• आप्रवासी कामदारको अन्तर्राष्ट्रिय सम्मेलन हुने

  • राष्ट्रिय मानव अधिकार आयोगले ‘आप्रवासी कामदारको मानव अधिकार संरक्षण विषयक अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गर्ने भएको छ ।

    आयोगले आज पत्रकार सम्मेलन गरी आप्रवासी कामदार स्वच्छ र जवाफदेही भर्ना प्रक्रिया, कामदारको सुरक्षा, परिवारको अधिकार तथा न्यायमा पहुँचजस्ता विषय सम्बोधन गर्न कात्तिक २६ देखि २८ गतेसम्म काठमाडौंमा सो सम्मेलन गर्न लागेको जानकारी दिएको छ ।

    आयोगका अध्यक्ष अनुपराज शर्माले आप्रवासी कामदारको अधिकार संरक्षण र विषय अहिले संसारकै चासो र महत्वको बनेको हुनाले नेपाल तथा दक्षिण एशियाबाट खाडी मुलुकलगायतमा काम गर्ने लाखौं कामदारको मानव अधिकारको विषयलाई लिएर सम्मेलन गर्न लागेको जानकारी दिए । आप्रवासी कामदारको अधिकार संरक्षणमा खासगरी एशिया प्रशान्त क्षेत्रका उत्पत्ति मुलुक र गन्तव्य मुलुकमा देखिएका चुनौती, स्वच्छ र जिम्मेवारी भर्ना प्रक्रिया, अनियमित आप्रवासनलाई सम्बोधनको साझा सवाल, न्यायमा पहुँचको सुनिश्चिताका सम्भावना तथा प्रयास, सहकार्य र सूचना अदानप्रदानजस्ता विषयमा सम्मेलन केन्द्रित हुनेछ ।

    सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञबाट कार्यपत्र प्रस्तुत गरिनेछ । सम्मेलनमा ३० देशका २४ मानव अधिकार आयोगका अध्यक्ष तथा सदस्य, अन्तर्राष्ट्रिय विज्ञ, सरकारका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिका साथै आप्रवासी कामदारको मानव अधिकार संरक्षण कार्यरत अन्तर्राष्ट्रिय संस्था सहभागी हुनेछन् । सम्मेलनमा अन्तर्राष्ट्रियस्तरबाट ९० विज्ञ सहभागी हुने अपेक्षा गरिएको छ । नेपालबाट ३५ विज्ञले भाग लिनेछन् । आयोगले सम्मेलनको तयारीका लागि आयोगका सदस्य सुदीप पाठकको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

  • कमेन्ट गर्नुहोस्