• हङकङमा अतिवादीले हिंसा प्रयोग गरेको चिनियाँ सञ्चार माध्यमको आरोप

  • हङकङको विकासमा अवरोध गर्न “अतिवादी”ले “अराजकता” र हिंसा प्रयोग गरेको चीनको प्रमुख सरकारी समाचार संस्थाहरूले आरोप लगाएका छन्। हाल स्थगित सुपुर्दगी विधेयकको विरोधमा आइतबार अपराह्न आयोजना गर्ने भनिएको र्‍यालीअघि शनिबार ढिलोगरी प्रकाशित टिप्पणीमा त्यस्तो आरोप लगाइएको हो।

    कम्युनिस्ट पार्टीको मुखपत्र पिपल्स डेली र सरकारी समाचार संस्था सिन्ह्वामा प्रकाशित ती टिप्पणीमा प्रदर्शनकारीले हिंसाबाट टाढा रहनुपर्नेमा जोड दिइएको छ। टिप्पणीमा बेइजिङ र प्रहरीको समर्थनमा हङकङमा निस्किएको र्‍याली पनि उल्लेख गरिएको छ। आयोजकले शनिबारको र्‍यालीमा तीन लाखभन्दा धेरै सहभागी भएको जनाएका छन्। प्रहरीले सहभागीको संख्या एक लाख हाराहारी भएको अनुमान गरेको छ। बेइजिङको समर्थनमा निकालिएको उक्त र्‍यालीलाई आयोजकले “सेफगार्ड हङकङ” बताएका छन्। विरोध प्रदर्शन भइरहेको साताहरूमा केही प्रदर्शनकारीले प्रहरी विरूद्ध गरेको हिंसालाई उनीहरूले भर्त्सना गरेका छन्।

    “खराब नियत भएका केही व्यक्ति र बाह्य शक्तिले हिंसाको भर्त्सना कहिले गर्दैनन्। उल्टै हिंसात्मक कार्यको प्रतिरक्षा गर्छन्। उनीहरूकै आक्रोश र उद्घोषमा अतिवादीको हिंसा अझ बढेको छ,” सिन्ह्वाले बताएको छ।

    “उनीहरूको पछि लाग्ने भीड र मानिसलाई नागरिकको शान्तिपूर्ण जीवनको कुनै मोल छैन। शहरको भावी विकासमा अवरोध पुर्‍याउँछन्। उनीहरू विशेष प्रशासनिक क्षेत्र सरकारलाई कमजोर बनाउन चाहन्छन्। एक देश दुई प्रणालीलाई कमजोर बनाउन चाहन्छन्। उनीहरू विशेष प्रशासनिक क्षेत्रको नियन्त्रण लिन चाहन्छन् र समग्र चीनको विकास रोक्न हङकङमा अराजकता प्रयोग गर्न चाहन्छन्।”

    त्यसैगरी पिपल्स डेलीले पनि हाल भइरहेका हिंसात्मक कार्यका लागि “अतिवादी”लाई दोष दिएको छ। हङकङको व्यस्थापिका परिषद् भवनमा प्रदर्शनकारीले पुर्‍याएको क्षतिलाई विशेष उद्धृत गर्दै डेलीले एउटा टिप्पणी छापेको छ।

    “हङकङले हिंसालाई कडाईका साथ अस्वीकार नगरे” अर्थतन्त्रमा हानि पुग्ने चेतावनी दिदै लाम प्रशासन र हङकङ प्रहरीलाई केन्द्र सरकारको समर्थन रहेको डेलीले दोहोर्‍याएको छ।

    सिन्ह्वाको टिप्पणीमा हङकङमा भएको हिंसामा “बाह्य शक्ति”को प्रभाव उल्लेख गरिएको छ भने पिपल्स डेलीले त्यस्तो केही उल्लेख गरेको छैन। बेइजिङले प्रदर्शनकारीको समर्थनमा बोल्ने विदेशी सरकारको आलोचना गरेको छ। हङकङमा भइरहेको प्रहरी हिंसाको निन्दा र “हङकङको आन्तरिक मामिलमा चीनको निरन्तर र बढ्दो प्रभाव” भर्त्सना गर्ने एउटा प्रस्ताव युरोपेली संघले बिहीबार पारित गरेको छ।

    अमेरिका र जर्मनी लगायत विदेशी सरकारलाई शहरको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चीनले माग गरेको छ। उनीहरूले हङकङमा राजनीतिक अभिव्यक्ति र अभिव्यक्तिको स्वतन्त्रताको खस्कदों अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गर्दै वक्तव्य जारी गरेका थिए।

    जूलाई १ मा लाखौं हङकङेलीले कार्यकारी प्रमुख क्यारी लाम चेङ युएत‑ङोरको राजीनामा माग्दै शान्तिपूर्ण जुलुस गरेका थिए। त्यही समय केही प्रदर्शनकारी व्यवस्थापिका परिषद् भवनमा जबरजस्ती प्रवेश गरेका थिए। हङकङका अस्पतालले दर्जनौं मानिस घाइते भएको जनाएका छन्। प्रहरीले पनि थुप्रै अधिकारीलाई चोटपटक लागेको बतायो।

    अघिल्लो आइतबार न्यु टेरिटोरिजमा भएको विशाल र्‍यालीपछि एउटा शपिङ सेन्टरमा हिंसात्मक घटना भयो।

  • कमेन्ट गर्नुहोस्