पनि दिलशोभाले कानूनको बाटो रोजिनन् ।

    यी त भए हाम्रो राष्ट्रिय पत्रकारिताको एक–दुई नमूना। स्थानीय पत्रकारिता पनि कहाँ कम छ र ? हाम्रो जमानाको पत्रकारिताको कहानी भन्ने नै छु ।

    धरानबाट अनुजा बाँनियाको कथा संसारले सुन्यो। हामी चुकेकै हो। त्यो कसैलाई हानी नहुने कथा भएर मात्रै हल्का भयो। तत्कालीन राष्ट्रपतिले अनुजालाई बधाई दिने काम हुँदा अलिकति लाज चाँही भएकै हो। हगी ?

    इटहरीको ‘मेयर भर्सेज पत्रकार’ काण्डले फेरि एकपटक देशैभरि पत्रकारिताको विषयमा बहस र छलफल हुन थालेको छ। पत्रकारिता र पत्रकार देशको ऐना हो। तर कस्तो ऐना हो ? ऐना पनि ‘नैना’ अनुसार फरक हुँदो हो। आजभोलि ‘नैना’ राम्रो भएमात्र ऐनाले सुन्दर प्रतिविम्ब दिनसक्छ। ऐना मैलो हुनसक्छ। बेलाबेला पुछ्नुपर्छ। प्रतिबिम्बमा देखिने अनुहारको धुलोमैलो ऐनाको दोष होइन। अनुहार नै सफा गर्नुपर्छ।

    हामी लोकल मिडिया

    ‘लोकल’ हुनु गौरवको विषय हो। स्थानीय मिडियाको वाहवाहीमा स्थानीय तहबाट काम गर्‍यौं। यसको चर्चा–परिचर्चा र संवाद स्थानीय तहमा मात्रै सिमित रह्यो । ‘डिजिटल’ र ‘स्मार्ट’ युगको कल्पना गरिएकै थिएन । आफैंले गरेको होस् वा अरूले। गल्तीले धरै पाठ पढाँउछ। हामीले गरेका गल्तीको चर्चा देश–विदेशमा भएको भए सायद ती गल्ती दोहोर्‍याउने थिएनौं कि ? त्यो बेला न फेसबुक न ट्विटर न अनलाइन। त्यही भएर हाम्रा गल्तीहरू भाइरल भएनन्। जहाँ थियौं त्यही सिमीत रह्यौं। नभए हामी पनि ‘भाइरल’ र ‘ट्रेन्डिङ’ हुने थियौं। पक्का हो। भाइरल हुननसकेको अर्ग्यानीक कथा मेरो जस्तै तपाईंको पनि होला ।

    बँदेलले मान्छे मारेपछि

    आज रेडियो पनि हेर्न मिल्ने भएको छ। ‘मिडिया कन्भर्जेन्स’। ‘एफएम’ र ‘फेसबुक लाइभ’ टेलिभिजनमै ‘मर्ज’ भएका छन्। बीस वर्षअघि एफएम रेडियो पनि हेर्न सकिन्छ भनेर सायदै कसैले कल्पना गरेको होला।

    सत्र वर्ष अघि म सप्तकोशी एफएममा समाचार संयोजक थिएँ। सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्ष केन्द्र सर्वसाधारणका लागि वर्षमा एकपटक खरखडाँई गर्न खुला गरिन्छ। एकदिन अचम्मको समाचार आयो। खर काट्न गएका व्यक्तिलाई बँदेलले मार्‍यो ! मैले पनि चासो दिएँ। कोशी टप्पुको समाचार लेख्ने संवाददातालाई समाचार ‘भेरिफाइ’ गर्न अनुरोध गरें। सोधें,‘परिवार अथवा प्रत्यक्षदर्शीको भनाइ खोइ ?’ कोशी टप्पुको सरकारी कर्मचारीको भनाइ खोइ ?

    समाचारमा धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरले भनेको भन्ने त थियो तर नाम खुलाइएको थिएन। हतार पनि थियो। संवाददातालाई विश्वास गरेर समाचार प्रसारण भयो। साँझ साढे छ बजे बज्ने “सप्तकोशीको सेरोफेरो” हाम्रो प्रमुख बुलेटिन थियो। कार्यक्रममा दिनभरिको समाचार र रिपोर्ट प्रसारण गर्थ्यौं। बँदेलले मान्छे मारेको घटना मुख्य समाचार बन्यो। त्यस दिन त बज्यो। भोलिपल्ट बिहान ‘कायाकैरन’ पछि प्रसारण हुने समाचारमा पनि बज्यो।

    म डेस्कमै थिएँ। धरानबाट फोन आयो। फोन उठाँए। बोल्दा त, बँदेलले मारेको मानिसको फोन रहेछ ! उनले अस्पतालको बेडबाटै सप्तकोशी एफएमको समाचार सुनेछन्।

    उनले भने ‘सर, म त घाइते मात्रै भएको हो। मरेको छैन। गाँउमा मेरो अन्तिम सँस्कारको तयारी हुँदैछ। प्लिज समाचार बन्द गरिदिनुस्।’

    कुरा संवेदनशील थियो। हामीले क्षमासहित समाचार सच्यायौं। त्यसपछि ती संवाददातालाई त्यही समाचारका कारण कामबाट विदा गरियो। भोलिपल्ट तीनोटा राष्ट्रिय दैनिकमा बँदेलले मान्छे मारेको समाचार उस्तै शीर्षकमा छापियो। संवाददाताको नाम फरक तर शब्द र शीर्षक भने एउटै ! पत्रिकाबाट समाचारको खण्डन र प्रतिक्रिया कहिल्यै आएन। समाचार छाप्ने पत्रिकाले घाइते मात्रै भएको गाँउलेलाई मारेरै छाडे। भएको गल्तीमा पत्रकारले क्षमा पनि मागेनन्। त्यो बेला पत्रकारितामा मानव संवेदनशीलता नै देखिएन। म यो घटना कहिल्यै भुल्दिनँ। यसले मलाई गल्ती सच्याउने तत्परता र त्यसको महत्वको पाठ पढाएको छ। गैरजिम्मेवार भए जागिर जान्छ– यो पनि बुझें।

    त्यो हार्ड डिस्कको आवाज

    वि. सं. २०५५ सालमा धरानबाट साप्ताहिक न्यूज टाइम्स छाप्ने तयारीमा थियौं। त्यतिबेला एक हप्तादेखि न्यूजटाइम्स छाप्ने तयारी भइरहेको थियो। सबै सामग्री तयार थियो। ‘डिजाइन’ पनि भइसकेको थियो। ‘फ्लप्पी’मा बोकेको ‘ट्रेसिङ पेपर’ निकाल्न बाँकी थियो।

    गज्जबको कुरा ! कप्यूटर थियो ‘प्रिन्टर’ थिएन। पत्रिका बिहिबार निकाल्नुपर्थ्यो। तर बिहिबारको रात बित्दा पनि पत्रिका तयार भएन। हामी रन्थनिएका थियौं। राजकुमार दिक्पाल, देवराज राई, प्रदिप सेमी, डम्बरकृष्ण श्रेष्ठ, मुम्चे साँईला, जनकऋषी राई, राजेन्द्र रिमाल – न्यूज टाइम्सका सेना थिए। तर हाम्रो काम सकिएन।

    ‘पेन्टियम २’ कम्प्युटर र ‘फ्लप्पी’को जमानामा दिन–रात एक गरेर बल्लतल्ल ‘प्रिन्टर’ भेट्यौं। त्यो पनि धरानमा एउटै प्रिन्टर। भर्खरै नयाँ आएको। तरहरा बस्ने मनकुमार राई धरानमा कम्प्यूटर सिकाउने ‘इन्स्टिट्युट’ चलाँउथे। हामी ती राईकै शरणमा पुग्यौं। शुक्रबारको दिन थियो। चारोटा शक्तिशाली ‘फ्लप्पी’मा ‘म्याटर’ हालेर भानुचोकको पुरानो छाप्री अलिमास्तिर उनको कार्यालय पुग्यौं। प्रदीप, डम्बर र देवराज पनि सँगै थिए। पङ्खाको हावाले भेटेपछि दुई रातको अनिदों प्रदीप उङदै थिए। हामीले फ्लप्पी दियौं। प्रिन्ट गर्न निक्कै ढिला भइसकेको थियो। खगेन्द्र श्रेष्ठ दाइ छापाखानामा कहिले छाप्ने भनेर हतारो गर्दै थिए।

    अकस्मात प्रदीप ब्युँझिए। अनि कम्प्यूटर मास्टरलाई हेर्दै सोधे,“काम हुँदैछ ?” ती मास्टर पनि के कम। प्रदीपलाई समाएर ‘हार्ड्डिस्क’नेर पुर्‍याउँदै जवाफ फर्काए,‘कम्प्यूटरको हार्ड्डिस्क क्यार्रर्र कराईरहेको छ। सुन्नु नि। काम हुँदैछ।’

    प्रदीपले पनि एक छिनसम्म कान टाँसेरै सुने। अनि बोले,‘ए। काम भइरहेको रहेछ।’ त्यो बेला ट्रेसिङ पेपर प्रिन्ट गर्न झन्डै तीन घन्टा लागेको थियो। अहिले पनि हार्डडिक्स कराँउदा त्यो मान्छेको आदेश र प्रदीपको कानै टाँसेर सुन्ने सरलता सम्झन्छु। आहा पत्रकारिता, आहा रहर !

    तारा सुब्बाको त्यो अन्तर्वार्ता

    न्यूज टाइम्सबाट अलग्गिएको झण्डै १६ महिनापछि ‘धरान टुडे’ दैनिकको सहायक सम्पादक भएँ । समाचार लेख्नु, सम्पादन गर्नु मेरो काम थियो। तारा सुब्बा नेकपा एमालेको धरान नगर कमिटी अध्यक्ष थिए । धरान टुडेका प्रधान सम्पादक थिए खगेन्द्र श्रेष्ठ । फोटोसहित तारा सुब्बाको अन्तर्वार्ता छाप्नुपर्ने भयो। अन्तर्वार्ता आयो। तर फोटो आएको थिएन।

    त्यो बेला कोडाक र कोनिकाको ३६ रिलवाला क्यामेरा निकै चल्तीमा थियो । तर खिचेको फोटो छापेर हात पर्न तीन दिन लाग्थ्यो ! तारा सुब्बाले ‘पासफोटो’ धरान टुडेका व्यवस्थापन सम्पादक डम्बर गुरूङलाई दिएछन्। राति डिजाइन सकियो। फोटो राख्ने ठाउँ खाली राखिएको थियो। जानकारीका लागि पत्रकार, डिजाइनर र टाइपराइटरलाई लेखेको थिएँ– ‘फोटो डम्बरसँग छ।’ मैले डिजाइनर र टाइपराइटरलाई डम्बरले फोटो ल्याएर दिन्छ भनेको पनि थिएँ।

    तर ट्रेसिङ पेपर निकाल्ने समयसम्म पनि डम्बर आइनपुगेकोले उनको फोटो पछि ‘पेस्ट’ गर्ने सहमतिमा ‘फाइनल ट्रेसिङ पेपर’ निकालेछन्। फोटोको ठाँउमा बक्स बनाएर लेखेछन् ‘फोटो डम्बरसँग छ’।

    तर त्यो दिन डम्बर कार्यालय नै आएनन्। छापाका कर्मचारीले त्यतिकै छापेछन्। पत्रिका राति नै बजार पुग्यो। भोलिपल्ट पत्रकार र पत्रकारिताको माहौल गज्जबको भयो।

    तारा सुब्बाको फोटो बेगर छापिएको अन्तर्वार्ता पढ्नेले डम्बरलाई ‘तारा सुब्बाको फोटो हेरौं त’ भनेर उडाउन थालेछन्। अन्तर्वार्तामा फोटो बोक्ने मान्छेको पनि नाम पढ्न पाईयो भनेर निक्कै लामो समयसम्म ‘बिल्ला’ भयो। अहिले पनि तारा सुब्बाको फोटोबारे डम्बर गुरुङलाई सोध्यो भने उखरमाउलो रिसाँउछन्। अनि मरिमरि हाँस्छन्।

    सेक्सी पत्रिका

    आनन्द श्रेष्ठ धरानबाट निस्कने “मर्निङ टाइम्स दैनिक”का सम्पादक थिए। चारकोशे झाडीमा हावाहुरीले रूख ढालेको र त्यसले किचेर एकजनाको ज्यान गएको समाचार आएको थियो। शीर्षक थियो – “रूखले किचेर एकको मृत्यु।” तर छापिँदा कुरा बिग्रिएछ।

    ‘क’को ठाँउमा ‘च’ र ‘च’को ठाँउमा ‘क’ भएछ। परेन फसाद्! अनि त्यो दिन आनन्द दाइको फुस्रो अनुहार झलझली सम्झन्छु। पत्रिकाको ‘प्रुफरिडर’लाई सम्झन्छु। पेट मिचिमिचि हाँस्छु। त्यो दिनदेखि धराने पाठकले त्यो पत्रिकाको न्वारन गरिदिए – सेक्सी पत्रिका।

    पत्रकारिताको गज्जबको पल

    म ‘हाम्रो आवाज’ नामक साप्ताहिक रेडियो पत्रिकाको कार्यक्रम उत्पादक थिएँ। सुनसरी, मोरङ्ग र सप्तरीतिर भएका बालबालिका सम्बन्धी गतिविधि, अन्तर्वार्ता, समाचार, र रिपोर्ट आधा घण्टाको कार्यक्रममा बज्थ्यो। यसलाई धरानको गैरसरकारी संस्था उप्का नेपालले संयोजन गरेको थियो । शकुन्तला सुब्बा उप्का नेपालकी अध्यक्ष थिइन् । नरप्रसाद लिम्बू निर्देशक थिए । सितासन्ध्या राई एफएमको कार्यक्रम संयोजक थिइन् । त्यो रेडियो कार्यक्रमले रेडियो श्रोता क्लब पनि गठन गरेको थियो ।

    कार्यक्रम गज्जबको थियो। मैले दुई वर्षसम्म कार्यक्रम उत्पादन गरें। विराटनगरमा कार्यरत एक बैंकरले बालिका बलात्कार गरेको खबर पाएँ। पीडित बालिका दुई वर्षदेखि ती बैंकरको घरमा घरेलु कामदार थिइन्। पहुँचकै बलमा घटना गुपचुप राखिएको थियो। मिथ्या आरोप भनेर पत्रकारले चासो पनि देखाएनन्।

    म विराटनगर गएँ। ती बालिकालाई भेटें। उनको आवाज रेर्कड गरें। आठ वर्षकी बालिकाको बयान भने वयस्कको ‘पोर्न फिल्म’ जस्तो थियो। उनलाई ती बैंकरले दुई वर्षदेखि यौनदासी बनाएको थाहा पाएँ। मान्छे कति नजाति हुन्छ भन्ने त्यही दिन मैले अनुभव गरें।

    उनको अन्तर्वार्ता रेर्कड गर्दा म ‘नर्वस’ थिएँ। उनको सत्य निर्मल बोलीले मलाई धरै पछिसम्म विरामीजस्तै बनाएको थियो। बालिकाको उद्धार गर्ने संस्था, छिमेकी र वकिलको आवाज समेटेर १३ मिनेटको रिपोर्ट तयार गरेँ। उनको आवाज यति बलियो थियो कि त्यो रिपोर्ट प्रसारण भएको भोलिपल्टै ती बैंकर गिरफ्तार भए। मोरङका सयभन्दा धेरै सामाजिक संस्थाले ऐक्यबद्धता जनाए। ती बालिकालाई न्याय दिलाउन सबै लागि परे। पीडक गिरफ्तार भएको ६ महिनामा अदालतले बालिकाको पक्षमा फैसला सुनायो। पीडकलाई जेलसजाय भयो। न्याय सम्बन्धी आन्दोलनको एउटा पाटो र आवाजविहीनको आवाज हुन पाउँदा मलाई निक्कै गर्व लागेको थियो।

    स्थानीय स्तरमा बजेको त्यो रिर्पोटले राष्ट्रिय स्तरसम्म पुग्ने मौका पायो। त्यो बेला एफएमहरूको सामूहिक सञ्जाल थियो। देशभरका रेडियोले उत्पादन गरेका प्रभावकारी रेडियो रिर्पोट आलोपालो गरि बज्ने भएकोले सञ्जालको नाम नै आलोपालो थियो। मेरो रिपोर्ट देशभर प्रसारण भएको कार्यक्रम संयोजक विनय गुरागाईंले बताए। हामीले न्याय, समानता र अधिकारका लागि बेआवाजहरूको आवाज बन्नुपर्छ भनेर पढेको पुष्टि हुँदा म अहिले पनि रोमाञ्चित हुन्छु।

    मैले गर्न नसकेको उच्चारण ‘पर्वतारोहण’

    गोपाल गुँरागाईं – मेरो रेडियो गुरू हुन्। सप्तकोशी एफएम स्थापना गरेदेखि नै उनले मलाई हरेक काम सिकाए। कम्युनिकेसन कर्नरको रेडियो कार्यक्रममा सामेल हुने रहर भएकोले कानदेवताथान अगाडिको कार्यालयमा पुग्थेँ। काठमाडौंमा उज्यालो एफएम खोल्ने भएपछि म पनि गोपाल सरलाई भेट्न गएँ। रेडियोमा काम गर्ने मेरो उत्साहलाई देखेर भोलिदेखि नै आउन भने।

    उज्यालो नखोलिदैं मैले कायाकैरन टिमसँग काम गर्न पाएँ। उज्यालो एफएम खोलियो। मैले पनि स्टार समाचारवाचक सोहम सुवेदी र मिलन तिम्सिनासँग समाचार भन्ने मौका पाँए। मैले रेडियोमा समाचार कहिल्यै भनेको थिइनँ। मप्रति गोपाल सरको विश्वास बढी भएकोले काम सुरू गरेको भोलिपल्ट नै कायाकैरनमा जाने आदेश भयो।

    सोहम सुवेदीसँग एक साता राम्रै बित्यो। एक दिन अखबारको समाचार मेरो भागमा पर्‍यो। पर्वतारोहण सम्बन्धी समाचार थियो। मैले त्यो शब्द उच्चारण नै गर्न सकिनँ। हिमाल आरोहण भनेर भनेको भए सक्थें होला। तर सकिनँ। त्यो बेला स्टुडियोमा सोहमजीले सम्हाले। म भने झन् डराएर एकोहोरो भइसकेको थिएँ। त्यो समाचार सुनेर साथी दिपेन्द्र खनियाँले पोखराबाट फोन गरेका थिए।

    ‘पर्वतारोहण भन्नुस् त ।’

    त्यो बेला पनि मैले पर्वतारोहण उच्चारण गर्न सकिनँ। देशभरिका एफएममा एकै पटक बज्ने त्यो कायाकैरनमा राम्ररी बोल्न नसकेकोले निक्कै खल्लो लागेको थियो। त्यसपछि कायाकैरनमा नजाने निर्णय गरें। गइनँ पनि। समाचारलाई न्याय गर्न सक्दिनँ भन्ने लाग्यो। त्यसको सट्टा काठमाडौंको ट्राफिक सम्बन्धी कार्यक्रम ‘सडक र सवारी’ सुरू गरें। निक्कै कष्टकर थियो तर कष्ट खेर गएन। सम्भवतः त्यो कार्यक्रम अहिले पनि चलिरहेको हुनुपर्छ ।

    यी त भए पत्रकारिताको मेरो यात्रामा घटेका घटनाहरु। साँच्चै विश्लेषण गर्दा पत्रकारिताले मानिसमा नयाँ आशाको कल्पना गर्न सिकाउँछ। अग्रगामी विचारलाई बढावा दिन्छ। यसमा निहित स्वार्थ हुँदैन। तर अहिलेको पत्रकारितामा निहित स्वार्थहरूको अभाव छैन। जगजगी छ। त्यसैले नेपाली पत्रकारिता अहिले विवादको भट्टीमा दन्किरहेको छ।

    अन्त्यमा

    रहरै रहरमा सुरू भएको पत्रकारिता मैले अहिलेसम्म पनि बुझ्नसकेको छैन। ‘मास कम्युनिकेसन जर्नालिजम’मा मास्टर्स गरेँ। अहिले पनि अभ्यास जारी छ। सबैभन्दा पहिले पत्रकार हुनु भनेको सामान्य मानिस हुनु हो भनेर सोच्यो भने कहिल्यै विवाद आँउदैन। पहिले पत्रकारलाई ‘ज्याक अफ अल मास्टर अफ नन’ भनिन्थ्यो। अहिले पत्रकारिता ‘ज्याक अफ अल मास्टर अफ वन’ हो। यसैलाई मनन गरे पनि धेरै काम लाग्छ।

    नढाँटी भन्दा, म कानूनमा स्नातक गर्दै थिएँ। तर वकिल बन्ने हिम्मत नभएकाले पत्रकार बनें। वकिल बन्दा चोर र बलात्कारीको पक्षमा पनि वकालत गर्नुपर्छ भन्ने व्यावसायिक धर्म भएकोले मरो अन्तरमनले मानेन। मेरा लागि त्यो अधर्म थियो। पढाइ सक्यो तर मनबाट वकिल बन्न सकिनँ।

    अचेल पत्रकारलाई राजनीतिज्ञ, जनप्रतिनिधि, वकिल, पुलिस, पार्टीको अध्यक्ष धेरै देख्छु। पत्रकार कम देख्छु। कहिलेकाँही लाग्छ हामीले पीडितको आवाज उठाँउदा ‘एक्टिभिस्ट’भन्दा बढी भयौं कि ? एक्टिभिस्ट र पत्रकारबीच भेद छुट्याउनु पनि अझ स्पष्ट हुनु हो।

    ‘एउटा आँखाको डक्टरले हाम्रो आँखाको जिम्मा लिन मेहनत गरेर सयौं किताब पढ्छ। अनि मात्र हाम्रो आँखाको जिम्मा लिन्छ। के पत्रकारले सात दिने प्रशिक्षण लिएर समाजको जिम्मा लिन सक्छ ?’

    हिटलर चित्रकार थिए। उनले चित्रकारिता गरेको भए लाखौं यहुदीको नरसंहार हुँदैन थियो। यहाँ के रमाईलो र बाध्यता छ ? एकपटक मैले भनेको थिएँ, ‘पत्रकार हुन अनिवार्य पढ्नैपर्छं।’ वकालत र वकिलको लाइसेन्स लिएजस्तै सिन्डिकेट बनाएर बढ्नुपर्छ। तर म गलत रहेछु ।

    यसै पनि पत्रकारिताको संसारमा जति विविधता छ त्यो विविधता हामीले महशुस गरि नै रहेका छौं। अहिले समाज, देशको भौतिक उपस्थिति भन्दा फराकिलो इन्टरनेटको दुनियाँ थपिएको छ । पत्रकारिताको नयाँ अभ्यास ग्लोबल अभ्यास पनि हो सायद । ‘एक्ट लोकल थिङक ग्लोबल’को नयाँ आयामले हामीलाई साधन दिए पनि साधना आफैंले गर्नुपर्ने हुन्छ। हामीमा उत्साहको प्रचुरता भए पनि अभ्यासको कमीले नै बारम्बार पत्रकारितामा गल्ती दोहोरिन्छ। गल्ती गर्नु अध्ययनको अर्को अभ्यास थपिनु पनि हो तर बारम्बार एउटै गल्ती पत्रकारितामा दोहोरिनु अब अपराध हो। जानी-जानी गल्ती हुँदै, जानी-जानी ज्यादती, अहंकार अपराध हुन्छ । आशा गरौं पत्रकारिताको यो जानी-जानी गल्ती धेरै देख्न नपरोस् ।

    हाल, ज्याक्सन हाइट, अमेरिका।

  • कमेन्ट गर्नुहोस्